नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुग्यो
2020/05/17, 4:41
 
korona

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । बाँकेको क्वारेन्टाईनमा आज बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश ५ का  सामाजिक विकास मन्त्री सुदर्शन बरालले भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोना भाइरसको संक्रमण देखिएको बताए । 

आज बिहान मृत्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए । उनी वैशाख ३० गते नेपाल आएका थिए । भारतबाट आएका उनलाई सिधै क्वारेन्टाईनमा लगिएको थियो । नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक नागरेन्द्र साहका अनुसार उनी बसेको क्वारेन्टाईनमा अरू ३८ जना पनि छन । मृत्यु हुनुअघि आज बिहान ४ बजेतिर उनले अचानक दुई पटक बान्ता गरेका थिए ।

यो सँगै नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोना भाइरसको पुष्टि भएको थियो ।