सम्पादकीयः निरन्तर यात्राको पाईला प्रारम्भ
2020/08/02, 12:21
 
KHABAR KUNJ

एक्काईसौं शताब्दीमा भित्रिएका प्रविधिहरुलाई प्रयोग गर्दै नागरिकको सूचना पाउने हक कुनै न कुनै रुपले सञ्चार माध्यमहरुले संरक्षण गरिरहेकै छन। 

नागरिकको सबैभन्दा बढी पहुँच रहेको अनलाईन सञ्चार माध्यममा सत्य, तथ्य, निष्पक्ष र कहिल्यै नसुनिएका अनि कहिल्यै नहेरिएका नागरिकका कथा प्रकाशन प्रसारण गर्ने उद्देश्यले हामीले खबरकुञ्ज डटकमको प्रकाशन आरम्भ गरेका छौं । सुदुरपश्चिम प्रदेशमा धेरै अनलाईनहरु सञ्चालनमा रहेका छन् । ती अनलाईनहरुको भीडमा स्थापित हुन खबरकुञ्जलाई चूनौतीहरुको सामना पक्कै गर्नुपर्नेछ तर एक नम्बर बन्ने दौडमा हामी कहिल्यै गुणस्तरहीन, कपोकल्पित र भ्रामक सामाग्रीहरु प्रकाशन गर्ने छैनौ, यो हाम्रो प्रतिवद्धता हो । 


अनलाईन पत्रकारितामा देखिएको भाईरल बन्ने रोगले खबरकुञ्जलाई कहिल्यै छुने छैन भन्नेमा हामी स्पष्ट छौं । पत्रकारितामा आधारभूत मान्यता र न्यूनतम सर्तहरुको पालना गर्दै विश्वसनीयता पुष्टि भईसकेपछि मात्र हामी त्यस्ता सामग्री आम पाठकका लागि प्रकाशन गर्ने छौं । पाठकको आकर्षण र भ्यु बढाउने नाउमा हाम्रा सामाग्रीहरु र तीनका शिर्षकहरु कहिल्यै पनि अतिरञ्जित गरिने छैनन । हाम्रो विषयवस्तुको छनौट, विषय वस्तुमा हामीले प्रयोग गर्ने भाषा र समाचार सामाग्री प्रकाशन गर्ने हाम्रो सम्पादकीय भाषा शैली पुस्तिकाले सुदुरपश्चिमवासीहरुका साथै समग्र नेपाली र विश्वभरी नै नेपाली पाठकलाई तान्ने छ भन्नेमा हामीलाई कत्ति पनि शंका छैन ।

अनलाईन पत्रकारितामा हामीले गर्ने सभ्य प्रयोगले नै हाम्रा विज्ञापनदाताहरु हामीसँग आकर्षित हुनेछन भन्ने पनि विश्वास लिएका छौं । शुभारम्भको यो सुखद दिनमा हामी हाम्रो सञ्चालक संस्था अभी मिडिया इभेन्ट्स एण्ड स्पोर्टस प्रा.लि., सम्पादकीय टिमका साथीहरु, समाचार कक्षका उर्जावान र कर्मशिल पत्रकारहरु, शुभचिन्तकहरु, आम पाठक र विज्ञापन दाताहरुमा समेत पत्रकारिताको न्यूनतम मूल्य र मान्यताबाट कहिल्यै विचलित नहुने र निरन्तर सत्य तथ्य र निष्पक्ष समाचारका लागि भोकाएका र तिर्खाएका आम पाठककाको भोक र प्यास मेटाउने लक्ष्यबाट कहिल्यै बाटो नबिराउने प्रतिवद्धता व्यक्त गर्दछौं ।