सुदूरपश्चिममा थप १५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४९९४ पुग्यो 
2020/08/15, 6:15
 
corona

सुदूरपश्चिम प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १५ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ सय २९ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका नौँ र कञ्चनपुरका चार जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । उनले कैलालीको धनगढी उप–महानगरपालिकाका तीन पुरुष र एक महिला गरी चार जना, घोडाघोडी नगरपालिका वडा नम्वर ८ का तीन महिला, गोदावरी नगरपालिका वडा नम्वर १० का एक महिला र एक पुरुष गरी दुई जनामा कोरोना पुष्टि भएको बताए ।

सूचना अधिकारी श्रेष्ठले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्वर १० का दुई महिला र एक पुरुष गरी तीन जना र बेल्डाँडी गाउँपालिका वडा नम्वर ४ का एक पुरुषमा संक्रमण देखिएको बताए । उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज दुई जनामा कोरोना देखिएको छ । २४ घण्टामा दुई सय २६ जनाको स्वाब परीक्षण गरिएकोमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी भुषालले जानकारी दिए ।

उनका अनुसार डडेल्धुराको अमगरगढी नगरपालिका वडा नम्वर ६ की २३ वर्षीया युवती र बझाङको जयपुथ्वी नगरपालिका वडा नम्वर ५ का १८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ९४ पुगेको छ। सबैभन्दा बढि कैलालीमा एक हजार दुई सय ९८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

डोटीमा सात सय ९५, अछाममा सात सय ३७, बाजुरामा ६ सय २३ र कञ्चनपुरमा ५ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै डडेल्धुराका तीन सय १३, बैतडीका तीन सय एक, बझाङका दुई सय ९८ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका चार हजार एक सय ५७ जना डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।