पहिरोले विद्युतको नहर भत्काएपछि गाउँ अन्धकारमा
2020/08/24, 2:31
 
bidhut

दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर १ को सजानी मेलखेत लघुजलविद्युतको नहर पहिरोले भत्किएपछि गाउँ पुरै अन्धकारमय भएको छ। भदौ २ गते आएको अबिरल वर्षापछिको पहिरोले लघुुजलविद्युतको नहर भत्काएको हो।  १८ दशमलव ५ किलोवाट क्षमताको लघुजलविद्युत मालिकार्जुन गाउँपालिका वडा नम्बर १ को १२३ घरधुरीमा विद्युत पुगेको थियो।

वर्षाका कारण नहर भत्किएपछि अहिले पुरै बस्ती अन्धकार भएको स्थानीय श्यामसिह सामन्तले बताए। ‘झण्डै ८५० मिटरको नहर पहिरोले बगाएको छ। वरपाली गाडबाट निकालिएको विद्युतको मूल नहर भत्किएको हो। लघुजलविद्युतको मुहान क्षेत्रमा तडबन्ध लगाइएको भएपनि पूरैखोलाले बगाएको छ’ उनले भने। 

लघु जलविद्युतको नहर पुरै अवरुद्ध भएपछि स्थानीय अन्धकारमा बस्न बाध्यछन्। स्थानीय गणेशसिह सामन्तका अनुसार सरकारले तत्काल राष्ट्यि प्रसारण लाईनको विद्युत जडान गर्न नसके अन्धकारमा बस्नुपर्ने अवस्था आएको छ। उनले भने, ‘अहिले नै लघुजलविद्युतको नहर निर्माण हुन सक्ने अवस्था छैन्, नेपाल विद्युत प्राधिकरणको राष्ट्यि प्रसारण लाईन जोड्न माग गर्छु।’ 

एकातिर बाढी पहिरोले गाउँ जोखिममा परेको छ। अर्कोतिर बत्ति नै नभएपछि गाउँ अन्धकारमय भएको छ। बिजुली नभएपछि अहिले स्थानीयले पुनः टुकीको सहारा लिनुपरेको छ ।