कुहिएको चामल प्रकरणमा भएका ७ गल्तीहरु
2020/05/19, 8:40
 
chamal

धनगढी उप–महानगरपालिकाले राहतमा कुहिएको चामल वितरण गरेको विषयमा गठन भएको छानविन समितिले छानविनका क्रममा विभिन्न ७ वटा गल्ती भएको उल्लेख गरेको छ । टेण्डरको प्रक्रियादेखि वितरणसम्म भएका विभिन्न गल्तीहरुलाई छानविन समितिले आफ्नो प्रतिवेदनमा समावेश गरेको छ । छानविन समितिले पाएका सात वटा गल्तीहरु यस प्रकार रहेका छन् । 

गल्ती नम्बरः १
धनगढी उ.म.न.पा. को मिति २०७७।०१।११ गतेको बोलपत्र सूचनाको प्रकरण नम्बर १७ मा उल्लेखित गुणस्तरयुक्त खाद्य सामाग्री उपलब्ध गराउनु पर्ने शर्त विपरीत आपूर्तिकर्ताले केही परिणाम अखाद्य सामाग्री उपलब्ध गराईएको देखियो ।

गल्ती नम्बरः २
धनगढी उ.म.न.पा. र खाद्य आपूर्तिकर्ता फर्म बिच मिति २०७७।०१।१५ गते भएको आपूर्ति सम्बन्धि सम्झौताको प्रकरण नम्बर४ बमोजिम मध्यम मसिनो चामल उपलब्ध गराउनु पर्नेमा मध्यम मसिनो चामल आपूर्ति नगरी केहि मात्रमा मोटा चामल समेत आपूर्ति गरेको पाइएको छ ।

गल्ती नम्बरः ३
धनगढी उ.म.न.पा. र खाद्य आपूर्तिकर्ता र्फम बिच मिति २०७७।०१।१५ गते भएको सम्झौता को प्रकरण नम्बर १६ मा उल्लेखित सम्झौता बुँदामा आपूर्तिकर्ताले धनगढी उप महानगरपालिकालाई खाद्य सामाग्री उपलब्ध गराउदा न.पा.ले उक्त खाद्य सामाग्री बुझ्नुपूर्व सम्बन्धित निकायबाट गुणस्तर प्रमाणित गरी गुणस्तर प्रतिवेदन समेत पेश गर्नुपर्नेमा पेश गरेको प्रतिवेदन केवल प्रयोगशालामा प्राप्त नमूनाका हकमा मात्र लागुहुने भन्ने लेखिएको तर उप महानगरपालिकामा आपूर्ति भएको खाद्य सामाग्रीको हकमा सम्बन्धित निकायबाट गुणस्तर प्रमाणित गरिएको नपाइएको छ । 

गल्ती नम्बरः ४
धनगढी उप महानगरपालिकाले राहत खाद्य सामाग्री खरिद प्रकृयामा कार्यालयको मूल्याङ्कन समिति गठन गर्दा सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४७ (१) विपरित गठन गरेको पाईयो । 

गल्ती नम्बरः ५
खाद्य सामाग्री खरिद प्रकृया पश्चात आपूर्ति गरिएको खाद्य सामाग्री (चामल) को सार्वजनीक खरिद नियमावली २०६४ को नियम ११५ को उपनियम १ बमोजिम प्राविधिक स्पेसिफिकेसन र गुणस्तर बमोजिम भए नभएको निरीक्षण वा परिक्षण गर्नु गराउनु पर्नेमा सो कार्य पनि भए गरेको नपाइएको परिणामतः न्यून गुणस्तरिय खाद्य सामाग्री (चामल) आपूर्ति हुन आएको पाईयो ।

गल्ती नम्बरः ६
मिति २०७७।०१।३० गते आपूर्तिकर्ता फर्मले धनगढी उपमहानगरपालिका लाई उपलब्ध गराएको खाद्य सामाग्री   (चामल) धनगढी उप महानगरपालिका वडा नं. ४ मा राहत वितरण गर्ने क्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीबाट खटिएको बजार अनुगमन ठोलिले आपूर्ति गरीएको खाद्य सामाग्री उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ (२) (क) (ठ) को कसुरमा सोही ऐनको दफा ३९ (१) ख बमोजिम वास्तविक गुणस्तर नभएको, उपभोग गर्न नमिल्ने खाद्य सामाग्री (चामल) आपूर्ति गरेको कसुरमा रु. २,००,००० ।– (दुई लाख) तत्काल जरीवाना गरेको पाईयो ।

गल्ती नम्बरः ७ 

खाद्यान्न खरिद प्रकृयामा तयार भएका केहि कागजातहरुमा यर्थाथ मिति फरक परी टाईपिङ ईरर  समेत भएको देखिएको छ । 
(छानविन समितिको प्रतिवेदनमा लेखिएका कुराहरुको आधारमा)