साहसिक पर्यटक गन्तव्यको लक्ष्य सहित कैलालीमा पार्क सञ्‍चालन
2020/08/13, 9:37
 
torisma

कैलालीको खानीडाँडा क्षेत्रलाई साहसिक पर्यटक गन्तव्य बनाउने लक्ष्यका साथ निगलाडी एडभेन्चर पार्क सञ्चालनमा ल्याइएको छ। चार युवा पर्यटन व्यवसायीहरू श्यामराज भट्ट, भीमबहादुर लामा, पुष्करराज भट्ट र सुमित लामिछानेले चुरे गाउँपालिका-५ खानिडाँडामा झण्डै २५ लाख रूपैया लगानीको लक्ष्य सहित पार्क सञ्चालनमा ल्याएका हुन । 

प्रदेशको अस्थायी राजधानी धनगढीमा ४२ डिग्री तापक्रम हुँदा झन्डै ४० किलोमिटर उत्तरमा रहेको पहाडी क्षेत्र खानीडाँडामा २५, २६ डिग्री सेल्सियस तापक्रम मात्रै हुन्छ। त्यसैले पनि गर्मि छल्न खानीडाँडा जानेहरूको घुइँचो लाग्ने गर्दछ। केही वर्षपहिले सम्म तराईबाट पहाडी सात जिल्ला जाने यात्रुले खाजा र खाना खाने ठाउँका रूपमा चिनिएको खानीडाँडा अहिले पर्यटकीय गन्तव्यको रुपमा समेत चिनिन थालेको छ। साहसिक पर्यटकका लागि अबको गन्तब्य खानीडाँडा बन्नेमा व्यवसायीहरू ढुक्क छन्।

1

गत बर्षदेखि नै पार्कको निर्माण थालिएको भएपनि कोरोना महामारीका कारण पूर्ण रूपमा तयार हुन सकेको छैन। तर, पनि सञ्‍चालन भने गर्न थालिएको सञ्‍चालक भीमबहादुर लामाले बताए। पार्कमा अहिले जिप लाईन, बर्मा व्रिज र ट्रम्प पुलिङ्गको अनुभव लिन सकिने बताए । निकट भबिष्यमा प्याराग्लाइडिङ्ग, क्ल्याम्बिङ्ग, सर्ट हाइकिङ लगायतका अन्य साहसिक खेल समेत थप्दै लैजाने सोच छ। जिप लाइनरको लागि ३०० रूपैया र अन्यका लागि भने ५० रूपैया शुल्क तोकिएको छ। 

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको प्रवेशद्वार अत्तरियाबाट उत्तरतर्फ गोदावरीहुदै खानीडाँडा पुग्नु अगावै  निगलाडी पुल आउँछ। उक्त पुलको नजिकै निगलाडी एडभेन्चर पार्क सञ्चालनमा ल्याइएको हो।