निकै अनौठो मान्न मिल्ने युरोपेली क्लब फुटबलको सिजनले आइतबार अन्ततः पूर्ण विराम लिँदै छ । अवसर छ, युरोपेली च्याम्पियन्स लिग फुटबलको फाइनल । उपाधि भिडन्तमा ओर्लिंदै छन्, पेरिस सेन्ट जर्मेन (पीएसजी) र बायर्न म्युनिक । पीएसजी फ्रान्सेली च्याम्पियन हो भने बायर्न जर्मनीको । एक प्रकारले यो फ्रान्सविरुद्ध जर्मनी पनि हो । र, स्टाडियो डा लुइजमा हुने फाइनल जित्ने टिमका लागि यो विश्वकपको उपाधिभन्दा कम हुने छैन, सके त्यो भन्दा पनि बढी ।
फाइनलको नतिजा निर्धारण गर्न सक्ने पाँच तत्व यस प्रकार हुन सक्छन्ः
१. दुवै टिम गज्जब लयमा छन्
पछिल्लो समय आ–आफ्नो घरेलु लिगमा पीएसजी र बायर्नका लागि चुनौती पेस गर्ने टिम नै छैनन् भन्दा हुन्छ । यो दुवै देशको घरेलु लिगको एक खास प्रवृत्ति पनि हो । यसको कारण यी दुई गज्जब लयमा रहनु पनि हो अनि यसको पनि भित्री कारण दुवै टिम उत्तिकै बलियो हुनु हो । फ्रान्समा कोरोना भाइरस संक्रमणको महामारीबीच लिग रोकिँदा पीएसजी १२ अंकले अगाडि थियो । लिग स्थगित गरेर पीएसजीलाई विजेता पनि घोषित गरियो ।
यो पीएसजीले लिग वानको उपाधि जितेको पछिल्लो आठ वर्षमा सातौं पल्ट हो । बायर्नको प्रदर्शन पनि कम्तीको रहेन । जर्मन बुन्डेस लिगामा बायर्नले लिग जित्दा दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डमाथि १३ अंकको अग्रता कायम राखेको थियो ।
बायर्नले घरमा लिग जितेको यो लगातार आठौं पल्ट हो । अहिले बायर्नले सबै खाले प्रतियोगिता जोडेर पछिल्ला खेलमा २८ जित र एक बराबरी निकालेको छ । के यो उत्कृष्ट प्रदर्शनको प्रमाण होइन र ? फाइनलसम्मको यात्रा त बायर्नका लागि अझ आरामदायी रह्यो । अझ भनौं उत्कृष्ट रह्यो । अथवा यसलाई सबैले चर्चा गरेको विषय रह्यो भन्दा पनि हुन्छ । यसपल्टको च्याम्पियन्स लिगमा बायर्नले १० खेल खेलेको छ । यस क्रममा गरेको गोल संख्या छ, ४२ । अविश्वसनीय छ नि यो । त्यसमा बार्सिलोनामाथि क्वाटरफाइनलमा प्राप्त ८–२ को जित न कसैले बिर्सन सकेको छ, न त यसले ल्याउने तरंग चाँडै रोकिने छ । यही चरणमा बरू पीएसजीले एटलान्टालाई हराउन केही संघर्ष गर्नुपरेको थियो ।
२. दुवैको आक्रमण अब्बल दर्जाको
बायर्नको आक्रमण टिकेको छ, विश्वकै सबैभन्दा अचुक मान्न मिल्ने खेलाडी रोबर्ट लेवान्डोवस्कीमा । उनलाई विश्व फुटबलले पाएको सबैभन्दा उत्कृष्ट नम्बर ९ मानिएको छ । यी पोलिस स्ट्राइकरले यो सिजन ५५ गोल गरिसकेका छन् । उनले साँच्चै यति धेरै गोल कसरी गरे त, ताजुब मान्नुपर्छ । यत्तिको गोल यो सिजन युरोपमा कोही पनि खेलाडीले गर्न सकेको छैन अनि उनलाई आक्रमणमा साथ दिने अर्का दुर्ई बेजोड खेलाडी छन्, थोमस मुलर र सर्ज जेनाब्री ।
जेनाब्री पनि आफ्नो खेलजीवनको मधुमासमा छन् भन्दा हुन्छ । यसपल्टको च्याम्पियन्स लिगमा मात्रै यी जर्मन खेलाडी ९ गोल गरिसकेका छन् । सेमिफाइनलमा लियोनविरुद्ध त उनी अझ पो तिखारिएको देखिए । पीएसजीसँग भने नेयमर छन् । उनी उत्कृष्ट खेलाडी हुन् । यसमा शंका छैन, तर उनले कति बेला कस्तो खेल्ने हुन्, त्यो भने निश्चित हुन्न । उनी साँच्चै राम्रा खेलाडी हुँदैन थिए त यी नेयमर विश्वकै सबैभन्दा महँगा हुने थिएनन् ।
यी २८ वर्षीय ब्राजिली खेलाडी जुनसुकै मूल्यमा पनि च्याम्पियन्स लिग जित्न चाहन्छन् । लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो जत्तिको खेलाडी हो भनेर सबैले भने पनि आखिरमा नेयमरले यो मैदानमै प्रमाणित गर्न सकेका छैनन् । त्यसैले उनमा उम्लिएर पोखिन लागेको जत्तिको जोस हुनेछ । त्यसो त उनले सन् २०१५ मा पनि च्याम्पियन्स लिग सफलताको स्वाद चाखिसकेका छन्, तर फरक परिस्थितिमा । र, उनलाई सहयोग गर्ने मुख्य खेलाडी हुनेछन्, केलियन एमबाप्पे । नेयमर र एमबाप्पे बायर्नका लागि घातक हुन सक्छन् ।
३. दुवैको डिफेन्स कमजोर छ
आक्रमण गर्दा यी दुई टिम जहाँ निकै राम्रो भन्न मिल्ने खालका छन् । त्यहीं यी दुवै टिमको डिफेन्स भने त्यसको छेउछाउ छैन । अझ भनौं, कमजोर नै छ । दुवै टिमसँग आँखा चिम्लेर विश्वास गर्न सकिने डिफेन्स छैन । बायर्नले लियोनमाथि प्राप्त जित एक प्रकारले आरामदायी त रह्यो, तर अर्को प्रकारले विश्लेषण गर्दा बायर्न धन्न–धन्न जोगिएको हो, खराब डिफेन्सका कारण । लियोनले गोल गर्न नसकेको मात्र हो, नत्र उसले बायर्नको रक्षापंक्तिमा कसरी प्वाल पार्न सकिन्छ, त्यो त देखाएकै हो ।
चोटमुक्त हुँदै जेरोमी बोएटिङ बायर्नको सेन्टर ब्याकमा फर्कने निश्चितजस्तै छ । तर यो डिफेन्सलाई नेयमर र एमबाप्पेले मज्जाले तोड्न सक्छन् । बरु पीएसजीको डिफेन्स तुलनात्मक रूपमा केही ठीक छ । यो टिमको राम्रो पक्ष के हो भने डिफेन्सका चार खेलाडीसम्म पुग्न अगाडि मिडफिल्डमै मारक्विन्हो र एन्डेर हेरेरालाई पन्छाउनुपर्छ । सेन्टर ब्याकमा प्रेस्नेल किमपेम्बे र थियागो सिल्भाले मोर्चा सम्हाल्ने छ । प्रश्न सिल्भाको उमेरलाई लिएर हुनेछ किनभने उनी ३५ वर्ष भइसके । यो त केही ढल्केको उमेर हो नि फुटबलमा ।
४. युवा खेलाडी निर्णायक
पीएसजीसँग एमबाप्पेका रूपमा त्यस्ता खेलाडी छन्, जसले धेरथोक फरक पार्न सक्छन् । उनी भर्खर २१ वर्षका भए, तर उनले यही उमेरमा च्याम्पियन्स लिग जित्न सक्छन्, जुन मेसी र रोनाल्डो दुवैले सकेका थिएनन् । उनका लागि यो प्रेरणाको तत्त्व हुनेछ । साँच्चै पीएसजीले च्याम्पियन्स लिग जितेमा उनले दुर्लभ इतिहास आत्मसात् गर्नेछन् र यो हो, विश्वकप र च्याम्पियन्स लिग जितेका खेलाडीको सूचीमा प्रवेश । यो सूची फेरि लामो पनि छैन ।
दबाब बढी हुने खेलमा एमबाप्पेले राम्रो खेलेको प्रमाण पनि । बायर्नले यही पृष्ठभूमिमा आफूसँग अल्फान्सो छ भनेर दाबी गर्न सक्छ । उनी भर्खर किशोर उमेरमै छन्, तर यी फुलब्याकले आफ्नो उमेरभन्दा धेरै गुणा बढी खेल देखाइसकेका छन् । उनलाई विश्व फुटबलकै उत्कृष्ट लेफ्टब्याक भन्न सुरु भएको छ । च्याम्पियन्स लिगको फाइनल खेल्ने उनी पहिलो क्यानडेली खेलाडी हुने हुनेछन् । यो पनि त उनका लागि उत्तिकै प्रेरणादायी तत्व हुनेछ ।
५. इतिहास भने बायर्नको पक्षमा
बायर्न छैटौं च्याम्पियन्स लिग उपाधिको अभियानमा छ । बायर्नले दसौं पल्ट च्याम्पियन्स लिगको फाइनल खेल्दैछ । उसले सन् २०१३ मा अन्तिम पटक यो प्रतियोगिताको उपाधि जितेको थियो । पीएसजीले भने पहिलो पटक च्याम्पियन्स लिगको फाइनल खेल्दैछ । रमाइलो के भने दुई टिमबीचको ‘हेड टु हेड’ लाई आधार मान्ने हो भने यसमा पीएसजी नै अगाडी छ । बायर्नमाथि पीएसजीले ५ स्पष्ट जित निकालेको इतिहास छ । सायद, इतिहास फाइनलमा बायर्नको पक्षमा हुनेछ ।