चामल आपुर्तिकर्तालाई हदैसम्मको कानुनी कारवाही गर्न छानविन समितिको सिफारिस 
2020/05/17, 6:33
 
chamal

धनगढी उप–महानगरपालिकाले राहतमा कुहिएको चामल वितरण गरेको विषयमा गठन भएको छानविन समितिले आपुर्तिकर्तालाई हदैसम्मको कारवाही गर्न सिफारिस गरेको छ । राहत वितरणमा कुहिएको र किरा परेको चामल वितरण भएपछि गठन गरिएको छानबिन समितिले तीन दिन लगाएर तयार पारेको प्रतिवेदनमा खाद्यान्न आपुर्तिकर्ता ठाकुर टे«ड लिंकलाई यस्तो सिफारिस गरिएको हो । 

तीन दिनको समय सीमा दिएको समितिले छानविन र अनुगमन तथा सम्बद्धहरुको वयानपछि प्रतिवेदन तयार पारिएको छ । वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारीको संयोजकत्वमा गठन भएको छानबिन समितिले खाद्यान्न आपुर्तिकर्तालाई हदैसम्मको कारवाही गर्न सुझाव दिईएको छ । समितिले तयार पारेको प्रतिवेदनको सुझावमा खाद्यान्न आपुर्तिकर्ताले कोरोना महामारीको समयमा पनि जनस्वास्थ्यलाई प्रतिकुल प्रभाव पार्ने खाद्यान्न आपुर्ति गरेकोले नेपालको प्रचलित कानुन अनुसार हदैसम्मको कारवाही गर्न सिफारिस गरिएको छ । 

धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा चामल आपुर्तिको ठेक्का धनगढीको ठाकुर टे«ड लिंकले पाएको थियो । उसले यसअघि १६ वटा वडामा चामल वितरण गर्दा कुनै समस्या र गुनासो नआए पनि वडा नम्बर ४ मा कुहिएको चामल पाईएपछि विवाद चर्किएको थियो । त्यसपछि वितरण गर्न बाँकी रहेका वडाहरुको चामलको बारेमा जानकारी लिदैं वस्तुस्थिति वुझ्न छानविन समिति बनाईएको थियो । 

चामल आपुर्तिकर्तासँगको वयानमा आपुर्तिकर्ताले आफुलाई अर्को उद्योगले आपुर्ति गरेका कारण गुणस्तरहीन चामल परेको बयान दिएका छन् । सोही कुरालाई ध्यानमा राखेर चामल आपुर्तिकर्ता नै जिम्मेवार भएकोले कारवाहीको सिफारिस छानविन समितिले गरेको छ । वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारी संयोजक रहेको छानविन समितिमा वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐर, वडा नम्बर ९ का अध्यक्ष प्रेमबहादुर भण्डारी, वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशी र कार्यपालिका सदस्य गिता पन्त सदस्य रहेका छन् । त्यसैगरी धनगढी उप–महानगरपालिकाको कृषि शाखा प्रमुख लोकराज उपाध्याय सदस्य सचिव रहेका छन ।