कुहिएको चामल प्रकरणः कार्यपालिका बैठक सुरु, छानविन समितिको प्रतिवेदनमाथि छलफल हुदैं 
2020/05/19, 3:16
 
meeting

धनगढी उप–महानगरपालिकाको कार्यालयपालिकाको बैठक सुरु भएको छ । राहतमा कुहिएको चामल वितरण गरेको विषयमा गठन भएको छानविन समितिले तयार पारेको प्रतिवेदन विषयमा निर्णय लिनका लागि कार्यपालिकाको वैठक सुरु भएको हो । राहत वितरणमा कुहिएको र किरा परेको चामल वितरण भएपछि गठन गरिएको छानबिन समितिले तीन दिन लगाएर तयार पारेको प्रतिवेदनमा  कार्यपालिकाको वैठकमा छलफल भईरहेको छ । 

जेठ ३१ गते बसेको धनगढी उप–महानगरपालिका कार्यपालिका बैठकले जेठ १ गतेदेखि काम गर्ने गरी तीन दिन भित्र राहत चामलका बिषयमा उठेका कुरामा छानविन गर्न ५ सदस्यीय समिति गठन गरिएको थियो । सार्वजनिक नगरिएको प्रतिवेदनमा छानबिन समितिले खाद्यान्न आपुर्तिकर्तालाई हदैसम्मको कारवाही गर्न सुझाव दिएको छ । समितिले तयार पारेको प्रतिवेदनको सुझावमा खाद्यान्न आपुर्तिकर्ताले कोरोना महामारीको समयमा पनि जनस्वास्थ्यलाई प्रतिकुल प्रभाव पार्ने खाद्यान्न आपुर्ति गरेकोले नेपालको प्रचलित कानुन अनुसार हदैसम्मको कारवाही गर्न सिफारिस गरिएको छ । छानविन समितिले सवै विषयमा छानविन र अनुगमन गरेपछि प्रतिवेदन तयार पारिएको छ ।

छानविनको प्रतिवेदनमा सम्झौता अनुसार चामल आपुर्ति नगरेको, खाद्यान्न आपुर्तिका लागि खोलिएको टेण्डरका केही वुँदाहरु पलना नगरेको, ईस्पेफिकेशन नगरिएको, खाद्यान्नको नमुना परिक्षण नगरिएको, मध्य मसिनो चामल आपुर्ति गर्नुपर्नेमा केही मोटो चामल आपुर्ति गरेको, सार्वजनिक खरिद ऐनका केही वुँदाहरु पालना नगरेको लगायत निष्कर्ष छानविन समितिले निकालेको छ । 

वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारी संयोजक रहेको छानविन समितिमा वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐर, वडा नम्बर ९ का अध्यक्ष प्रेमबहादुर भण्डारी, वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशी र कार्यपालिका सदस्य गिता पन्त सदस्य रहेका छन् । त्यसैगरी धनगढी उप–महानगरपालिकाको कृषि शाखा प्रमुख लोकराज उपाध्याय सदस्य सचिव रहेका छन ।