अध्ययन सुरु भएको २५ बर्षपछि विस्तृत परियोजना प्रतिवेदन डिपिआर बनेसंगै अछामको बुढीगंगा जलविद्युत आयोजना निर्माणका लागि बाटो खुलेको छ । गत आर्थिक बर्षको अन्त्यमा डिपिआर स्वीकृत भएपछि आयोजना निर्माणका लागि बाटो खुलेको हो । सरकार आफैले निर्माण गर्ने २० मेगावाट क्षमताको बुढिगंगा जलविद्युत आयोजनाको निर्माणका लागि २०५२ सालदेखि नै अध्ययन सुरु भएको थियो तर विस्तृत परियोजना प्रतिवेदन बनाउन निकै ढिलाई भएको थियो ।
अष्ट्रेलियन कम्पनी स्मेक र नेपालको उदय कन्सल्टेन्सीले बुढीगंगाको डिपिआर बनाएकोमा सरकारले स्वीकृत गरेसंगै बुढीगंगा जलविद्युत आयोजना निर्माणको प्रक्रिया अगाडी बढाउने तयारी भईरहेको बुढीगंगा जलविद्युत आयोजनाकी प्रवक्ता ईन्जिनियर पुनम पाण्डेयले बताईन् । ‘डिपिआर स्वीकृत भएसंगै ठेक्काका लागि कागजात तयार पारिरहेका छौ ।’ उनले भनिन्, ‘एक डेढ महिनाभित्रै कागजात तयार पारेर ठेक्काको प्रक्रिया अगाडी बढाउने योजना छ ।’
जलविद्युत आयोजनाको डिपिआर ढिलो गरी तयार भएपनि आयोजना स्थलसम्म पुग्ने ७ सय ६७ मिटर सडक र पुल निर्माणको कार्य भने सम्पन्न भएको उनले बताईन् । उनका अनुसार कार्यालय भवनको निर्माण यसअघि नै सकिएको थियो । बुढिगंगा जलविद्युत आयोजनामा साउदी विकास कोषले ३ अर्ब २० करोड र कुवेत विकास कोषले एक अर्ब ८० करोड ऋण लगानी गर्ने र बाँकी अपुग रकम नेपाल सरकारले लगानी गर्ने योजना रहेको छ ।
अध्ययन सुरु भएको २५ वर्षमा डिपिआर तयार भएकोमा जलविद्युत आयोजनाको निर्माण २०८० भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बुढीगंगा जलविद्युत आयोजनाबाट उत्पादित विद्युत सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा खपत हुने र बाँकी विद्युत कैलालीको पहलमानपुर सम्म पुगाएर केन्द्रिय प्रशारण लाइनमा जोड्ने लक्ष्य छ ।