पहिलो पटक गत चैतमा कोरोना संक्रमित भेटिएको सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा समुदाय स्तरमा संक्रमण फैलिन थालेको छ।
धनगढी उप–महानगरपालिकामा अहिले सम्म एक सय ८२ जनामा कोरोना पुष्टि भएकोमा १२ प्रतिशत सामुदायिक अथात् ‘ट्राभल हिस्ट्री’ नभएका रहेका छन्।
उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले हाल सम्म २३ जनामा सामुदायिक संक्रमण देखिएको बताए। आईतबार संक्रमण पुष्टि भएका ६ जनामा पनि तीन जनामा सामुदायिक संक्रमण पुष्टि भएको उनले बताए।
उनीहरुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, विभिन्न संघसंस्थामा आवद्ध व्यक्ति, बैँक र निर्माण सेवाका कर्मचारी रहेका छन्। धनगढीपछि कैलालीको टीकापुर नगरपालिकामा झण्डै ९ प्रतिशत सामुदायिक संक्रमण देखिएको छ।
स्वास्थ्य कार्यालय कैलालीका अनुसार टीकापुरमा एक सय २० जना संक्रमित भेटिएकोमा १० जनामा सामुदायिक संक्रमण पुष्टि भएको छ। जुन ८ दशमलव ३ प्रतिशत हुन आउँछ।
यस्तै गोदावरी नगरपालिकामा चार सय ४६ संक्रमित भेटिएकोमा ७ जना अथात एक दशमलव ५६ प्रतिशत, गौरीगंगा नगरपालिकामा एक सय ७९ संक्रमित रहेकोमा ९ जना अथात पाँच दशमलव ०८ प्रतिशत, घोडाघोडीमा ४७ संक्रमित भेटिएकोमा ६ दशमलव ३८ अथात तीन जनामा सामुदायिक संक्रमण पुष्टि भएको छ।
दुई सय ४६ जना संक्रमित रहेको लम्कीचुहामा शुन्य दशमलव ८१ प्रतिशत (दुईजना), कैलारी गाउँपालिकामा ४२ संक्रमित भेटिएकोमा ४ दशमलव ७६ प्रतिशत (तीन जना) र जोशीपुरमा १४ जना संक्रमित भेटिएकोमा ७ दशमलव १४ प्रतिशत (एकजना) मा सामुदायिक संक्रमण देखिएको छ।
गत चैतमै स्थानीय स्तरमा कोरोना संक्रमण देखिएको कैलालीमा अहिले समुदायमा संक्रमण देखिन थालेको हो। भारतबाट फर्किनेहरुको क्वोन्टिनमा उचित व्यवस्थापन नगरी सोझै घर पठाउनु, स्वास्थ्य सुरक्षाका मापदण्ड पालन नगर्नु लगायतका कारण समुदाय स्तरमा संक्रमण फैलिएको जनाईएको छ।