धनगढी उपमहानगरपालिको राहत ठेक्कामा मिलोमतोको आशंकामा थप अनुसन्धान गर्दै अख्तियार
2020/05/18, 2:59
 
aktiyar

अख्तियारले  धनगढी उप–महानगरपालिकाको राहत ठेक्काको थप अनुसन्धान गरिरहेको जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले प्रारम्भिक अनुसन्धानका क्रममा मिलोमतो भएको आशंका देखिएको भन्दै विस्तृत अनुसन्धान थालेको हो । 

सञ्चार माध्यमहरुमा आएका समाचारलाई आधार मान्दै राहतको ठेक्कामा उजुरी कायम गरेर विस्तृत अनुसन्धानको तयारीमा लागेको अख्तियारको भनाई छ । टिप्पणी उठाएर केन्द्र पठाउने तयारीमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका निमित्त प्रमुख महेश पाण्डेले जानकारी दिए । 

अख्तियारको महेन्द्रनगर कार्यालयले एक दुई दिनमै टिप्पणी उठाएर केन्द्र पठाउने जनाएको छ । केन्द्रिय कार्यालयले केन्द्रबाटै वा महेन्द्रनगरमै कार्यरत अधिृकतहरुलाई अनुसन्धान अधिकृत तोक्नेपछि थप अनुसन्धान अगाडी वढ्ने अख्तियार कञ्चनपुरका सूचना अधिकारी टोपवहादुर विष्टले बताए । 

धनगढी उप–महानगरपालिकाले धनगढीको ठाकुर ट्रेड लिङ्कलाई दुई करोड ६१ लाखमा ठेक्का दिदै राहतको चामल लगायतका सामाग्री आपुर्ति गरेको थियो । अख्तियारले जेठ १ गते धनगढी उप–महानगरपालिकामा छापा हान्दै खरिद प्रक्रियाका सबै कागजात नियन्त्रणमा लिएको थियो ।