कोरोना नियन्त्रणका नाममा पाटनका जनप्रतिनिधिले दैनिक २५ सय भत्ता बुझ्दै
2020/05/21, 12:13
 
korona

बैतडीको पाटन नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि फिल्डमा खटिने जनप्रतिनिधिलाई दैनिक भत्ताको व्यवस्था गरेको छ। फिल्डमा खटिने जनप्रतिनिधिलाई एक हजार पाँच सय रुपैयाँ भत्ता दिने निर्णय गरेको नगरपालिकाका प्रवक्ता लोक बहादुर भण्डारीले बताए।

उनले भने, ‘महामारीमा आफ्नो ज्यान जोखिममा राखेर खट्ने जनप्रतिनिधिलाई उत्प्रेरित गर्न यो निर्णय गरिएका हो।'  नगरपालिकाले कोराना रोकथाममा खटिएका जनप्रतिनिधिहरुलाई वडाको सिफारिसको आधारमा प्रतिदिन एक हजार पाँच सय रुपैयाँ प्रोत्साहन भत्ता र क्वारेन्टीनमा खटिने जनप्रतिनिधिलाई थप संचार खर्च बापत एकमुष्ट पाँच सय र खाना खर्च बापत प्रति दिन पाँच सय रुपैयाँ दिने निर्णय गरेको हो।

त्यस्तै कोराना अवधिभर खटिने महिला स्वास्थ्य स्वयंसेवकलाई एकमुष्ट दुई हजार, स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्थाको सिफारिसको आधारमा तलवको ६० प्रतिशत जोखिम भत्ता र क्वारेन्टीनमा खटिने स्वास्थ्यकर्मी सुरक्षाकर्मी र कर्मचारीलाई दैनिक खाना खर्चवापत पाँच सय र सञ्चार खर्च वापत एकमुष्ट पाँच सय रुपैयाँ दिने निर्णय गरेको छ। 

पाटन नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विपद् व्यवस्थापन कोषमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको नगर प्रमुख केशवबहादुर चन्दले जानकारी दिए। यसका साथै सुदूरपश्चिम प्रदेश सरकारबाट पनि २१ लाख रुपैयाँ प्राप्त भएको नगरपालिकाले जनाएको छ।