सुदूरपश्चिममा कोरोनाका कारण निषेधाज्ञा थपियो, कुन जिल्लामा कहिलेसम्म ? 
2020/08/29, 8:51
 
corona

सुदूरपश्चिमका विभिन्न स्थानहरुमा निषेधाज्ञा थपिएको छ । ती स्थानहरुमा यसअघि निषेधाज्ञा जारी रहेकोमा त्यसलाई थप गरिएको हो । प्रदेशको अस्थायी राजधानी धनगढीमा निषेधाज्ञा थप्न सिफारिस गरिएको छ । 

कैलालीमा निषेधाज्ञा १९ गतेसम्म जारी राख्न सिफारिस
जिल्ला सुरक्षा समितिको बैठकले कैलालीमा निषेधाज्ञा भदौ १९ गतेसम्म बढाउन सिफारिस गरेको छ । यसअघि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको आदेश अनुसार १४ गतेसम्म निषेधाज्ञा जारी भएकोमा सुरक्षा समितिको बैठकले १९ गतेसम्म लम्ब्याउन सिफारिस गरेको हो । उक्त सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारी बोहराले आदेश जारी गर्नेछन । 

कोरोना भाईरसको संक्रमण रोकथामका लागि कैलालीमा निषेधाज्ञा जारी भएको थियो । लकडाउनमा आग्रह र अनुरोध मात्रै गर्न पाउने तर निषेधाज्ञामा आदेश नै दिन पाउने भएकाले जिल्लामा निषेधाज्ञा नै जारी गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले बताउँदै आएको छ ।

निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न पाईदैन् । औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्क उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन रोक लगाईएको छ भने अत्यावश्यक कार्यका लागि घर बाहिर जाँदा अनिवार्य रुपमा मास्क प्रयोग गर्ने र भौतिक दूरी कायम गर्नुपर्ने हुन्छ । 

अत्यावश्यक सामाग्री लगायत मालबाहक ढुवानीका सवारी साधन, भन्सारबाट जाँचपास भई आएका ढुवानीका साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन जिल्ला भित्र प्रवेश गर्न निषेध गरिएको छ । अहिले कैलालीमा कुनै पनि मेला, पर्व, महोत्सव र जात्रा सञ्चालन गर्न पाईने छैन् भने भिडभाड र जुलुस गर्न पनि पाईदैन भने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सास्कृतिक गतिविधिहरु सञ्चालन गर्न पनि रोक लगाईएको छ ।  

शैक्षिक सस्था, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टर, भाषा कक्षा सञ्चालन गर्न नपाउने भएको छ भने सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी, प्यालेस, डिपार्टमेन्ट स्टोर, मनोरञ्जन स्थल, सैलुन, ब्यूटीपार्लर, स्वीमीङ पुल, जिमखाना, पुस्तकालय, संग्रहालय, सञ्चालन गर्न रोक लगाइएको छ । खाद्यान्न, तरकारी, दुध, फलफूल, माछा, मासु लगायत अत्यावश्यक बस्तुहरुको हकमा विहान ५ बजेदेखि ९ बजेसम्म चार घण्टा मात्रै सञ्चालन गर्न पाईन्छ ।

डडेल्धुरामा जारी निषेधाज्ञा १९ गतेसम्म लम्ब्याइयो
डडेल्धुरामा जारी निषेधाज्ञा आगामी भदौ १९ गतेसम्म थपिएको छ । जिल्लास्तरीय कोभिड–१९ जोखिम व्यवस्थापन समिति (डीसीसीएमसी) को शुक्रबारको बैठकले सो निणय गरेको हो । शुक्रबार सुचना जारी गर्दै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्लामा जारी निषेधाज्ञा लम्ब्याइएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।

जिल्लामा संचालित अतिआश्यक सेवा तथा बस्तुहरु बिक्री वितरण गर्ने पसलहरू बाहेक सम्पूर्ण पसलहरू शुक्रबारदेखि भदौ १९ गतेसम्मका लागि बिहान ६ बजेदेखि ११ बजेसम्म मात्रै संचालन गर्न पाउने छन । पसल संचालन गर्दा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने उनले बताए । बैंक तथा वित्तीय संस्थाहरू बिहान ८ बजेदेखि १२ बजेसम्म मात्रै संचालनमा रहने छन्। जिल्लामा संचालित निजी तथा सार्वजनिक सवारी साधन तथा मोटरसाइकलहरूलाई शुक्रबारदेखि नै जोर–बिजोर प्रणाली लागू गरिएको जारी सुचनामा उल्लेख गरिएको छ ।

सुदूरपश्चिमका सात पहाडी जिल्लाको केन्द्र विन्दुको रुपमा रहेको डडेल्धुरा जिल्ला भएर आउने जाने ढुवानी सवारी साधनहरूलाई बिना काम जिल्ला सदरमुकाममा पार्किङ गर्न नपाउने र सदरमुकाममा मालसमान लोडअनलोड समेत बिहान ८ बजेभित्र गराइ गन्तव्य स्थलतर्फ जानुपर्ने डीसीसीएमसीले निर्णय गरेको छ । निर्णयको उल्लंघन हुने क्रियाकलाप कसैबाट भए गरेमा संक्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रशासन कार्यालयले जनाएको छ ।

डोटीमा १४ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय
डोटीमा भदौ १४ गते आइतबार राती १२ बजेदेखि २१ गतेसम्म लागु हुने गरी निषेधाज्ञा लागु गर्ने निर्णय भएको छ । जिल्लाभित्र कोरोना महामारीको प्रभाव बढ्दै गएपछि संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सहजताका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

डोटीका प्रमूख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले आज आदेश जारी हुने बताए । निषेधाज्ञाका क्रममा अत्यावश्यकीय सेवा बाहेक अन्य सेवाहरु पूर्ण रुपमा बन्द हुने जिल्ला उनले बताए ।