स्थानीय कला, संस्कृति जोगाउने अभियानमा ‘अछामी रेखा थापा’
2020/08/10, 9:16
 
kalakar

ईन्द्रसरा खड्का- नाकमा फुली र बुलाकी । निधारमा रातो टीका, गलामा पोते । पातलो ज्यानमा गुन्यु चोलो । झट्ट हेर्दा ग्रामीण भेगकी एक सुन्दर महिला जस्तै । गाउँले बोलीचाली र  स्वर दुरुस्तै महिलाकै जस्तो भए पनि उनी पुरुष हुन । ग्रामीण भेगमा देखाइने सडक नाटकबाट महिलाको भूमिकामा देखिने उनी हुन् अछामका २८ वर्षीय भीमबहादुर विष्ट । अछामको मङ्गलसेन नगरपालिकाका विष्टलाई भीमबहादुर भन्दा रेखाका नामले बढी चिन्छन् । उनलाई धेरैले ‘अछामी रेखा थापा’ भन्छन् । महिलाको पोसाकमा गाउँघरमा कला संस्कृतिको जगेर्ना गर्दै आएका विष्ट अहिले देउडा म्युजिक भिडियोमा पनि देखिन थालेका छन् । 

4

जनचेतना  जगाउने विभिन्न तरिका हुन्छन् । तीमध्येको एक तरिका हो,  सांस्कृतिक कार्यक्रम र कमेडी । उनी यस्तै कमेडी मार्फत नौ वर्षदेखि अछाम लगायतका विभिन्न जिल्लामा जनचेतना फैलाई रहेका छन् । गाउँमा हुने मेला, महोत्सव, विद्यालय, गाउँ, टोलमा आयोजना  हुने  सांस्कृतिक कार्यक्रममा उनले सन्देशमूलक प्रस्तुति देखाउँछन् । पछिल्लो  समय युवा पुस्ताले आफ्नो स्थानीय कला, संस्कृति, भेषभुषा बिर्सँदै गएकोमा उनलाई चिन्ता लाग्छ । त्यही कला र संस्कृतिको जगेर्नाका लागि भीम सांस्कृतिक टोली नै बनाएर  लागिरहेका छन् । ‘हामीलाई हाम्रो भाषाको चिन्ता छ,  हाम्रो संस्कृतिको चिन्ता छ । कार्यक्रममा बोल्दा पनि स्थानीय भाषा नै बोल्छौँ, किनकि जति मातृभाषामा   बोलेको  बूढापाकाले बुझ्छन्,  त्यति नेपाली बोलेको बुझ्दैनन्,’ उनले भने । 
सुदूरको विकट अछाममा अहिले पनि जातीय विभेद, महिला हिंसा, छाउपडी कुप्रथा जस्ता विभिन्न कुसंस्कार छन् । जसको अन्त्य अझै हुन सकेको छैन । यस्ता विकृति विसङ्गति हटाउन गाउँमा गठन भएका युवा क्लबले फाट्टफुट्ट रुपमा काम पहिलेदेखि गरेका भए पनि त्यति प्रभावकारी भएको छैन । बिस्तारै जनचेतना जगाउने काम बढ्न थाल्यो । भीमले पनि मङ्गलसेनमा डान्स सेन्टर खोले । ‘नयाँ तारा कला सागर डान्स सेन्टर’ खोलेर केटाकेटीहरुलाई नाच्न  सिकाइरहेका थिए ।  त्यही समयमा उनलाई चेतनामूलक कार्यक्रमको लागि डाक्न थालियो । त्यसपछि भीम आफैलाई चेतनासँगै कला र संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने लाग्यो र विभिन्न गाउँमा गएर नाटक देखाउन थाले  यो २०६६ सालको कुरा हो ।

यसकारण महिलाको भूमिका
गाउँमा नाटक गर्दा होस् या कुनै कार्यक्रममा महिला कलाकार पाउन गाहे थियो । किनकि छोरी मान्छेलाई यसरी बाहिर जान दिने चलन छैन ।   त्यसैमा पनि  सडक नाटकमा श्रीमती, बुहारी, आमाको भूमिका गर्नुपर्दा झनै समस्या । यस्तो समस्या अहिले पनि हुन्छ ।  त्यो बेला अहिलेको भन्दा झनै समस्या थियो । कुनै विद्यालय, टोलमा बालविवाह, छाउपडी, खुला दिसामुक्त, पूर्ण साक्षरता लगायतका विभिन्न कार्यक्रममा चेतना जगाउँदा महिला नभेटिएकाले आफैले महिलाको भूमिका निर्वाह गरेको उनी बताउँछन् । ‘गाउँघरमा अहिले पनि श्रीमती, बुहारी, आमाको भूमिकामा महिला कलाकार पाइँदैन भने आजभन्दा ९÷१० वर्ष पहिले त यस्तो कार्यक्रम गर्दा महिला हेर्न समेत आउँदैन थिए’ भीमले भने । उनले २०६६ सालमा पहिलो पटक अछामकै मङ्गलसेनमा छाउपडी सम्बन्धी जनचेतनामूलक सडक नाटक देखाएका थिए । 

3
यसमा एउटा महिला छाउ (महिनावारी) भएको भूमिकामा देखिनुपर्ने  थियो तर महिला थिएनन्, भीम आफैले गुन्यु चोलो लगाए । ‘कार्यक्रममा भाषण गरिकन बोल्याका भन्दा हामुले छाउ भयाका बेला बाइर बस्यापछि यसो यसो समस्या हुदोछ भनि नाटकमा धेकायापछि   छाँटा  बुज्यो । मलाई बैकीनीको रोल खेल्याको धेकीकन सब्बैले मन पणायो (कार्यक्रममा महिनावारी भएको बेला बाहिर बस्न हुँदैन भन्दै भाषण गरेको   भन्दा मैले महिला बनेर यसो गर्न हुँदैन भन्दा सबैले ध्यान दिएर सुने र सबैले  मन पराए)’, भीमले भने । त्यसपछि उनलाई पुरुषको भूमिकाभन्दा महिलाको भूमिकामा बढी रुचाइयो । उनले सडक नाटकमा सधैँ महिलाको रोल गरे । 
 
यसरी भए अछामी  रेखा थापा
त्यतिबेला  नेपाली चलचित्रकी नायिका रेखा थापाको निकै चर्चित थिइन् । गाउँमा कसैले राम्रो लुगा लगाएको देख्दा ओहो रेखा थापा जस्ती भन्थे  । भीम भन्छन्, ‘गाउँमा कसैले पाईन्ट लगाएको भए त हामी आफै पनि उसलाई हेर्न जान्थ्यौँ । बूढाबूढीले त झन् अचम्मै मान्थे । जसले पनि राम्री र   चिटिक्क परेकी देख्दा रेखा  थापा जस्तै भन्ने गर्दा मैले पनि रेखा थापाको नाम राखेँ ।’ ‘अझै भनौँ, त्योबेला रेखा थापालाई छोटा कपडा लगाउने भएकाले देखा थापा पनि भन्थे, गाउँमा पनि रमाइलो पारमा यस्तै गर्दा मलाई नै दर्शकले रेखा थापा भन्न थाले’, भीमले भने । 

4
हुन त अहिले भीमलाई सुदूरपश्चिममा मात्र हैन, अरु ठाउँमा पनि अछामी रेखा थापा भनेर चिन्छन् । तर जसको नामले भीम देशभर चिनिए, उनसँग अहिलेसम्म भेट भएको छैन । ‘मलाई सबैले अछामी रेखा थापा भनेर चिन्छन् । म जसको कला र नामले चिनिएँ, उनीसँग नै भेट भएको छैन’, भीमले थपे ।सुदूर र कर्णाली प्रदेशमा मेला महोत्सवमा व्यस्त रहने अछामी रेखा थापा साँच्चिकैको रेखा थापासँग भेट नहुनु संयोग नै नजुरेको  बताउँछन् । ‘भेट्ने धो त कति थियो नि, काठमाण्डौ आएर भेट्न सकेको  छैन, हाम्रोतिर उहाँ नै आउनुभएको छैन’, भीमले भने । यो खबरलाई उज्यालो अनलाईनले लेखेको छ ।