सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार नौँ सय ६९ पुगेको छ । बिहीवार थप १० जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या चार हजार नौँ सय ६९ पुगेको हो । धनगढी र डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ७९ जनाको कोरोना परीक्षण भएकोमा ६ महिला र दुई पुरुष गरी ८ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी उप–महानगरपालिका वडा नम्बर १ का तीन पुरुष र कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का एक पुरुषमा संक्रमण पुष्टि भएको बताए । उनका अनुुसार अछामको साँफेवगर नगरपालिका वडा नम्वर ३ का दुई पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ७ र शुक्लाफाँटा नगरपालिका वडा नम्वर १ की एक एक महिलामा संक्रमण पुष्टि भएको छ । उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा आज दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको छ। तीन सय ५२ जनाको स्वाब परीक्षण गरिएकोमा दुई जनामा संक्रमण देखिएको अस्पतालका प्रयोगशाला ईन्चार्ज ईश्वरी भुषालले जानकारी दिए ।
उनका अनुसार डोटीको दीपायल सिलगढी नगरपालिकाका एक पुरुष र बैतडीको सिगास गाउँपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार नौँ सय ६९ पुगेको छ । सबैभन्दा बढी कैलालीमा एक हजार दुई सय ८५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
डोटीमा सात सय ९५, अछाममा सात सय ३३, बाजुरामा ६ सय २२ र कञ्चनपुरमा ५ सय ८० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै डडेल्धुराका तीन सय १२, बैतडीका तीन सय एक, बझाङका दुई सय ९६ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका चार हजार ८३ जना डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।