छिमेकी राष्ट्र भारतबाट अतिक्रमित कालापानी क्षेत्रमा पर्ने तीन गाउँहरु कुटी, नाभी र गुञ्जीको नाम धेरै सुनेका छन्, तर ती गाउँको बसोवास, जनसंख्या लगायत सामाजिक पक्षबारे अहिलेसम्म कुनै पनि तथ्य उजागर हुन सकेको छैन। भारतको सैनिक नियन्त्रणमा रहेको उक्त क्षेत्र ‘नोटिफाइड एरिया’ भएकाले भारतीय नागरिकले समेत प्रशासनको लिखित अनुमति लिएर मात्रै प्रवेश पाउँछन्।
‘भारतीय सेना, भारत तिब्बत सीमा प्रहरी र भारतीय सेनाको भारी बोक्ने मजदुर (यिनले पनि अनुमति पत्र बनाएर) बाहेक कुनै पनि नेपालीले त्यस क्षेत्रमा भ्रमण गर्ने र वस्तु स्थितिबारे जानकारी राख्ने विषय असम्भवप्रायः छ,’ भरियाका रुपमा सो क्षेत्रमा पुगेका दार्चुलाका स्थानीय पत्रकारका बिरादत्त भट्ट भन्छन्।
लिम्पियाधुरा देखि बगेर आउने महाकाली नदीको पूर्वी क्षेत्रमा पर्ने कुटी, नाभी र गुञ्जी गाउँका बासिन्दासँग अहिले भारतीय नागरिकता छ। तीनवटै गाउँका बासिन्दा आफूलाई भारतीय नागरिक भन्छन्। ‘भारत सरकारले दशकौंदेखि खाद्यान्न, रोजगारी र अन्य सेवा सुविधा दिएर त्यसक्षेत्रमा आफ्नो उपस्थिति बनाएकाले स्वाभाविक रुपमा उनीहरुले भारतीय भन्न रुचाउँछन्,’ पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामी भन्छन्। ५० को दशकसम्म पनि गुञ्जी र नाभी गाउँका बासिन्दा नेपालको दार्चुला जिल्ला सदरमुकाम र धुलिगडा तथा देथला गाविसको क्षेत्रमा कुञ्चा (बसाइसराई) सर्ने गर्थे।
महाकाली नदी पूर्वको नेपाली भूभागमा तीनवटा गाउँ (बस्ती) का साथै दुइटा सैनिक बस्ती भएका ठाउँ पनि छन्, ती हुन् : कालापानी र नाभिढाँग। गुञ्जी दोभानबाट पूर्वतर्फ पर्ने कालापानी र नाभिढाँगमा सुरक्षा उपस्थिति मात्रै छ। गुञ्जीको मनिला र कुटी गाउँ तथा त्यसभन्दा उत्तरतर्फ पनि सैनिक उपस्थिति रहेको छ।
कस्तो छ सो क्षेत्रको प्रशासनिक (भारतीय) संरचना ?
अतिक्रमित नेपाली भूमिमा भारतको सैनिक उपस्थिति मात्रै छैन, दशकौंदेखि भारतीय शासन व्यवस्थाकै अभ्यास भइरहेको छ। पञ्चायत व्यवस्थाअन्तर्गत अतिक्रमित क्षेत्रमा तीनवटा ग्राम पञ्चायत छन्। लिम्पियाधुराबाट बगेर आउने महाकाली नदीको पूर्वी किनारमा रहेको गुञ्जी गाउँ र पश्चिमी किनारमा रहेको नपलच्यु गाउँको क्षेत्र जोडेर गुञ्जी ग्राम पञ्चायत बनाइएको छ।
महाकालीको दुवै किनारको बस्तीलाई एकसाथ जोडेर ग्राम पञ्चायतको संरचना बनाउँदा भारतीय पक्षले चलाखी गरेको देखिन्छ। महाकाली नदीको दुवैतर्फका बस्तीलाई भारतकै क्षेत्र देखाउने उद्देश्यले पञ्चायतको यस्तो संरचना बनाइएको व्यास क्षेत्रका बासिन्दा बताउँछन्।
गुञ्जी गाउँभन्दा २ किलोमिटरको दूरीमा नाभी गाउँ छ। नाभी गाउँ महाकालीको नदीको पूर्वमा छ भने पश्चिमी किनारामा रोङकाङ गाउँ छ। वास्तविक महाकाली नदीले सिमाना छुट्याउँदा नाभी नेपालमा पर्छ भने रोङकाङ भारतमा। तर यहाँ पनि दुवै बस्तीलाई समेटेर नाभी ग्राम पञ्चायतको संरचना बनाइएको छ। नाभीबाट १६ किलोमिटरको दूरीमा कुटी गाउँ छ।
हिमाली क्षेत्रको अन्तिम गाउँ कुटीमा छुट्टै ग्राम पञ्चायत छ। कुटीभन्दा ११ किलोमिटरको दूरीमा जोलिङकाङ र पार्वती सरोवर पर्दछ। त्यस क्षेत्रमा भारतीय सुरक्षाकर्मीका क्याम्प भए पनि हिउँदको समयमा अत्यधिक हिमपातका कारण कुटी गाउँमा सर्ने गर्दछन्।
जनसंख्या कति ?
भारतको राष्ट्रिय जनगणना सन् २०११ मा भएको थियो । सन् २०२१ मा फेरि अर्को जनगणना तयारी हुँदैछ । नौ वर्षअघिको जनगणना अनुसार अतिक्रमित क्षेत्रमा पर्ने कुटी गाउँको जनसंख्या ३ सय ६३ छ। जसमध्ये पुरुष १ सय ९८ र महिला १ सय ६५ छन्।
६ वर्ष मुनिका बालबालिका २७, दलित ३१ र जनजाति (सौका समुदायका) २ सय ९१ जना छन्। १ सय १५ घरधुरी रहेको कुटी गाउँको साक्षरता दर ८७ प्रतिशत रहेको तथ्यांक पिथौरागढ जिल्ला प्रशासन कार्यालयले प्रकाशन गरेको छ।
कुटी गाउँको जनसंख्यामध्ये ९३ जना श्रमशक्ति (काम गर्नसक्ने) रहेका छन्। सीमान्तकृत श्रमशक्ति २४ जना रहेको विवरण पिथौरागढ जिल्ला प्रशासनले सन् २०१४ मा सार्वजनिक गरेको छ। नाभी ग्राम पञ्चायत अन्तर्गत महाकाली पूर्वको नाभी गाउँमा ३२ घरधुरी छन् भने महाकाली पश्चिमको रोङकाङ गाउँमा ३५ घरधुरी छन्। नाभी गाउँको जनसंख्या ७८ छ। सबैजना सौका समुदायका छन्। ४५ पुरुष र ३३ महिला तथा ६ वर्ष मुनिका २ बालबालिका रहेका छन्।
साक्षरता प्रतिशत ८५ रहेको नाभी गाउँमा ६९ जनाको श्रमशक्ति र ६ जना सीमान्तकृत श्रमशक्ति रहेका छन्। नाभी ग्राम पञ्चायतमा पर्ने महाकाली पश्चिमको रोङकाङ गाउँमा ३५ घरपरिवार र १ सय १८ जनसंख्या छ। गुञ्जी ग्राम पञ्चायतमा पर्ने गुञ्जी गाउँमा १ सय ९४ घरधुरी छन्। २ सय २९ पुरुष र १ सय ६ महिला गरी ३ सय ३५ जनसंख्या रहेको छ। ६ वर्ष मुनिका १९ बालबालिका र दलित समुदायका ११ नागरिक गुञ्जीमा बसोवास गर्दछन्। ८७ प्रतिशत साक्षरता रहेको गुञ्जीमा २ सय ७१ श्रमशक्ति छ भने सीमान्तकृत श्रमशक्ति ४२ जना रहेको छ।
अतिक्रमित नेपाली भूमिका तीनवटै गाउँको जनसंख्या ७ सय ७६ छ भने घरधुरी संख्या ३ सय ४१ रहेको छ। जनसंख्यामध्ये महिला ३ सय ४ र पुरुष ४ सय ७२ छन्। तीनवटै गाउँमा सौका समुदायको जनसंख्या मात्रै ५ सय ६३ रहेको सरकारी अभिलेख छ।
एक वर्षअघि भएको थियो निर्वाचन
ग्राम पञ्चायतको संरचना अन्तर्गत पिथौरागढ जिल्लाको यस क्षेत्रमा एक वर्षअघि निर्वाचन भएको थियो। सन् २०१९ अक्टोबर १६ मा भएको निर्वाचनबाट कुटी र गुञ्जीमा महिला ग्राम प्रधान चयन गरिएका छन्। कुटी ग्राम पञ्चायतमा सरितादेवी कुटियाल ग्राम प्रधान छन्। गुञ्जीमा अर्चना गुञ्ज्याल ग्राम प्रधान छन्। नाभी ग्राम पञ्चायतमा हरिशसिंह नबियाल ग्राम प्रधान रहेका छन्।
मतदाता कति ?
रतको उत्तराखण्ड निर्वाचन आयोगले सन् २०१९ को डिसेम्बरमा मतदाता नामावली अद्यावधिक गरेको छ। अद्यावधिक गरिएको नामावलीअनुसार कुटी ग्राम पञ्चायतमा ३ सय ११ मतदाता छन्। पुरुष १ सय ५८ र महिला १ सय ५३ छन्।
राजकीय प्राथमिक विद्यालय कुटी मतदान केन्द्र रहँदै आएको छ। मतदान केन्द्र रहेको स्थान विद्यालय भए पनि लामो समयदेखि त्यस क्षेत्रमा विद्यालय भने सञ्चालनमा छैन। वर्षको ६ महिना धारचुलामा बसाइसराइ हुने भएकाले भारतको धारचुलामै निरन्तर विद्यालय सञ्चालन हुँदै आएका छन्।
गुञ्जी ग्राम पञ्चायतमा २ सय ३३ पुरुष र २ सय ७० महिला गरी ५ सय ३ मतदाता छन्। राजकीय प्राथमिक विद्यालय गुञ्जी मतदान केन्द्र रहँदै आएको छ। गुञ्जीको विद्यालय पनि धारचुलामै सञ्चालन भइरहेको छ। ग्राम पञ्चायत नाभीमा २ सय ४९ पुरुष र २ सय ८१ महिला गरी ५ सय ३० मतदाता छन्।
पञ्चायत भवन नाभीमा मतदान केन्द्र छ भने महाकाली पश्चिमको रोङकाङ गाउँमा २ सय ७ र महाकाली पूर्वको नाभी गाउँमा ३ सय २३ मतदाता छन्। राज्य निर्वाचन आयोग (उत्तराखण्ड)ले गुञ्जी मतदान केन्द्रलाई १ सय ५२, कुटीलाई १ सय ५३ र नाभीलाई १ सय २६ नम्बरको मतदान केन्द्र निर्धारण गरेको छ।
कुटी, नाभी र गुञ्जीसहित ७ वटा ग्राम पञ्चायतको प्रतिनिधित्व गर्दै गर्ब्याङ गाउँका प्रियंका देवी गर्ब्याल क्षेत्र पञ्चायत सदस्यमा निर्वाचित भएका छन्।
स्थान कोड र क्षेत्रफल
सन् २०११ मा भएको जनगणनामा स्थान (लोकेसन) कोड निर्धारण गरिएको थियो। कुटी गाउँको लोकेशन कोड ०४९०८६ रहेको छ। नाभी गाउँको कोड ०४९०८७ र गुञ्जी गाउँको कोड ०४९०८९ छ।
गाँउले ओगटेको क्षेत्रफल कुटीमा २४९.२ हेक्टर, नाभीमा ४३४.७ हेक्टर र गुञ्जीमा १८८.९ हेक्टर छ। पिथौरागढ जिल्लाको अर्थ एवं संख्याधिकारी कार्यालयले सन् २०१८ मा ‘सांख्यिकीय पत्रिका’ प्रकाशन गरेर माथिका तथ्यांक सार्वजनिक गरेको छ।