आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
2020/08/19, 8:41
 
kushe aausi

भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । आजको दिन उखेलेको कुश वर्षभरि प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता छ । सनातन धर्मावलम्वीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतिक मान्दछन् ।

आज बुवाको मुख हेर्ने दिन पनि हो । बुवालाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान गर्ने गरिन्छ । बुवा नहुनेहरू बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने गर्दछन् । काठमाण्डौको गोकर्णेश्वर महादेव मन्दिर, रसुवाको वेत्रावती लगायत ठाउँमा आज विशेष मेला लाग्ने गरेको भए पनि यो वर्ष कोरोनाको सङ्क्रमणका कारण भिडभाड र मेला नगर्न सरकारले निर्देशन दिएको छ ।

यसैबीच यो वर्षको कुशे औंसी प्रविधिको प्रयोग गरेर बुबाको मुख हेर्न डाक्टरले सुझाव दिएका छन् । अहिले कोरोना भाइरसको महामारी फैलिरहेकाले बुवाबाट टाढा रहेकाहरुले भेटेर भन्दा पनि प्रविधिको प्रयोग गर्न जनरल फिजिसियन डाक्टर रक्षा गौतमले सुझाव दिईन् । उनका अनुसार भिडियो हेरेर र फोन गरेर बुवाको मुख हेर्न सकिन्छ ।

प्राय बुढाबुढी दीर्घरोगी हुने र हामी जाँदा कोरोना पनि सँगै जानसक्ने भएकाले यो वर्ष प्रविधिको प्रयोगबाट नै परम्परा जोगाउन उनले आग्रह गरिन् ।  कोरोनाबाट जोगिन स्वास्थ्य मापदण्ड लागू गर्नेले पनि विचार गर्नैपर्ने अवस्था भएको डाक्टर गौतमको भनाइ छ । यस्तै बुवा नभएकाहरुले बुवाको सम्झनामा श्राद्ध र पूजा गर्नेहरुले पनि भिडभाड नगरी, मास्क लगाएर र धेरै मान्छे नबोलाइकन छोटो तरिकारले गर्न डाक्टरले जोड दिएका छन् ।