भारतबाट लकडाउनमा २१ करोडको तरकारी आयात, स्थानीय उत्पादन बारीमै सड्यो
2020/08/08, 12:55
 
bhansar

लकडाउनको एक सय २० दिन अर्थात चार महिनामा सुदूरपश्चिमका किसानले उत्पादन गरेको तरकारी बारीमा सुक्यो र सड्यो पनि । स्थानीय प्रशासन र पालिकाहरुको निर्देशनमा स्थानीय तरकारी संकलन केन्द्र तथा हाट बजार बन्द गरिए । तर, भारतबाट निर्वाध आएको तरकारी सीधै भान्सामा पुग्यो ।  लकडाउनमा भारतबाट तरकारीको धमाधम आयात भएकोमा स्थानीय उत्पादनलाई भने प्रहरी प्रशासनले नै कोरोनाको जोखिम बढ्ने भन्दै बजार सम्म पुगाउन दिएन । किसानहरु बारीको तरकारी कुहिएको हेर्न बाध्य भए भने व्यापारीहरूले नेपाली किसानको उत्पादन किन्नुभन्दा भारतबाट आयात गर्नु सजिलो माने ।

सोही कारणले लकडाउनमा पनि दैनिक १७ लाख ५० हजारको तरकारी त्रिनगर नाका हुँदै  कैलाली भित्रिएको छ । भन्सार कार्यालय कैलालीका सूचना अधिकारी डिल्लु प्रसाद शर्माले चार महिनाको अवधिमा २१ करोडको तरकारी आएको बताएको बताए । ‘आलु, प्याज, टमाटर र कागती मात्रै २१ करोडको भित्रिएको छ ।,’ सूचना अधिकारी शर्माले भने, ‘यो अवधिमा हरियो तरकारी भने आयात भएको छैन ।’ लकडाउनमा पनि सामान्य समय जस्तै तरकारी आयात भएको भन्सार कार्यालयको ठहर छ ।

कोरोना भाईरसको जोखिम र नाका बन्द भएपनि भारतबाट तरकारीको आयात नरोकिएपछि चार महिनामै २१ करोडको तरकारी आयात भएको हो । लकडाउनमा सहरी क्षेत्रमा तरकारीको उपभोग करिब ५० प्रतिशतसम्म घटेको दावी गरिएको छ । यस्तो अवस्थामा सुदूरपश्चिममै उत्पादित तरकारीले उपभोक्ताको माग धान्नुपर्ने हो । तर, तरकारीको उपभोग घटे पनि आयात नघटेपछि मागको सबैजसो हिस्सा आयातित तरकारीले कब्जा गरेको आशंका पनि गरिएको छ ।

यता प्रदेशको भूमी, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले भने तरकारीको उपभोग धेरै नघटेको बताए । ‘लकडाउनमा पनि तरकारीको उपभोग त भईरहेकै थियो ।’ उनले भने, ‘आयातित तरकारीको भर परेर हुँदैन् भन्ने सिकाई लकडाउनबाट भएको छ ।’ लकडाउनपछि स्थानीय स्तरमा तरकारी खेती प्रति आकर्षण बढेको दावी पनि उनको छ । तीन तहकै सरकारले समेत तरकारी खेतीलाई प्राथमिकतामा राखेको बताउँदै उनले भने, ‘कौशी खेती पनि बढेको छ । आगामी बर्षमा तरकारीको आयात घट्ने विश्वास छ ।’