कुहिएको चामल प्रकरणः छानविन समितिको प्रतिवेदन तयार, मेयरलाई बुझाउन ढिलाई 
2020/05/18, 11:48
 
chamal

धनगढी उप–महानगरपालिकाले राहतमा कुहिएको चामल वितरण गरेको विषयमा गठन भएको छानविन समितिले आफ्नो प्रतिवेदन तयार पारेको छ । राहत वितरणमा कुहिएको र किरा परेको चामल वितरण भएपछि गठन गरिएको छानबिन समितिले तीन दिन लगाएर प्रतिवेदन तयार पारेको हो । तीन दिनको समय सीमा दिएको समितिले छानविन र अनुगमन तथा सम्बद्धहरुको वयानपछि प्रतिवेदन तयार पारिएको छ ।

एक दिन ढिलो गरी प्रतिवेदन तयार पारिएको भएपनि धनगढी उपमहानगरपालिकालाई हस्तान्तरणमा भने ढिलाई भईरहेको छ । उपमहानगरपालिका मेयर नृप ओडको समय व्यवस्थाका कारण प्रतिवेदन बुझाउन ढिलाई भएको र प्रतिवेदन तयार गरिसकेको छानविन समितिका संयोजक मुरारी अधिकारीले जानकारी दिए । सार्वजनिक नगरिएको प्रतिवेदनमा छानबिन समितिले खाद्यान्न आपुर्तिकर्तालाई हदैसम्मको कारवाही गर्न सुझाव दिएको छ । समितिले तयार पारेको प्रतिवेदनको सुझावमा खाद्यान्न आपुर्तिकर्ताले कोरोना महामारीको समयमा पनि जनस्वास्थ्यलाई प्रतिकुल प्रभाव पार्ने खाद्यान्न आपुर्ति गरेकोले नेपालको प्रचलित कानुन अनुसार हदैसम्मको कारवाही गर्न सिफारिस गरिएको छ । 

छानविन समितिले दुई दिन लगाएर ५  वडाहरुमा वितरणका लागि राखिएको चामलको स्थलगत अनुगमन गर्दै चार वडामा कुहिएको र एक वडामा राम्रो चामल पाएको थियो ।  छानविन समितिले चार वडामा एक हजार तीन सय ५१ कट्टा  कुहिएको र किरा परेको चामल फेला पारेको थियो । नम्बर ४ मा २ सय ६९ कट्टा, वडा नम्वर ५ मा ८ सय ८७ कट्टा, वडा नम्बर १ मा ९ मा ९५ कट्टा र वडा नम्बर २ मा १०० कट्टा कुहिएको चामल पाईएको छानबिन समितिले जनाएको छ ।

वडा नम्बर १२ मा वितरण गरिएको चामल राम्रो र खान योग्य रहेको समितिको भनाई थियो । १६ वडामा वितरण गरिएको चामल भने राम्रो भएका त्यहाँ वितरण गर्दा कुनै समस्या र गुनासो आएको छैन् । छानविन समितिले सवै विषयमा छानविन र अनुगमन गरेपछि प्रतिवेदन तयार पारिएको छ । छानविनको प्रतिवेदनमा सम्झौता अनुसार चामल आपुर्ति नगरेको, खाद्यान्न आपुर्तिका लागि खोलिएको टेण्डरका केही वुँदाहरु पलना नगरेको, ईस्पेफिकेशन नगरिएको, खाद्यान्नको नमुना परिक्षण नगरिएको, मध्य मसिनो चामल आपुर्ति गर्नुपर्नेमा केही मोटो चामल आपुर्ति गरेको, सार्वजनिक खरिद ऐनका केही वुँदाहरु पालना नगरेको लगायत निष्कर्ष छानविन समितिले निकालेको छ । 

वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारी संयोजक रहेको छानविन समितिमा वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐर, वडा नम्बर ९ का अध्यक्ष प्रेमबहादुर भण्डारी, वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशी र कार्यपालिका सदस्य गिता पन्त सदस्य रहेका छन् । त्यसैगरी धनगढी उप–महानगरपालिकाको कृषि शाखा प्रमुख लोकराज उपाध्याय सदस्य सचिव रहेका छन ।