महाकालीमा पानीको सतहबारे स्वचालित यन्त्रले जानकारी दिँदै
2020/08/14, 6:40
 
parsuram

महाकाली नदीमा पानीको सतहबारे स्वचालित यन्त्रले जानकारी दिने गरेको छ। डडेल्धुराको परशुराम नगरपालिका–५ परशुराम धाम किनारमा स्वचालित यन्त्र बब्लर गेज जडान गरिएको छ। सो गेजले इन्टरनेटका माध्यमबाट आफैँ जानकारी दिन्छ।

बाढी र कटानको जोखिमबाट जोगिन यो प्रणाली अपनाइएको हो। पूर्वसूचना प्रणालीको यो माध्यमले सम्भावित जोखिमबाट हुने क्षतिलाई कम गरेको छ। खासगरी बर्खायाममा पानी कति बढ्यो र घट्यो भनेर हेरिन्छ। पानिको सतह बढे पूर्वसूचनाका आधारमा उचित व्यवस्थापन गर्न र सचेत रहन मद्दत पुग्छ।

सोमबार मात्रै महाकाली नदीमा पानीको सतह निकै बढेको थियो। पानीको सतह खतरासम्म पुगेपछि तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइन्छ । साइरन बजाएरसमेत सचेत गराइने गरेको छ। परशुरामको गेजले कञ्चनपुरको भुजेलासम्मका बासिन्दालाई सचेत रहन मद्दत पुग्छ। स्थानीयवासी स्वयंले पनि यसबाट जानकारी लिन सक्छन्।

यसले बाढीबाट हुने सम्भावित जोखिमको क्षति कम गर्न सहयोग गरेको छ। मेसिन चार्जका लागि सोलार पाता जडान गरिएको छ। यस क्षेत्रमा सञ्चालनमा आउने नेटवर्कमा नेपाल टेलिकम र एनसेलको सिम कार्ड राखिएका छन्। जल तथा मौसम विज्ञान विभागको अनलाइनमार्फत जानकारी लिन सकिन्छ।

नेटवर्कले काम नगरेका खण्डमा स्थानीयवासीलाई पनि खटाउने गरिएको छ। महाकाल किनारमा पानीको सतह नाप्ने गरी संरचना बनाइएका छन् । यसका आधारमा रिपोर्टिङ गरिने गेज रिडर डम्बरदत्त जोशीले बताए। अन्य समयमा दैनिक चार पटक रिपोर्टिङ गर्नुपर्ने हुन्छ।

‘वर्षातको समयमा भने पूरै दिन गेजमै बस्नुपर्ने हुन्छ। कुन बेला पानीको सतह बढ्छ भन्ने पत्तो हुदैन्।’ उनले भने। यस्तो प्रविधि नेपालका ठूला नदीमा जडान गरिएको छ। यो पूर्वसूचना प्रणालीको एक माध्यम हो। नदीमा पानीको सतह कम भएका बेला हिउँदमा नदीमा पानीको सतह मापन गरी पाइप जडान गरिन्छ। पाइपभित्र बब्लर राखिन्छ।

यसले पानीको सतह बढेको वा घटेको बारे आफै जानकारी दिने यस क्षेत्रमा काम गर्दै आएको ट्रोसा परियोजना संयोजक तथा स्थानीयवासी अमर साउदले बताए। रुडुक डडेल्धुराद्वारा सञ्चालित परियोजनाले परशुराम नगरपालिका– ५ र ६ का समुदायमा समन्वय र सचेतनाका क्षेत्रमा काम गरिरहेको छ।

महाकालीमा ६५ प्रतिशत पानी भारततर्फका नदीबाट आउने गरेको छ। यसले गर्दा दार्चुलामा राखिएको गेजले दिने जानकारीमा फरक पार्छ। पानीको सतहबारे हाइड्रोलोजी र मेट्रोलोजी वेबसाइटमा हेर्न सकिन्छ।

पानीको सतह सामान्य, मध्यम र उच्च तह भनी दिइएको छ। उच्च तहमा पुग्नेबित्तिकै खतराको सङ्केत दिने एमरेड परियोजना संयोजक गणेश थापाले बताए।