नेपाल–भारत सीमावर्ती महाकाली नदीले गर्ने कटानका कारण डडेल्धुराको भित्रिमधेस क्षेत्रका दर्जनौ बस्तीहरू उच्च जोखिममा रहेका छन् । महाकाली नदीका साथै अन्य स्थानीय नदी र चुरे क्षेत्रबाट निस्कने खहरे खोलाहरूको कटानका कारण भित्री मधेस क्षेत्रका बस्तीहरू वर्षायाममा बर्सेनि विपद्को उच्च जोखिममा रहने गरेका छन् ।
महाकाली नदीको किनारामा रहेको प्रसिद्ध परशुराम धाम बर्सेनि आउने बाढीका कारण सङ्कटमा पर्दै गएको छ । महाकालीसहित रंगुन नदी, सादनी खोला, पन्तुरागाँड र शीर्ष गाँडसहित चुरे क्षेत्रबाट बग्ने तीन दर्जन बढी खहरे खोलाका कारण भित्री मधेसका अधिकांश बस्तीहरू बाढीको उच्च जोखिममा रहेको ईलाका प्रशासन कार्यालय, जोगबुडाका प्रमुख धनबहादुर खड्काले बताए ।
सो क्षेत्रका विभिन्न बस्तीहरूलाई जोगाउन तटबन्ध निर्माणको काम भइरहे पनि महाकाली नदी किनारका गाउँमा भने तटबन्ध निर्माणका साथै अन्य पूर्वतयारीका क्रियाकलापहरू सञ्चालन नगरिँदा कुनै पनि समय डुबानमा पर्न सक्ने सन्त्रास रहेको परशुराम नगरपालिका – ६ का वडाअध्यक्ष खगेन्द्रबहादुर सिंहले बताए ।
महाकाली नदीको तटीय क्षेत्रमा रहेका परशुराम नगरपालिका –३ को अशुरानी, ५ को परिगाँउसहित ६ का पटरेनी, ठण्डाजाला, सरगौडा, सिमलखेत, कुडा, छेला, तातापानी, बण्ड, सिसझाला, भौरकुण्डा, खालीगडा र कराली गाउँहरू नदी कटानको उच्च जोखिममा रहेको वडाअध्यक्ष सिंहले बताए ।
अविरल वर्षाका कारण बिहीबारदेखि महाकाली नदीमा पानीको सतह बढदै गएकाले परशुराम नगरपालिकाका एक दर्जन बढी बस्तीहरू बाढीको उच्च जोखिममा रहेको परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदले बताए । उनले महाकाली नदीबाहेक पनि अन्य खोलानालाका तटीय क्षेत्रमा रहेका झण्डै तीन दर्जन बस्तीहरूमा बर्सेनि बाढीले क्षति पुगाउने गरेको बताए ।
वर्षातका बेला नदी कटानका कारण परशुराम नगरपालिका– ६ का बस्तीहरू बर्सेनि मानवविहीन बन्न थालेका छन् । अधिकांश बस्तीसँगै महाकाली नदीको तटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल परशुरामधामकै अस्तित्व सङ्कटमा पर्न थालेको परशुरामधाम क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर चन्दले बताए ।
भारतले महाकाली नदीमा एकतर्फी तटबन्ध निर्माण गरेकाले नदीको बहाव नेपालतर्फ फर्कंदा कुनै पनि समय महाकाली नदी सीमा क्षेत्रका बस्तीहरूमा पस्न सक्ने प्रहरी चौकी, तातापानीका इन्चार्ज प्रहरी नायब निरीक्षक रामदत्त भट्टले बताए । उनले भने ‘सीमा क्षेत्रका बासिन्दा सदैव त्रासमा बाँंच्नुपर्ने अवस्था छ ।’
एक दशकयता महाकाली किनारका केही भूभागमा सयौँ हेक्टर उब्जाउ जमिन महाकालीले कटान गरिसकेको परशुराम नगरपालिका– ६, करालीका भूपेन्द्रसिंह धामीले बताए । एक दशकयता मात्रै महाकाली नदीछेउका आधा दर्जन बस्तीमा १० हजार हेक्टर बढी उब्जाउ जमिन बगर बनिसकेको धामीले जानकारी दिए । महाकाली नदीका कारण तटीय सीमा क्षेत्रका गाउँ मात्र नभई भित्री मधेस क्षेत्रका अन्य बस्तीहरू पनि उच्च जोखिममा छन् ।