अति आवश्यक सेवाका चालकहरुको दुखेसोः पिउनलाई कसैले पानी पनि दिदैंनन् (भिडियो सहित)
2020/05/17, 6:43
 
chalak

लकडाउनका कारण अधिकांश सवारी साधनहरु बन्द भएपनि अति आवश्यक सेवाका सवारी साधनहरु भने चलि नै रहेका छन् । एम्बुलेन्स, खाद्यान्न लगायत अति आवश्यक सेवाका सवारी साधनहरु सञ्चालनमा रहे पनि चालकहरुले भने आफुहरुलाई कसैले पानी समेत नदिने दुखेसो पोखेका छन् । 

सेती प्रादेशिक अस्पतालका एम्बुलेन्स चालक विराट विष्टले विरामी वोकेर देशका विभिन्न ठाउँमा गईरहनुपर्छ । पिपिई लगायतका स्वास्थ्य सामाग्रीको अभावमा त्रसित भएर सेवा दिँदा निकै समस्या झेलिरहेको उनी बताउँछन् । उनले भने –‘अहिले विश्वभरीनै महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को लक्षण विरामी देखिएपछि आफैलाई असुरक्षित जस्तै भएर पनि सेवा गरिरहेका छौं ।’ उनले भने– ‘विरामीले स्वास्थ्य संस्थामा छिटो छरितो पुग्न एम्बुलेन्स प्रयोग गर्छन् । तर, हामीलाई कसैले पानी समेत दिन मान्दैनन् । चिया नास्ताका लागि एम्बुलेन्स नरोक पनि भन्छन् । भोकभोकै विरामी बोक्नु परिरहेको छ ।’ 

अहिले विश्वभरीनै कोरोना भाइरसले महामारीको रुप लिन थालेपछि उच्च सर्तकता अपनाइएको छ । नेपालमा पनि लामो दुरीका गाडि चल्न छाडेका छन । तर, एम्बुलेन्स चालक खाद्यान्न र औषधीका गाडीहरु चलिरहेका छन । यी अतिआवश्यक सेवाका सवारी चलाउने चालकहरुले जोखिम मोलेर सेवा गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।

नेपाल रेडक्रस सोसाईटीका एम्बुलेन्स चालक देवीलाल ओझाले कोरोना भाइरसका लक्षण देखिएका विरामीलाई नबोक्ने पनि अन्य विरामीलाई भने वोकेर ओहोर दोहोर गरिरहनु पर्छ । तर उनी पनि केही पनि नपाएर खाली भेट नै विरामीको सेवा गर्नु परिरहेको बताउँछन् । ‘हामीले विभिन्न किसिमका रोग लागेका, दुर्घटना लगायतका विरामी बोकेर ल्याउने लैजाने काम गर्नुपर्छ । तर होटेलमा चिया समेत खान पाउँदैनौं’ उनले भने –‘अस्पतालले हामीलाई सुरक्षित बनाउन स्वास्थ्य सामाग्री दिएको छ । तर त्यो पनि पर्याप्त छैन् । हामीलाई चिया खास्ता खुवाउन कसैले पनि मन गर्दैनन् ।’ 

नेपाल एम्बुलेन्स चालक संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष लक्ष्मण सिंहले एम्बुलेन्स चालक असुरक्षित भएको बताए । ‘विरामीलाई अस्पताल पु¥याउने हामी नै सुरक्षित छैनौं’ उनले भने–‘पुरै शरिर ढाक्ने सुरक्षित कपडा (पर्सनल प्रोटेक्टिभ इक्यूपमेण्ट ‘पिपिई’) नै छैन् ।’ उनका अनुसार पिपिइले बाह्य संक्रमण हुनबाट जोगाउँछ । उनले एम्बुलेन्स र चालकलाई सुरक्षित गर्ने योजना यथाशिघ्र बनाईनुपर्ने बताए ।

सुदूरपश्चिममा अहिले एक सय ५० बढी एम्बुलेन्स चालकहरु रहेका छन ्। संघका प्रदेश अध्यक्ष लक्ष्मणले एम्बुलेन्स पनि ‘क्याविन’ वाला नभई सामान्य रहेकाले कोरोनाको संक्रमण चालकमा सहजै सर्न सक्ने बताए । एम्बुलेन्स चालक मात्रै होईन खाद्यान्न औषधी ढुवानी गर्ने चालकहरु पनि कोरोनाको संक्रमणको जोखिममा रहेका छन ।

निशान गोले खाद्यान्न ढुवानी गर्ने मिनि ट्रक चलाउँछन् । तर बाटोमा खाना नपाएको महिना दिन नै भईसक्यो । घरबाट लगेर गएको खाना नास्ताले खाद्यान्न ढुवानी गर्नु परिरहेको छ । तर उनी प्रायः भोकभोकै गाडी चलाउँछन् । ‘लामो दुरीको यात्रा गर्नुपर्छ । भोकभोकै हिड्नुपर्छ । बाटोमा पनि खाना दिन कोही मान्दैनन् ।’ उनले भने– ‘घरबाट केही लग्यो भने खान पाईने हो नत्र भोकै बस्नुपर्छ । पहिले त सवैले खान वस्न पनि दिन्थे । आजभोली कोही पनि खान वस्न दिन मान्दै मान्दैनन् ।’