नमूना बसपार्क नगरपालिकालाई बसपार्क हस्तान्तरण
2020/08/20, 7:28
 
buspark

सुदूरपश्चिममै नमूना बसपार्कका रुपमा निर्माण सम्पन्न भएको टीकापुर बसपार्कलाई आज हस्तान्तरण गरिएको छ । संघीय शहरी आयोजना कार्यान्वयन इकाई कार्यालय धनगढीले टीकापुर नगरपालिकालाई बसपार्क हस्तान्तरण गरेको हो ।

कार्यालय आयोजना प्रमुख इञ्जिनियर परिक्षित कडरियाले नगरपालिकाका प्रमुख तपेन्द्र रावललाई बसपार्कको सम्पूर्ण कागजात र साँचो हस्तान्तरण गरेका हुन् । शहरी विकास मन्त्रालयको स्मार्ट सिटी कार्यक्रम अन्तर्गत ८ करोड २८ लाख रुपैयाँको बजेटमा टीकापुर बसपार्कको निर्माण सम्पन्न भएको हो ।

बसपार्कमा एकतले टर्मिनल भवन, सुविधा सम्पन्न यात्रु प्रतिक्षालय, रेष्टुरेन्ट, बस, ट्याक्सी तथा मोटरसाइकल पार्किङ्ग हुनेछन् । आयोजना प्रमुख कडरियाका अनुसार १ विघा १६ कठ्ठा क्षेत्रफलमा निर्माण भएको बसपार्कमा २७ वटा ठूलो बस, ५० वटा माइक्रोबस, ट्याक्सी र ५० वटा भन्दा बढी मोटरसाइकल पार्किङ गर्न सकिनेछ ।

बसर्पाकको दोश्रो चरणका लागि समेत ३ करोड रुपैयाँ विनियोजन भएको जानकारी दिँदै कडरियाले घेरापर्खाल तला थप्ने काम हुने बताए । ‘निर्माण कार्यमा ढिलाई भएका, कमजोर निर्माण भएका समाचारहरु आइरहेका बेला यो बसपार्क समयभन्दा अगाबै निर्माण सम्पन्न भएको छ’ इञ्जिनियर कडरियाले भने ‘यो हामी सबैको साझा सम्पत्ति हो, यसको संरक्षण अब नगरपालिकाले गर्नेछ ।’

टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले टीकापुरमा एउटा नयाँ सम्पत्ति थपिएको बताए । ‘यो बसपार्क नगरवासीको सम्पत्ति हो, नगरको आम्दानीको श्रोत हो’ रावलले भने ‘यसले अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्न ठूलो मद्दत पुग्नेछ ।’ निर्माण कम्पनीलाई धन्यवाद दिँदै रावलले अन्य निर्माण व्यवसायीले समेत बसपार्कबाट पाठ सिक्नुपर्ने बताए ।

बसपार्कको निर्माण राजेन्द्र रोयल जेभीले गरेको हो । निर्माण कम्पनीले कार्यालयसँग २०७७ साउन २ गतेभित्र सम्पन्न गर्ने गरी २०७५ माघ २ गते सम्झौता गरेको थियो । कम्पनीले सम्झौता अवधि अघि नै २०७७ बैशाख २६ गते निर्माण सम्पन्न गरेको थियो । समयावधि अघि नै निर्माण सम्पन्न गरेर पुरुस्कार वाफत कम्पनीले बोनस समेत प्राप्त गरेको थियो ।