कुहिएको चामल प्रकरणः छानविन समितिको प्रतिवेदन कार्यपालिकामा पेस हुदैं 
2020/05/19, 9:39
 
chamal

धनगढी उप–महानगरपालिकाले राहतमा कुहिएको चामल वितरण गरेको विषयमा गठन भएको छानविन समितिले तयार पारेको प्रतिवेदन कार्यपालिकाको वैठकमा आज पेस हुने भएको छ । राहत वितरणमा कुहिएको र किरा परेको चामल वितरण भएपछि गठन गरिएको छानबिन समितिले तीन दिन लगाएर तयार पारेको प्रतिवेदन आज दिउँसो दुई बजे बस्ने कार्यपालिकाको वैठकमा पेस हुने भएको हो ।

छानविन समितिका संयोजक मुरारी अधिकारीका अनुसार छानविन समिति कार्यपालिका बैठकबाट गठन गरिएकाले त्यसैले कार्यपालिका बैठकमा नै प्रतिवेदन पेस हुने वताए ।जेठ ३१ गते बसेको धनगढी उप–महानगरपालिका कार्यपालिका बैठकले जेठ १ गतेदेखि काम गर्ने गरी तीन दिन भित्र राहत चामलका बिषयमा उठेका कुरामा छानविन गर्न ५ सदस्यीय समिति गठन गरिएको थियो । सार्वजनिक नगरिएको प्रतिवेदनमा छानबिन समितिले खाद्यान्न आपुर्तिकर्तालाई हदैसम्मको कारवाही गर्न सुझाव दिएको छ । समितिले तयार पारेको प्रतिवेदनको सुझावमा खाद्यान्न आपुर्तिकर्ताले कोरोना महामारीको समयमा पनि जनस्वास्थ्यलाई प्रतिकुल प्रभाव पार्ने खाद्यान्न आपुर्ति गरेकोले नेपालको प्रचलित कानुन अनुसार हदैसम्मको कारवाही गर्न सिफारिस गरिएको छ । 

छानविन समितिले दुई दिन लगाएर ५  वडाहरुमा वितरणका लागि राखिएको चामलको स्थलगत अनुगमन गर्दै चार वडामा कुहिएको र एक वडामा राम्रो चामल पाएको थियो ।  छानविन समितिले चार वडामा एक हजार तीन सय ५१ कट्टा  कुहिएको र किरा परेको चामल फेला पारेको थियो । नम्बर ४ मा २ सय ६९ कट्टा, वडा नम्वर ५ मा ८ सय ८७ कट्टा, वडा नम्बर १ मा ९ मा ९५ कट्टा र वडा नम्बर २ मा १०० कट्टा कुहिएको चामल पाईएको छानबिन समितिले जनाएको छ ।

वडा नम्बर १२ मा वितरण गरिएको चामल राम्रो र खान योग्य रहेको समितिको भनाई थियो । १६ वडामा वितरण गरिएको चामल भने राम्रो भएका त्यहाँ वितरण गर्दा कुनै समस्या र गुनासो आएको छैन् । छानविन समितिले सवै विषयमा छानविन र अनुगमन गरेपछि प्रतिवेदन तयार पारिएको छ । छानविनको प्रतिवेदनमा सम्झौता अनुसार चामल आपुर्ति नगरेको, खाद्यान्न आपुर्तिका लागि खोलिएको टेण्डरका केही वुँदाहरु पलना नगरेको, ईस्पेफिकेशन नगरिएको, खाद्यान्नको नमुना परिक्षण नगरिएको, मध्य मसिनो चामल आपुर्ति गर्नुपर्नेमा केही मोटो चामल आपुर्ति गरेको, सार्वजनिक खरिद ऐनका केही वुँदाहरु पालना नगरेको लगायत निष्कर्ष छानविन समितिले निकालेको छ । 

वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारी संयोजक रहेको छानविन समितिमा वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐर, वडा नम्बर ९ का अध्यक्ष प्रेमबहादुर भण्डारी, वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशी र कार्यपालिका सदस्य गिता पन्त सदस्य रहेका छन् । त्यसैगरी धनगढी उप–महानगरपालिकाको कृषि शाखा प्रमुख लोकराज उपाध्याय सदस्य सचिव रहेका छन ।