नेपाली युवा दिवेश अमेरिकन आइडलको उपविजेता 
2020/05/18, 10:44
 
song

दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप भएका छन् । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औँ संस्करणको फस्ट रनर अप बनेका हुन् । छनोट चरण हुँदै अन्तिम २०, १०, ७ र फाइनल चरणका लागि अन्तिम पाँचभित्र समेटिँदै पोखरेल फाइनलमा पुगेका थिए । अमेरिकन आइडलमा आर्थर गनको नामबाट सहभागी पोखरेलले आइडलको छनोट चरणदेखि नै निर्णायकको मत जित्दै आएका थिए ।

मत मार्फत अघि बढ्ने चरणमा समेत उनले उत्साहप्रद मत प्राप्त गरेका थिए । उनको आइडलको सहभागितासँगै अमेरिकामा रहेको नेपाली समुदायमा आइडलप्रतिको चासो ह्वात्तै बढेको थियो । विश्वभर छरिएको नेपाली समुदायबाट उनलाई मत प्राप्त भएको थियो । त्यसका निम्ति पोखरेलले सबैमा आभार समेत व्यक्त गरेका छन् । गएको सेप्टेम्बरमा दिवेश आइडलका लागि छनोट भएका थिए।

फ्रेन्च कवि आर्थर रिम बाउडबाट प्रभावित भएर आफ्नो स्टेज वा साङ्गीतिक नाम आर्थर गन राखेको बताउने दिवेश ६ वर्षअघि अमेरिका आएका हुन् । काठमाण्डौमा जन्मिएका दिवेशले अमेरिका आउनुअघि पनि नेपाली सङ्गीतिक कोसेली एल्बम ‘ग्रहण’ सार्वजनिक गरेका थिए । दिवेश फस्ट रनर अप भएको एबीसी टेलिभिजनले सञ्चालन गर्ने आइडलको उपाधि भने लाइबेरियाली मूलकी २१ वर्षीया जष्ट सामले जितेकी छिन् । 

अमेरिकन आइडल बनेकी जस्ट साम को हुन् ?
उपाधि विजेता २१ वर्षीया जस्ट सामको वास्तविक नाम समन्था डियाज हो । उनी लाइबेरियन मुलकी अश्वेत गायिका हुन् । न्यूयोर्क निवासी सामले मिडल स्कुलदेखि नै न्यूयोर्कका सबवे र ट्रेनहरुमा गाउने गर्थिन् । उनी सानो छँदा आमा जेल परेकाले उनलाई हजुर आमाले हुर्काएकी हुन् ।

उनले पहिलो अडिसनबाटै निर्णायकहरुलाई प्रभावित तुल्याउँदै आएकी थिइन् । सामलाई जिताउनका लागि लाइबेरियामा अभियान नै चलाइएको थियो ।