कुहिएको चामल प्रकरणमा छानविन समितिको प्रतिवेदनः प्रमुख प्रशासकीय अधिकृतलाई कारवाहीको सिफारिस, अन्य कर्मचारीलाई सचेत(भिडियो सहित)
2020/05/19, 8:28
 
chamal

धनगढी उप–महानगरपालिकाले राहतमा कुहिएको चामल वितरण गरेको विषयमा गठन भएको छानविन समितिले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटालाई कारवाहीको सिफारिस गरेको छ । तर टेण्डर प्रक्रियामा संग्लन अन्य कर्मचारीलाई पनि भने सचेत रहन निर्देशन दिईएको छ ।

छानविन प्रतिवेदनको निष्कर्ष र सुझाव रहेको भाग ४ को उपभाग २ को ४ नम्बर वुँदामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतले सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार काम नगरेको भन्दै कारवाहीका लागि सिफारिस गरिएको स्रोतले जनाएको छ । धनगढी उपमहानगरपालिकाले राहत सामाग्री (खाद्यान्न चामल) खरिद प्रकृयामा धनगढी उप–महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम जिम्मेवारी पुरा गरेको नदेखिएकोले निजलाई सार्वजनिक खरिद ऐन ०६३ को दफा ६१ (क) बमोजिम कारवाही हुन अख्तियार प्राप्त अधिकारी समक्ष सिफारिस गर्ने भनेर छानविन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सार्वजनिक खरिद ऐन ०६३ को आचरण सम्बन्धी परिच्छेद–८ दफा ६१ मा सार्वजनिक खरिद कार्यमा संलग्न पदाधिकारीको आचरणः सार्वजनिक निकायको खरिद योजना तर्जुमा गर्ने, खरिद कारबाही सञ्चालन गर्ने, खरिद सम्झौता कार्यान्वयन गर्ने वा खरिद सम्बन्धी तोकिए बमोजिमको अन्य काम गर्ने कार्यमा संलग्न कुनै पदाधिकारीले देहाय बमोजिमको आचरण पालना गर्नु पर्नेछ लेखिएकोमा त्यसको (क) मा खरिद कारबाहीमा बोलपत्रदाताको स्वच्छ प्रतिस्पर्धा हुने गरी आफ्नो कर्तव्य निष्पक्ष ढङ्गले पालना गर्ने लेखिएको छ । तर छानविन समितिले प्रमुख प्रशासकीय अधिकृतले निष्पक्ष ढंगले कर्तव्य पालना नगरेकोले कारवाहीको सिफारिस गरेको जनाएको छ । 

राहत वितरणमा कुहिएको र किरा परेको चामल वितरण भएपछि गठन गरिएको छानबिन समितिले तीन दिन लगाएर तयार पारेको प्रतिवेदनमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सापकोटालाई कारवाहीको लागि सिफारिस गर्दा टेण्डर प्रक्रियामा संग्लन अन्य कर्मचारीहरुको भने कुनै दोष नरहेको छानविन समितिको भनाई छ ।  
कर्मचारीहरुले कार्यालय प्रमुखलाई राय सुझाव दिई ऐन नियम अनुसार सामेल हुनुपर्नेमा कर्मचारीले त्यसो नगरेको भन्दै आगामी दिनमा ऐन नियमको परिधिभित्र रहन सचेत गरेको छ । राहत सामाग्री (खाद्यान्न चामल) खरिद प्रकृयामा संलग्न कार्यालयका कर्मचारीहरु समेतले उल्लेखित खरिद प्रकृयामा भएका कमी कमजोरीका बारेमा कार्यालय प्रमुखलाई राय सुझाव सल्लाह दिई ऐन नियम अुनसार खरिद प्रकृयामा सामेल हुनुपर्नेमा त्यस किसिमको कार्य ती कर्मचारीबाट भए गरेको नपाइएकोले अव उप्रान्त कार्यालयबाट हुने त्यस किसिमका कार्यमा संलग्न हँुदा ऐन नियमको परिधि भित्र रही मात्र संलग्न हुन नगर कार्यपालिकाले निर्देशन दिने– छानविन प्रतिवेदनमा लेखिएको छ । 

वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारी संयोजक रहेको छानविन समितिमा वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐर, वडा नम्बर ९ का अध्यक्ष प्रेमबहादुर भण्डारी, वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशी र कार्यपालिका सदस्य गिता पन्त सदस्य रहेका थिए । त्यसैगरी धनगढी उप–महानगरपालिकाको कृषि शाखा प्रमुख लोकराज उपाध्याय सदस्य सचिव रहेका थिए ।