सुरक्षित मातृत्व संजाल महासंघ नेपालले धनगढी उप–महानगरपालिका भित्रका अति विपन्न एवम् सिमान्तकृत समुदायका सुत्केरी तथा गर्भवती महिलाहरुलाई खाद्य तथा पोषण सामाग्री वितरण गरेको छ ।
कोरोना भाइरस कोभिड १९ लाई फैलिन नदिन सरकारले जारी लकडाउनका कारण अति बिपन्न एवम् सिमान्तकृत समुदायका सुत्केरी तथा गर्भवतीहरुलाई अत्यन्तै समस्या परेको भन्दै आमा तथा बच्चाको स्वास्थ्यलाई मध्यनजर गरी सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालकी केन्द्रिय अध्यक्ष तथा वरिष्ठ सामाजिक अभियन्ता डा. आरजु राणा देउवाको विशेष पहलमा सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले पोसिलो खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो ।
लकडाउनका कारण बिपन्न सुत्केरी तथा गर्भवतीहरु पोषणयुक्त खानाबाट बञ्चित हुने भएकाले त्यस्ता अति विपन्न समुदायका गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थ्य तथा पोषण सुरक्षामा सहयोग पुगोस भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत खाद्य तथा पोषण सामाग्री वितरण गरिएको सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालकी केन्द्रिय अध्यक्ष तथा वरिष्ठ सामाजिक अभियन्ता डा. आरजु राणा देउवाले बताउनुभयो । उहाँले भन्नुभयो– यसले थोरै भएपनि अति विपन्न गर्भवती तथा सुत्केरी महिलालाई राहत पुग्नेछ । हस्तान्तरण गरिएको सामाग्रीमा अण्डा, तेल, दाल, चामल, साबुन, नुन, चिनी लगायतको खाद्य तथा पोषण सामाग्री रहेको सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपाल कैलालीले जनाएको छ ।