बझाङमा अतिक्रमित जमिन खाली गर्न गएका वनका कर्मचारी माथी गाउँलेले अभद्र व्यवहार गर्दै फर्काएका छन् । छविस पाथिभेरा गाउँपालिका–७ गिरीखेल्लामा जमिन अतिक्रमण भएको उजुरी पछि नापी गर्न सदरमुकाम चैनपुरबाट गएका तीन जना वन रक्षक र एक जना नापी कार्यालयका कर्मचारीलाई गाउँलेले मदिरा खाएर नापी कार्यमा अवरोध गरेका हुन् ।
‘अतिक्रमित भनिएको जमिन नाप्न खोज्दा सुरुमा गाउँमा कोही थिएन’ अतिक्रमित भएको स्थान गिरीखेल्ला पुगेका वन रक्षक जंगबहादुर विष्टले भने–‘हामीले नापीको काम सुरु गरेपछि एकैपटक ८०–९० जनाको हुल आयो, रक्सी खाएर आएका उनीहरुले नानाथरी बोल्न थालेपछि नापीको काम छोडेका हौं ।’ रक्सीको मातमा रहेका स्थानीयले नापीमा अवरोध गर्दै गाली गरेको उनले बताए । स्थानीयको उजुरी पछि शनिबार हामी अतिक्रमित भनिएको क्षेत्र (गिरीखेल्ला) गएका थियौं’ विष्टले भने–‘स्थानीयले जाँड आएर अवरोध सिर्जना गरेपछि काम गर्न सकेनौं ।’ उनका अनुसार छविस पाथीभेरा गाउँपालिका–५ गिरीखेल्लाकै स्थानीय शिक्षक गणेश सिंहले असार पहिलो साता वनको जमिन अतिक्रमणमा परेको भन्दै डिभिजन वन कार्यालय बझाङमा उजुरी दिएका थिए । सिंहको उजुरीका आधारमा शनिबार नापीका कर्मचारी र तीन जना वन रक्षक गिरिखेल्ला पुगेका थिए ।
‘अतिक्रमण भएको भनिएको स्थानमा जानु अघि हामीले वडा अध्यक्षलाई जानकारी गराएका थियौं’ वन रक्षक विष्टले भने–‘तर वडा अध्यक्ष गाउँमा थिएनन्, एक जना वडा सदस्यलाई साथमा लिएर हामी काममा लागेका हौं ।’ गाउँलेले अवरोध सिर्जना गरेको केही समयमै वडा अध्यक्ष लोकेन्द्र बहादुर ठगुन्ना पुगेका र वडा अध्यक्षले नै गाउँलेलाई सान्त बनाएको उनले बताए । छविस पाथीभेरा गाउँपालिका–५ का वडाध्यक्ष लोकेन्द्र बहादुर ठगुन्नाले गाउँलेले अवरोध नगरेको दावी गरे । उनले वनका कर्मचारीमाथि गाउँलेले कुनै दुव्र्यवहार तथा गाली गलौच नगरेको बताए । तर गाउँलेले मदिरा सेवन गरेको कुरा भने उनले स्वीकारेका छन् ।
‘गाउँमा अतिक्रमित जमिन नाप्न आएका कर्मचारीलाई हेर्न आएका मध्य केही गाउँलले मदिरा सेवन गरेका थिए’ वडा अध्यक्ष ठगुन्नाले भने–‘तर कर्मचारी माथी कसैले दुव्र्यवहार तथा गालि गलौच गरेका छैनन, मैले सवैलाई घर पठाएको हुँ ।’ उनले वडाका विभिन्न क्षेत्रमा सार्वजनिक जमिन अतिक्रमित भएको स्वीकार्दै भने–‘वडाका धेरै स्थानमा जमिन अतिक्रमण भएको छ, हामी सवै अतिक्रमित जमिन फिर्ता ल्याउने गरी नीति निर्माण गर्दैछौं, एउटा गाउँलाई मात्रै लक्षित गर्दा पक्षपात हुन सक्छ भन्ने हाम्रो भनाई हो ।’ वडामा रहेको सार्वजनिक जमिन अतिक्रमण हटाउन गाउँपालिकाले नीति ल्याउने तयारी गरेको वडाध्यक्ष ठगुन्नाले बताए ।
स्थानीयका अनुसार छविस पाथिभेरा गाउँपालिका–५ गिरिखेल्लाको पातल लेकमा स्थानीयले सामुदायिक वनको जमिन अतिक्रमण गरी ५–७ घर निर्माण गरेका छन् । जमिन अतिक्रमण गरेका स्थानीयले केही जग्गा अर्को व्यक्तीलाई बिक्री समेत गरिसकेका छन् ।