सुदूरपश्चिमका थप ११४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५५१० पुग्यो
2020/08/24, 8:31
 
corona

सोमवार सुदूरपश्चिम प्रदेशका थप एक सय १४ कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा सोमबार एक सय १४ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ६९ जनाको कोरोना परीक्षण भएकोमा ५७ जनामा संक्रमण देखिएको बताए ।

उनका अनुसार कैलालीका २९, अछामका १८, डोटीका ६, कञ्चनपुर र बझाङका दुई÷दुई जनामा संक्रमण देखिएको छ। कैलालीको धनगढीका १३ जना, टीकापुरका १४ जना र मोहन्याल गाउँपालिकाका दुई जनामा संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए ।  अछामको मंगलसेनका १४ जना, साँफेवगरका तीन जना र एक जना स्थानीय तह नखुलेका पुरुषमा पनि संक्रमण देखिएको छ । डोटीको आदर्श गाउँपालिकाका चचार र बोगटानका दुई जना, कञ्चनपुरको भीमदत्त नगरपालिका, बेल्डाँडी गाउँपालिकाका एकरएक जना र बझाङका दुई जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

उता डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार एक सय ६ जनाको कोरोना परीक्षण भएकोमा ५७ जनामा संक्रमण पुष्टि भएको हो ।  डडेल्धुरा अस्पतालका प्रयोगशाला ईन्चार्ज ईश्वरीप्रसाद भूषालका अनुसार कैलालीको घोडाघोडी नगरपालिकाका ३१ जना, टीकापुर नगरपालिकाका ८ जना, गौरीगंगा नगरपालिकाका ७ जना र जानकी गाउँपालिकाका एक जना गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८ जना, कञ्चनपुरकै महाकाली नगरपालिकाका एक जना र बैतडीमा नेपाली सेनामा कार्यरत एक जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज भूषालले जानकारी दिए । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार पाँच सय १० पुगेको छ ।