कञ्चनपुरको महाकाली नगरपालिका ८ देउरालीमा प्रहरीमाथि हातपात गर्ने चार जना सोमबार पक्राउ परेका छन् । स्थानीय गणेश खत्रीलाई कुटपिट गरिएपछि सुन्दरनगर पुगेका प्रहरी सहायक निरीक्षक दानसिंह धामी र प्रहरी हवल्दार रमेशराज भारतीयमाथि हातपात गर्दै बर्दी च्यातेका हुन् ।
खत्री सित कुटपिटको विषयमा सोधपुछ गर्न खोज्दा प्रहरी सहायक निरीक्षक धामीसहित हवल्दार भारतीमाथि हातपात गरिएको हो । इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक लालबहादुर बमले सोधपुछका क्रममा प्रहरीलाई कुटपिट गरिएको बताए । उनका अनुसार प्रहरीमाथि हातपात गरिएपछि स्थानीय शिव सुनार, प्रेम सुनार, अनिल सुनार र राजेश सुनारलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरु १८ देखि २० वर्षसम्मका छन ।
उनीहरुको कुटपिटबाट खत्री बेहोस छन् । प्रहरीले एम्बुलेन्स खोजेर खत्रीलाई उपचारका लागि धनगढी पठाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले प्रहरीमाथि हातपात भएपछि पक्राउ गरिएको बताए ।
‘त्यहाँ शिव मन्दिर नजिक क्षेत्रमा स्थानीयमाथि कुटपिट भएपछि प्रहरी जानकारी भएर पछि त्यहाँ गएको हो, सम्झाउँदा प्रहरीमाथि हातपात भयो’, उनले भने, ‘हातपात गर्ने केटाहरुसित खत्रीको झगडा भएको रहेछ ।’ प्रहरीले पक्राउ परेका चारै युवामाथि सार्वजनिक अपरापधको मुद्दा चलाउने प्रहरी नायब उपरीक्षक थापाले बताए ।