काठमाडौंबाट बैतडी सरुवा भएका प्रहरीमा कोरोना संक्रमण पुष्टि भएकोे छ। गत साउन २९ गते काठमाडौंबाट बैतडी सरुवा भएका एक प्रहरी जवान र एक अर्का प्रहरी जवानकी ६ महिने छोरीमा पनि कोरोना पुष्टि भएको हो।
आइतबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक प्रहरी जवानसहित जिल्लाका ४ जनामा कोरोना पुष्टि भएको बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए। काठमाडौंबाट सरुवा भई इलाका प्रहरी कार्यालय पाटनमा आएका ३१ बर्षीय प्रहरी जवान, काठमाडौंबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालयमा आएकी प्रहरी जवानकी ६ महिने छोरी, सुर्नया गाउँपालिकाका ३९ वर्षीय पुरुष र दशरथचन्द नगरपालिका ९ का २६ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।
कोरोना पुष्टि भएका प्रहरी जवानको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ भने ६ महिने बालिका आफ्नै आमासँग क्वारेन्टाइनमा रहेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए।
यस्तै सुर्नया र दशरथचन्द नगरपालिका ९ का कोरोना पुष्टि भएका पुरुष दुवै जना भारतबाट फर्केर घरमै बसिरहेका स्वास्थ्य कार्यालयका कोभिड १९ सम्र्पक व्यक्ति जोशीले जानकारी दिए। होम क्वारेन्टाइनमा बस्ने भन्दै उनीहरु घर फर्केका र घर फर्केपछि उनीहरुमा कोरोना पुष्टि भएको हो। भारतबाट फर्केर सिधै घर पुगेकाहरुमा कोरोना देखिएपछि समुदायमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको जोशीले बताए। जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जिल्लामा भारतबाट फर्केकालाई अनिवार्य संस्थागत क्वारेन्टाइनमा राख्ने निर्णय गरेको भए पनि सो निर्णय कार्यान्वयन नहुँदा समुदायमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको हो।