परदेशिए पनि सुदुरपश्चिमेलीहरुले विर्सेनन् आफ्नो मौलिक संस्कृति  (भिडियो सहित)
2020/08/27, 1:13
 
gaura

हरि जोशी (अमेरिका)-  नेपालको सुदूरपश्चिममा प्रदेशमा मनाईने यो मौलिक पर्व आजभोलि नेपाल बाहिर परदेशमा समेत पनि मनाउन थालिएको छ । विभिन्न कार्यको सिलसिलामा देश छोडी परदेशमा बसिरहेका सुदूरपश्चिमेलीहरुले गौरापर्व परदेशमा समेत मनाउन थालेका छन् । पछिल्ला केही वर्षयता विदेशमा समेत सुदूरपश्चिमेलीहरु बाक्लिदैं जान थालेपछि गौरा लगायतका विभिन्न नेपाली पर्वहरु मनाउने क्रम बढ्दै गएको छ ।

परदेशिए पनि सुदुरपश्चिमेलीहरुले आफ्नो मौलिक संस्कृति  भुलेका छैनन् । संसारका विभिन्न देशहरुमा पुगेपनि उनीहरुले आफुसँगै संस्कृति पनि सँगै लगिरहेका हुन् । सवैले जान चाहेको देश अमेरिकामा पनि धेरै सुदुरपश्चिमेलीहरु पुगेका छन् । तर अमेरिका पुग्दा पनि उनीहरुले पनि मौलिक पर्व गौरालाई छोडेका छैनन् । अझ उनीहरुले गौरालाई अमेरिकामा जगाई राख्न र आफ्ना पुस्ताहरुलाई हस्तान्तरण गर्नका लागि गौरा समाज नै गठन गरेका छन् ।

गौरा समाज विसकान्सीनले हरेक बर्ष गौरा मनाउने कार्यक्रम गर्दै आएको छ । गौरापर्व  सधै झैं यस बर्ष पनि गौरा समाज विसकान्सीन अमेरिकाको पहलमा सुदूरपश्चिमको बिशेष पर्व गौरा स्थानीय पिवाकी हिन्दु मन्दिरमा मनाईएको छ । कोरोनाको कहरका बिचमा पनि आफ्नो संस्कति बचाई राख्न र विशेष गरी युवा पुस्तालाई स्वदेशको धर्म संस्कति र कला हस्तान्तरणको लागि कार्यक्रमलाई निरन्तरता दिईरहेको गौरा समाजका अध्यक्ष तथा सफल युवा व्यवसायी वासुदेव जोशीले जानकारी दिए ।

पुजामा सहभागी हुनका लागि क्यालीफोर्निया निवासी डाक्टर तोयनाथ जोशी, यशोदा मिश्र जोशी र उनको परिवारको पनि सहभागीता रहेको थियो । घरदेशमा हुँदा वर्षौदेखि मनाउँदै आएको गौरापर्व अमेरिका पुगेपछि पनि मनाउन पाउँदा घरमै पुगेको जस्तै अनुभव भएको कार्यक्रममा सहभागीहरुको भनाई छ । 

अघिल्ला बर्षहरुमा गौरा पर्वको अवसर पारेर अमेरिकाको केन्टकी, न्यूयोर्क, टेक्सास, मेरिल्याण्ड स्टेट लगायतका विभिन्न क्षेत्रमा गौरा बिशेष कार्यक्रमहरु आयोजना हुने गरेका थिए । संस्कृति संरक्षण तथा यसको महत्व विश्वभरी फैलाउने उद्देश्यले गौरा विशेष कार्यक्रम आयोजना गरिदै आएको भएपनि यसपाली कोरोनाका कारण कार्यक्रमहरु आयोजना हुन पाएनन् ।