सुरक्षित आवास गृह स्थापनापछि पीडितलाई सहज
2020/09/10, 10:35
 
help

लेकम गाउँपालिकाका एक महिला आफन्तबाटै बलात्कृत भएपछि विचल्लीमा परे। श्रीमान भारतमा मजदूरी गर्न गएका बेला आफन्तबाटै बलात्कार भएर बच्चा जन्मिएपछि उनलाई जिल्ला प्रहरी कार्यालयसम्म पुगेर कहाँ बसौँ भएको थियो। 

आफुमाथि बलात्कार गर्नेविरुद्ध उजुरी त गरे तर जिल्लामा कहाँ बस्ने, के खाने उनलाई केहि थाहाँ थिएन्। उजुरीपछि समस्यामा परेका ती महिलालाई जिल्ला प्रहरी कार्यालयले जिल्लामै स्थापना भएको सुरक्षित आवास गृहमा बस्न सुझाए। उजुरीपछि दुई पटक खलंगा आएकी ती महिला खलंगाको तिंकर खेडा नजिकै स्थापना भएको सेफ हाउसमा सुरक्षित तवरले बसिन। होटलमा बस्नुपर्ने र पैसा नहुनेका लागि अहिले सुरक्षित आवास गृह पीडितका लागि सहज बास भएको छ।

गत वर्ष सामाजिक सशक्तिकरण तथा महिला सचेतना संस्थाले सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा सुरक्षित आवास गृह (सेफ हाउस) स्थापनाका लागि सहयोग गरेपछि अहिले पीडितका लागि सहारा बनेको छ। सदरमुकाम खलंगाजस्तो ठाउँमा महंगो मूल्य तिरेर पीडितले खान बस्न पनि सक्दैनन् भने पीडित महिलाले होटलको बास बस्नु झन असुरक्षित हुन्छ।

यही समस्याका कारण जिल्लामै सुरक्षित आवास गृह स्थापनाका लागि आग्रह गरिएपछि प्रदेश सरकारले सहयोग गरेको आवास गृह सञ्चालक भगवती बडालले बताए। उक्त गृह स्थापना भएपछि गत वर्ष मात्रै १० पीडित महिलाले सेवा पाएका छन्। 

अझै सबै पीडित महिलालाई जिल्लामा सुरक्षित आवास गृह छ भन्ने चेतना पुगेको छैन्। विस्तारै महिलालाई जानकारी हुँदा उनीहरु यहाँ आउन थालेका बडाल बताउँछन्। सबै स्थानीय तहमा प्रचारप्रसार गर्न सके र जनचेतनामूलक कार्यक्रम गर्न सकिए भने सदरमुकाम खलंगामा आउने पीडित महिलाका लागि सहज सेवा उपलब्ध हुने उनको भनाइ छ।

गत आवमा लेकम गाउँपालिका, नौगाड गाउँपालिका, मालिकार्जुन गाउँपालिका, शैल्यखिशर नगरपालिका र सिन्धुली तथा सिन्धुपाल्चोक जिल्लाका पीडित महिलालाई सो गृहमा राखिएको सञ्चालन बडालले बताए। चालू आवको हालसम्म महाकाली नगरपालिकाका दुई जना आवास गृहमा बसेका छन्। 

उक्त गृहले पीडितलाई बढीमा अहिले १५ दिनसम्म निःशुल्करुपमा खान बस्नको व्यवस्था गरिएको छ। साथै पीडितलाई आवत–जावत खर्च, उपचार खर्चसमेत उपलब्ध गराइने गरिएको बडालको भनाई छ।