भारतका विभिन्न ठाउँबाट सयौं नेपाली गौरीफन्टा पुगे, प्रशासन भन्छ– नेपाल भित्र्याउनुभन्दा पनि सम्बन्धित ठाउँ पठाउन मुस्किल छ
2020/05/20, 7:27
 
bus

भारतका विभिन्न स्थानहरुबाट  सयौं नेपाली गौरीफन्टा नाका पुगेका छन् । भारतको मुम्बई, दिल्ली, राजस्थान, हरियाणा, मुरादावाद लगायतका स्थानबाट बस रिजर्भ गरेर आएका उनीहरु आज साँझ गौरीफन्टा नाका पुगेका हुन् । भारतका विभिन्न स्थानबाट आज बिहान पलिया पुगेका १३ बसहरु  गौरीफन्टा आई पुगेका छन् । जिल्ला प्रशासन कार्यालयले कैलाली जिल्लाका बासिन्दालाई घर पठाउने तयारी गरिरहेको जनाएको छ ।

यता कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भारतबाट आएका नेपालीहरुलाई नेपाल भित्र्याउन कुनै समस्या नरहेको बताए । उद्धार गरेपछि सम्बन्धित पालिकासम्म पुगाउनका लागि प्रशासन एक्लैले नसक्ने भएकाले प्रदेश सरकार र स्थानीय सरकारको समन्वयको खाँचो रहेको प्रमुख जिल्ला अधिकारी बोहराले बताए।

उनले सीमामा र्‍यापिड टेस्ट गराएर उनीहरुलाई सम्बन्धित पालिका सम्म पुगाउने जिम्मा स्थानीय र प्रदेश सरकारले लिए मात्रै भारतमा अलपत्र नेपालीको उद्धार गर्न सकिने बताए । उनले उद्धारमा भन्दा पनि नेपाल ल्याइसकेपछि गन्तव्यमा पठाउन समस्या रहेको बताए। 

गत शुक्रबार र शनिबार ल्याइएका नेपालीहरुलाई गन्तब्य सम्म पुर्‍याउन निकै चुनौती देखिएको भन्दै प्रमुख जिल्ला अधिकारी बोहराले यहाँका ब्यापारीहरुको सहयोगमा उनीहरुलाई गन्तब्य सम्म पुर्‍याउन सकिएको बताए ।