सुदूरपश्चिम प्रदेशमा शुक्रबार एक हजार बढिको कोरोना परीक्षण गरिएकोमा ५ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढी र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरी एक हजार ३० जनाको कोरोना परीक्षण गरिदा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या अहिले सम्म २४ घण्टामा गरिएको परीक्षणको सर्वाधिक हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आठ सय ८९ र डडेल्धुरा अस्पताल प्रयोगशालामा एक सय ४१ जनाको परीक्षण गर्दा पाँच जनामा मात्रै संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा आठ सय ८९ जनाको कोरोना परीक्षण गरिएकोमा एक महिला र तीन पुरुष गरी ४ जनामा संक्रमण पुष्टि भएको बताए। उनीहरु सबैजना अछामका हुन् । सूचना अधिकारी श्रेष्ठले अछामको साफेबगर नगरपालिका वडा नम्बर ७ की २३ वर्षीय महिला र ३१ वर्षीय पुरुष गरी दुईजना, साफेबगर नगरपालिका ५ का ३० वर्षीय पुरुष र मंगलसेन नगरपालिका ७ का २१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिए ।
डडेल्धुरा अस्पतालको कोरोना परीक्षण प्रयोगशालाका ईन्चार्ज ईश्वरीप्रसाद भुसालले बझाङका बित्थडचीर गाउँपालिका वडा नम्बर ६ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको बताए । प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ४१ जनाको कोरोना परीक्षण गरिएको छ । अन्य सबैको रिर्पोट नेगेटिभ आएको अस्पतालले जनाएको छ । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार नौँ सय ७४ पुगेको छ ।
सबैभन्दा बढी कैलालीमा एक हजार दुई सय ८५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डोटीमा सात सय ९५, अछाममा सात सय ३७, बाजुरामा ६ सय २२ र कञ्चनपुरमा ५ सय ८० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै डडेल्धुराका तीन सय १२, बैतडीका तीन सय एक, बझाङका दुई सय ९७ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका चार हजार ८३ जना डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।