ठाडी भाकाकी क्वीन डिक्राको गला
2020/09/12, 8:11
 
dikra gaine

मलिन अनुहार । चम्किला आँखा । आँखाका नानीहरुमा पीडा र जिज्ञासाका अनगिन्ती धर्साहरु, जसरी चाउरी परेका अनुहारमा देखिन्छन् । तर सबैले सजिलै गरी ती धर्साका पीडाहरु पढ्न सक्दैनन् । सायद डिक्रादेवीलाई धेरैले सुने मात्रै । सुनेरै धेर थोर जाने पनि । तर जानेर पनि उनका अनुहारमा कोरिएका जीवनका कहालीलाग्दा धर्साहरु कसैले राम्रोसँग पढ्न सकेनन् । सामान्य महिलाभन्दा अग्लो कद । गोलो अनुहार । केश केही फूलेका छन । अक्सर बुढ्यौली लागे पनि उनको अनुहारमा चमक छ । तर प्रफुल्ल छैन । कतै टोलाएको जस्तो । कतै हराएको जस्तो । कतै बाटो बिराएर रन्थनिए जस्तो । अक्सर अनुहारमा बुढ्यौलीको छाया पर्न लागे पनि ओठमा लाली चोपेर हिँड्दा डिक्रादेवी आफूलाई जवान ठान्छिन् । 

सुदूरपश्चिमको सांस्कृतिक चिनारी देउडा गीतलाई यिनै डिक्रादेवीले माथि उठाएकी हुन । देउडाको ‘ओरिजन’ अर्थात उद्गम बिन्दु ठाडी भाका मानिन्छ । जसलाई पहिलो पटक डिक्रादेवीले आफ्नो सुरिलो स्वर मार्फत देश विदेशमा पु¥याएकी थिइन । मध्य र सुदूरपश्चिमका धेरै ठाउँमा हिजोआज पनि फाट्टफुट्ट ठाडी भाका गाइन्छ । तर क्यासेटको ‘रिल’मा गाउँघरका ठाडी भाकालाई कैद गर्ने सम्भवतः पहिलो र चर्चित नाम हो, डिक्रादेवी । यसैकारण उनलाई ठाडी भाकाकी ‘क्वीन’ अर्थात महारानी पनि भनिन्छ । सायद उनलाई यो महारानी शब्द धेरै महंगो लाग्छ । किनकी उनलाई समाजमा अहिलेसम्म सामान्य नारीको स्थानमा पनि राखिँदैन । सुदूरपश्चिमको रुढिवादी समाजमा उनले आफूलाई गायिका भनेर बोलाएको राम्रोसँग सुनेकी छैनन् । केही मेला, महोत्सवमा क्षणिक समयका लागि देउडा गायिकाको ‘ट्याग’ पाए पनि यो उनको परिचय बन्न सकेको छैन । किनकी उनलाई गायिका कम दलित समुदायमा पनि होच्याएर बादी समुदायकी ...महिला भनेर बढी बोलाउने गरिन्छ ।

2

क्यासेटको जमाना थियो । डिक्रा बादी देउडा र ठाडी भाकामा स्वर भर्न स्टुडियो पुग्थिन् । उनीसँगै सारंगीको तार रेट्न पुग्थे, श्रीमान् कित्थ्ये बादी । सुदूरपश्चिममा डिक्राका ‘फ्यान’ कम थिएनन् । जेनतेन नै सही, गीत गाएकै पैसाले जीविका चलेको थियो । क्यासेटको युग सकियो । उनी पनि हराइन् । एक दशकदेखि उनी गीत संगीतबाट टाढा थिइन् । हुन त उनले कहिल्यै काठमाडौं गएर गाउने अवसर पाइनन् । उनलाई काठमाडौंले चिनाउने अवसर नै दिएन । तर, उनको स्वर सुनेकाहरूले बिर्सिन सकेनन् । उनको खोजी गरे । अनि डेढ बर्ष अघि काठमाडौं लए । राष्ट्रिय नाचघरमा उनको स्वर गुन्जियो । देउडा र ठाडी भाकामा दर्शकले भरपुर मनोरञ्जन लिएका थिए । उनका साथमा श्रीमान् कित्थ्येले सारंगी रेटेका थिए । दोहारी गाउन साथ दिएका थिए । उनी भन्छिन्, ‘खुसीमा स्वर खुल्छ, दुःखमा स्वर भिजेर ठाडी भाकाझैँ हुन्छ ।’ उनको परिवार अहिले पनि ऐलानी जग्गामा छ । झुप्रोमा अभाव घन्किरहन्छ । गीतले जिस्काए जस्तो लाग्छ । क्यासेट चक्काको युग सकिएपछि ‘डिजिटल युग’ले उनलाई मजाक बनाए जस्तो लाग्छ । उनी स्टुडियो नछिरेको एक दशक भइसकेको छ । उनी भन्छिन्, ‘मागी खाने जात भनेर सरकारले हेरेनन्, तर गला र कलाले साथ दिइरहेकै छ, अझै गाउन सक्छु ।’

क्यासेट होईन गला खोसियो 
क्यासेटको युगले खर्च पुर्याएको थियो । गीत गाउने ‘अफर’ आइरहन्थ्यो । पारिश्रमिक तोकेर माग्दिनथिन् । जसले जति दिन्छन्, हात थाप्थिन् । कम्तीमा क्यासेट बिक्री हुन्थ्यो । त्यही लोभमा गीत बनाउनेहरूले पैसा दिन पनि हिचकिचाउँदैनथे । उनको पहिलो एल्बम हो, बसिबियाँलो । ०५२ सालतिर निस्किएको थियो । ‘त्यतिखेर गीत रेकर्ड गर्न नरेन्द्रराज रेग्मी र गोरख थापासँग भारतको पलिया पुगेका थियौँ,’ उनी सम्झन्छिन् । काठमाडौंभन्दा भारतीय सहर पलिया नै नजिक थियो । काठमाडौं आइपुग्न १८ देखि २४ घन्टा लाग्थ्यो । भारत भएरै आउनुपथ्र्यो । अनि गीत रेकर्ड गर्न भारत जानु नै सजिलो थियो ।

क्यासेट युगमा सुदूरपश्चिमतिर यति लोकप्रिय थिइन् कि ‘उनको स्वरमा एक गीत राख्यो भने एल्बम बिक्छ’ भन्थे गायक, संगीतकारहरू । कतिले त क्यासेटको कभरमा समेत उनको फोटो राख्थे, व्यापारका लागि । ‘डिक्राले गाएका गीतका सबैभन्दा बढी क्यासेट मसँग छन्,’ कवि श्यामलको जिकिर छ । एक दशक अघिबाट क्यासेटको युग सकियो । उनको गला खोसेजस्तै भयो । हातमुख जोड्ने मेलो खोसियो । उनी डिजिटल युगमा पस्नै सकिनन्, अथवा बजारवादले पस्नै दिएन । अनि चुपचाप बसिन् ।

अहिलेको युवा पुस्ताले उनलाई सुन्न पाएकै छैनन् । आफ्ना क्यासेटलाई उनले डिजिटल बनाउन सकिनन् । त्यसपछि जीवन चल्न कठिन देखियो । अनि स्टुडियोमा देखिन छाडिन् । तर, उनको स्वरमा लट्ठिएका स्रोताले भने बिर्सिएनन् । स्टुडियो छुटे पनि लाइभ गाउन छोडिनन् । गीत गाउनकै लागि भारतको बेंलोर र मुम्बई पुगिन् । धनगढी, महेन्द्रनगर जस्ता सहरमा हुने कार्यक्रममा गुञ्जिरहिन् । श्रीमान् कित्थ्ये अझै पनि मादल र सारंगी आफँै बनाउँछन् । आफँै रेट्छन् । उनीहरू दोहोरीमा भिड्छन् । कहिलेकाहीँ मदिराको प्याकमा कित्थ्ये पनि गुनगुनाइदिन्छन् । डिक्रा के कम, लोग्नेको स्वरलाई दोहोरीमै जितिदिन्छिन् ।

मेलापात बन्यो संगीत कक्षा
बादी समुदायका गीतलाई स्तरीय मानिँदैनथ्यो । उपल्लो जातिकाले बादीका जीवन धान्ने गीतहरूमा कला देख्दैनथे । बादीको त पुख्र्यौली पेसा नै नाच्ने गाउने हो । डिक्राले बादीका गीतको  कला देखाइदिइन् । गीत गाउनुलाई पेसाभन्दा पनि कला मानिन् उनले । निरन्तर गाइरहिन् । सानैदेखि उनले गाउने अवसर पाएकी हुन् । उनी भन्छिन्, ‘मेरो स्वर मीठो थियो रे, सबैले तिमी गाऊ भन्थे ।’ यसरी अरूलाई सुनाउँदा सुनाउँदै उनको स्वर निखारियो । त्यही स्वर उनको पहिचान बनेको छ । प्रिय बनेको छ । ठाडी र देउडा मात्र होइन उनले भजन पनि गाइन् ।

2

मठ मन्दिरमा भजन गाउन उनलाई पूजापाठमा बोलाउँथे । उनको स्वरले जातलाई पर धकेलिदिएको थियो । आफ्नो स्वरसँग उनलाई प्रेम छ । उनी भन्छिन्, ‘रमाइला गीत मात्रै गाउँछन् बादीले भन्छन्, तर मैले भजन पनि गाएँ ।’ आफ्नो गायन कलामा गर्व गर्छिन् ।
उनले गाउनका लागि कतै तालिम लिएकी होइनन् । कतै संगीत पढेकी छैनन् । बझाङ बाजुराका खोलानाला डुल्दा, दाउरा घाँस गर्दा, उकाली ओराली हिँड्दा पनि गाउँथिन् । सुन्नेहरू अरू गाउन भन्थे । सुनाउनकै लागि गाउँथिन् । सुदूरपश्चिममा चलेकै देउडा र ठाडी भाका थियो ।

तराई झरेको रात 
पहाडबाट तराई झर्ने लहर अझै रोकिएको छैन । पहाडका दुःख बिसाएर ०४८ सालतिर उनीहरू पनि तराई झरे । कञ्चनपुरको बंक पुगे । जहाँ कोही आफन्त थिएनन् । फाँटहरूमा संघर्ष गरे । संघर्षले एउटा कटेरो उभियो । पहाडमा जस्तो गीत गाउँदै माग्दै हिँड्न पनि गाह्ै थियो । सुरुवाती चरणमा खुबै पिरोलिए । पिरैपिरले उनको स्वरमा दुःख फुर्थे । उनी भन्छिन्, ‘दुःखमा पनि स्वरले साथ दियो मलाई ।’ त्यो कटेरो अझै छ ।

तर, जीर्ण । खर, माटो, त्रिपालको संयुक्त छानो । भित्ताहरू जीर्ण । गरिबीमा फुरेको स्वरले घरका भित्ता अझै टाल्न सकेकी छैन । गरिबीकै रेखामुनि चलेको स्वरले अहिले पनि अवसर खोजिरहेका छन् । वेला—वेला मजदुरी गर्न श्रीमान् कित्थ्ये सारंगी बिर्सिएर भारत पलायन हुन्छन् । केही महिना कमाउँछन् । डिक्राको स्वरले कित्थ्येलाई झस्काउँछ । सारंगीको तारले बोलाएझैँ लाग्छ । अनि आउँछन् डिक्राको स्वरमा सारंगीका तार रेट्न ।

श्रीमानको सारंगी डिक्राको स्वर
हातमा सारंगी बोकेर सुदूरपश्चिमका स्टुडियो चाहार्थे कित्थ्ये बादी । उनकै हात समाएर डिक्रा गीत गाउन पस्थिन् । कतिपयले ‘परेवा जोडी आए’ भनेर उनीहरूलाई प्रेम देखाउँथे । डिक्राको १४ वर्षको उमेरमै विवाह भयो । बाजुरेली डिक्राले बझाङ सिमलपानीका कित्थ्येसँग विवाह गरिन् । जीवनमा रथका पांग्रा अहिले पनि उसैगरी दुःखका साथ घुमिरहेको छ । उनी सम्झिँदै भन्छिन्, ‘बालखैमा बिहे भयो, बुढाको साथ अझै उस्तै छ ।’

श्रीमान् कित्थ्ये अझै पनि मादल र सारंगी आफैँ बनाउँछन् । आफँै रेट्छन् । उनीहरू दोहोरीमा भिड्छन् । कहिलेकाहीँ मदिराको प्याकमा कित्थ्या पनि गुनगुनाइदिन्छन् । डिक्रा के कम, लोग्नेको स्वरलाई दोहोरीमै जितिदिन्छिन् । दाम्पत्य जीवनमा घरायसी दोहोरी नचल्ने कुरै भएन ।  डिक्रालाई सुुदूरको गहनाका रूपमा हेरिन्छ । उनले पनि त आफ्नै खेल खलियान र जीवनका सुस्केराहरू गाइन् । आफ्नै परिवेश सुनाइन् । गीतमै सुदूरपश्चिम चिनाइन् । डिक्राको परिवार ऐलानी जग्गामै छ । झुप्रोमा अभाव घन्किरहन्छ । गीतले जिस्काए जस्तो लाग्छ । क्यासेट चक्काको युग सकिएपछि उनी स्टुडियो छिरेकी छैनन् ।

सुदूरपश्चिम र मध्यपश्चिममा उनलाई नचिन्ने कमै होलान् । ५२ सालतिर देउडा गीत रेकर्ड भएपछि उनको स्वरले एकछत्र राज ग¥यो । डोटेली गीत मन पराउनेहरू उनका गीत खोजी खोजी सुन्न थाले । सुदूरपश्चिमका सवारी साधनहरूमा पनि बज्न थाले । सहरका पसलदेखि गाउँका रेडियो एफएमसम्म उनका गीत बजिरहन्थे । उनका एकल एल्बम मात्रै एक दर्जन छन् । फुटकर गीत पनि थुप्रै गाइन् । स्वयम् शब्द संकलन गर्थिन् । उनको गीत जनप्रिय हुँदै आएको उनी स्यवमलाई आश्चर्य लागेको थियो । जीवनका अनेक आयामहरूलाई स्वरमा भर्न कुनै गाह्रो थिएन । उनी खरर गाउन सक्थिन् । समय स्वयम् गीत बनेर उनको गलामा भरिन्थ्यो । डिक्रा गुन्गुनाइदिन्थिन् । 

टेप रेकर्ड, क्यासेट र मेमोरी कार्ड !   
विक्रम संवत २०२० को दशकमा बझाङको एक विकट गाउँमा डिक्रादेवी जन्मेकी हुन् । बुवा बैरागी र आमा जानकीको कोखबाट पहिलो सन्तानका रुपमा जन्म पाएकी डिक्रा बच्चैदेखि राम्री थिइन् । रुपमा जति राम्री थिइन्, स्वर त्योभन्दा बढी मिठो थियो । सायद शब्दमा बयान गर्नै नसकिने कोइलीको जस्तो सुरिलो स्वर भएर होला, जसको चर्चा दिन दुई गुणा रात चौगुना भएर चुलियो । बझाङबाट बाजुरा, अछाम, डोटी, दार्चुला, कैलाली, कञ्चनपुर हुँदै सारा सुदूरपश्चिम र मध्यपश्चिमसम्मै डिक्राको स्वरमा ठाडी भाका गुञ्जिन थाल्यो । यतिञ्जेल बझाङका डाँडापाखामा गाईबाख्रा चराउँदा भाका हाल्ने डिक्रा टेप रेकर्डमा अटाउने भइसकेकी थिइन् । मेलापातमा सुरिलो स्वर सुनेका परदेशी डिक्राको ठाडी भाका टेपमा रेकर्ड गरेर लैजान्थे ।

फेरि–फेरि रिवाइन्ड गरेर सुन्थे । घरको सम्झना तिर्सना मेटाउँथे । ‘टाढा टाढाबाट स्वर सुनेर आएको भन्थे । गीत गाउन लगाएर टेपमा रेकर्ड गरेर लैजान्थे । बम्बई जाने बेला पनि रेकर्ड गर्थे । बाटोमा सुन्दै जान्थे । घर फर्किंदा पनि ‘एक डाको गाईदेओ जहानलाई सुनाउँछु’ भन्थे । मेरो स्वर धेरैलाई मन परेको थियो’, उनले भनिन् ।  यसरी सानैमा ठाडी भाकाकै लयमा हुर्केकी डिक्रालाई ठूली गायिका बन्ने रहर जाग्यो । समाजको परम्परा अनुसार सानैमा विवाह गरेर घरजम गर्नेभन्दा गीत गाएर चर्चित हुन मन लाग्यो । तर उनको मनलाई कसले पो बुझिदिने ? उसो त डिक्रालाई आफ्नो सपना पूरा गर्न सजिलो पनि कहाँ थियो र ? यी सब रहरका पाटा थिए । 

बिहेको उल्झन !
तीसको दशकको सुरुमै डिक्राको स्वर सुुदूरपश्चिममा चर्चित बनिसकेको थियो । उनको स्वर जति सुरिलो भएर फैलिँदै गयो, त्यति नै उनलाई मनकी रानी बनाएर लैजाने  राजकुमारहरुको लर्को लाग्न थाल्यो । तर सकेसम्म डिक्राले नाइनास्ती गरिन् । ककसलाई नाइँ भन्नु ? कति जनालाई रित्तै फर्काउनु ? आमा बुवाले साथ दिएसम्म डिक्राले सोचेकै पुग्यो । कसैले जबर्जस्ती गर्न पाएनन् । घिसिँ्रदै पराई घर जानु परेन । उनको मनको राजकुमार कुनै बादी समुदायको नभएर एक नामी युवक थियो । आफू जस्तै गोरो । अग्लो । लोभलाग्दो । हेर्दै मन फुरुङ्ग पार्ने जस्तो । आखिर आफूभन्दा माथिल्लो जातका मान्छेसँग लगनगाँठो कस्ने डिक्राको रहर थियो । तर सबै रहर कहाँँ पूरा हुन्छन् र ? डिक्राको रहर पनि त्यस्तै भयो । 

९ महिनासम्म पिछा नछाडेका किथ्याको दुस्साहस !
डिक्रा १३ वसन्त काटेर १४ टेकेकी थिइन । स्वरको जादुले सबैतिर चर्चा कमाइसकेको थियो । बाजुराका किथ्या वादीका कानमा पनि यो कुरा पुग्यो । बिहे गरौँ भनेर कस्सिएका किथ्या ‘खै कस्ती फलेउटी (केटी) रैछ, एक पटक हेरिहालूँ’ भनेर बझाङ पुगे । सानी आमाकै घर बझाङ पुगेका उनले जब पहिलो पटक डिक्रालाई देखे, सबै कुरा भूले । बिहेको प्रस्ताव गरिहाले । तर डिक्राले इन्कार गरिदिइन् । किथ्याको प्रयास निरर्थक बन्यो । तर हार खाएनन् । डिक्रालाई मनकी रानी बनाइ  छाड्ने सपना पालेर किथ्या उनका आमा बुवासँग माग्न गए । आमा बुवाले पनि किथ्यालाई खाली हात फर्काइ दिए ।

4

बिहे गर्छु भन्दा नदिएपछि किथ्याले भगाउने प्रयास गरे । फकाउन थाले । एक महिना, दुई महिना होइन, नौ महिनासम्म पछि लागे । घाँस काट्न मेलापात जाँदा होस् वा गाईबाख्रा चराउन जङ्गल जाँदा, कसैगरी पनि किथ्याले पिछा छाडेनन् । अन्ततः डिक्राको मन पनि पग्लिन थाल्यो । सबैको दबाब पनि बढ्दै गएको थियो । ‘सुरुमा धेरै प्रयास गरेँ । तर कसैले मानेनन् । उल्टो सबैले झर्को मान्न थाले । ससुरा बुवा रिसाउन थाले । मेरी छोरी दिंदैन भन्थे । देखे पनि राम्रो मान्दैनथे’, किथ्याले भने, ‘तर लगातार पिछा गर्न छाडिनँ ।’  २०३६ सालमा देशमा राजा रोज्ने कि बहुदल रोज्ने भन्नेमा जनमत संग्रह भयो । यता डिक्राको मनको जनमत भने बिस्तारै बिस्तारै किथ्याको पक्षमा जान थाल्यो । अन्ततः देशले राजाकै हुकुमी शासन पायो । डिक्राको मन पनि किथ्याको साम्राज्यमा समाहित हुन पुग्यो ।

अनि सुरु भयो विभेदको संघर्ष
किथ्याको लामो कसरतपछि सुदूरपश्चिमको ठाडी भाकामा चम्किलो तारा बनेर उदाएकी डिक्रादेवी गायिका होइन, पुर्खाकै रीतिअनुसार बादीकी श्रीमती बनिन् । डाँडापाखा रन्किने गरी ठाडीभाका गाउने डिक्रा अब जुठा भाँडा मस्काउन थालिन् । यसबीचमा छोराछोरी जन्मे । परिवार बढ्दै गएपछि किथ्या–डिक्राको जहान परिवार बझाङबाट कैलाली बसाई स¥यो । आफ्नो जमिन नभएपछि उनीहरु कैलालीबाट फेरि कञ्चनपुर पुगे । अहिले पनि एक धुर ऐलानी जग्गामा किथ्या र डिक्राको झुपडी छ । झुपडीमै जिन्दगी चलिरहेको छ । बादी भन्ने बित्तिकै मागी खाने जात भन्ने सुदूपश्चिमको मानसिकता आज पनि फेरिएको छैन । तर अहिलेसम्म डिक्रा परिवारले हातै फैलाएर मागी खाएका छैनन् । जति सकिन्छ दुई हात नंग्रा खियाएर साँझ बिहानको छाक टारेका छन् । तर डिक्रा दम्पतीलाई भने सबैले हेयको दृष्टिकोणले हेर्थे । कहिल्यै मान्छेका दृष्टिले हेरेनन् । यसलाई डिक्रा शब्दमा व्यक्त गर्न सक्दिनन् ।

पहिलो गीत भारतमा रेकर्ड भयो, नेपालमा गुुञ्जियो !
पचासको दशकमा नेपाली गीत संगीतले बजार लिइरहेको थियो । नारायण गोपालका गीत सबैतिर घन्किन्थे । सुदूरपश्चिमको देउडा गीत मेला, महोत्सवमै सीमित थियो । ठाडी भाका गाउँघरमै मात्र गाइन्थ्यो । जब टेप किनेर परदेशी गाउँघर पुग्न थाले, बजारबाट क्यासेट किनेर गीत सुन्ने चलन बढ्यो । अनि देउडा गीत पनि रेकर्ड हुन थाले । २०५२ सालमा सुदूरपश्चिमकै नरेन्द्रराज रेग्मी र गोरख थापाले भारतको पलियामा बसिबियालो गीत रेकर्ड गराए । त्यतिबेला काठमाण्डौ आउन भन्दा पलिया जान नजिक पथ्र्यो ।

जसमा पहिलो पटक डिक्रादेवीको स्वर पनि समावेश भयो । कञ्चनपुरमा बस्ने डिक्रादेवीको स्वरमा गीत रेकर्ड गरे एल्बम बिक्छ भन्ने चर्चा त्यो समयमा थियो । रेग्मी र थापाले पनि एल्बम बिकाउनैका लागि डिक्रादेवीलाई पलिया लिएर स्वर भर्न लगाएका थिए । एल्बम बिकाउनका लागि रेकर्ड गरिएको गीतले डिक्रादेवीलाई व्यवसायिक गायिका बनायो । त्यसयता झण्डै दश वर्ष सुदूरपश्चिमका सबैजसो देउडा गीत र ठाडी भाकामा डिक्रादेवीले स्वर दिएका छन् । ‘पलिया गएर पहिलो गीत गायाकी हूँ । त्यसपछि अरु गीत पनि गाएँ । क्यासेट हराएर मेमोरी कार्डको जमाना आएपछि गीत गाउनु छुट्यो’, डिक्राले भनिन् ।

डिक्रादेवीको कोकिलकण्ठ स्वरको चर्चासँगै माग बढ्न थालेपछि अन्तराम बिष्टले पहिलो पटक काठमाण्डौ ल्याएर ‘बउजु गीत’ रेकर्ड गराएका थिए । त्यसपछि डिक्रादेवीले विभिन्न मेला महोत्सवमा पनि गीत गाइन् । तर अरु गायक गायिका जस्तो जीवन धान्ने पारिश्रमिक र सम्मान पाउन नसकेपछि उनले महोत्सवमा पनि गीत गाउन कम गरिन् । त्यसमाथि क्यासेटलाई विस्थापित गर्दै गीत संगीतको बजार ‘मेमोरी कार्ड’ हुदैँ डिजिटल युगमा प्रवेश गरेपछि डिक्रादेवी भने ओझेल परिन् । ‘पारिश्रमिक नपाउँदा र क्यासेटको जमाना हराएपछि गीत गाउन छाडेकी हूँ । पहिलो जस्तो खोजी खोजी गीत गाउन लगाउने पनि कोही भएनन’, उनले भनिन् ।

फेरि तयार छिन् गाउन
जादुयी स्वरकी धनी डिक्रा गायनमै फर्किन चाहन्छिन् । आफ्नै स्वर मार्फत लोक बुझाउन चाहन्छिन् । डेउडा बुझाउन चाहन्छिन्, ठाडी सुनाउन चाहन्छिन् । उनी भन्छिन्, ‘स्वरले साथ दिएको छ अब गाउने अवसर पाए हुन्थ्यो ।’ उनका सारंगी, बउजु, सुनकेशरी, लडेली चेली, लोग्ने छ परदेश, माछी जाल, प्याउली फूल फूल्न देउ, साँफे बस पुगिगयो, हाम्रै भीरपाखा, लाल छाता जस्ता एल्बम सार्वजनिक छन् । ५१ वर्षको उमेरमा पनि आफ्नो स्वरमा गर्व छ, उनलाई । उनको स्वरले आङको रौँ नै जिरिङ बनाउँछ । 

सुदूरका भाकालाई अझै देशविदेश चिनाउने उनको रहर छ । अवसर खोइ त ? उनी भन्छिन्, ‘जीवन त एक्लै पनि चल्दोरहेछ, गायन भने सबैको कारण चल्दोरहेछ ।’ यत्तिभन्दा पनि उनी हँसिली थिइन् । उनको स्वरले उनलाई रुन दिँदैन । सुखदुःखमा उनलाई पहिलो साथी नै उनको स्वर बनेको छ । विदेशी महिला आना स्टिरले डिक्राका दुई लाइन डेउडा गीत गाइन् । आनाले डिक्राका गीत डिक्राबाटै सिकेर गाउँदा भाइरल हुन्छ भने स्वयम् कोकिल कण्ठकी लोकगायिका डिक्रा बादीले गाइन् भने कति भाइरल हुन्थ्यो होला ?

कमब्याक कि पुसब्याक !
क्यासेटको जमाना हराएर सामाजिक सञ्जालको युग सुरु भएका बेला डिक्रादेवीले फेरि गायन यात्रालाई निरन्तरता दिएकी छन् । साहित्यकार हेमन्त विवश, अमृत भाद्गाउँले, झुमा लिम्बू लगायत सर्जकको पहल र श्रोताको मायाले पहिलो पटक काठमाण्डौमा डेढ बर्ष अघि एकल साँझ कार्यक्रममा ठाडी भाका गाएकी डिक्रा निरन्तर गीत गाउने दाबी गर्छिन् । ‘हेमन्त भाइले लामो समयदेखि सोधीखोजी गर्दा धेरैले मलाई मरिगई भन्थे । तर म जिउँदै छु । फेरि पनि ठाडी भाका गाउँछु । सास रहेसम्म, स्वरले साथ दिएसम्म गीत गाउँछु’, डिक्राले भनिन् । झण्डै दश वर्षपछि सञ्चारकर्मी केपी अनमोलले लेखेको ‘सुवा’ बोलको गीत गाएर डिक्रा गायनमा फर्केकी हुन् । उमेरले ५१ कटे पनि सुदूरपश्चिमकी पहिलो देउडा गायिका बनेकी डिक्रादेवीको स्वरमा अहिले पनि जादु नै मिसिएको भान हुन्छ ।

सर्जकको मायाले लामो समयपछि गीत संगीतमा फर्केकी उनले फेरि गीत गाएरै जीविकोपार्जन गर्छिन् भन्ने आधार पर्याप्त छैन । पहिलेजस्तो अहिले देउडा गीत पर्याप्त मात्रामा रेकर्ड हुन पनि छाडेका छन् । रेकर्ड भएका गीतमा पनि श्रोता तथा दर्शकको उतिसारो माया छैन । आधुनिक र पश्चिमा गीत संगीतले बजार धानेका बेला मौलिक देउडा गीतलाई फेरि जगाउनु चुनौती छ । लामो समयपछि सर्जकको मायाले गीत गाएकी डिक्रादेवीले धेरैको साथ सहयोगमा पुनरागमन गर्ने अपेक्षा गर्न सकिन्छ । सुदूरपश्चिमका डाँडापाखामा मात्रै सुनिने उनका गीत अहिले देश विदेशमा गुञ्जिने गरे पनि फेरि त्यही समय ल्याउन कठिन छ । यद्यपि उनका शून्यप्रायः गीत अहिले युट्युबमा भेटिन थालेका छन् । पहिले पहिले स्टुडियोमै थन्किएका, क्यासेटमै सीमित गीतका अडियो मात्रै भए पनि युट्युबमा भेटिनु उनको अस्तित्वमाथिको सम्मान हो । 

अन्तिम प्रश्न, सरकार विभेद कहिले अन्त्य गर्छौ ?
डिक्रा दम्पतीलाई अहिले पनि सबैभन्दा बढी झस्काउने समस्या हो, जातीय विभेद । विभेदकै कारण डिक्राले थुप्रै महोत्सवमा गीत गाउँदा पारिश्रमिक पाउन सकिनन् । कैयौँ गीत रेकर्ड गर्दा पूरा पारिश्रमिक लिन सकिनन् । मागी खाने जातका रुपमा समाजले बुझ्दा उनी बादी समुदायकी महिलाभन्दा माथि उठेर गायिकाका रुपमा समाजले चिन्न सकेन । सामाजिक रुढीवादी सोचका कारण डिक्रालाई अहिले पनि यी समस्याले निकै पिरोल्छन् । चर्चित र लोकप्रिय देउडा गायिका भए पनि उनकै स्वरमा स्वर मिसाएर थुप्रै गायक बने । उनलाई प्रयोग गरेर धेरैले एल्बम बिक्री गरे । पैसा कमाए । तर डिक्राले अझै पनि आत्मसम्मान समेत पाउन मुसिकल भइरहेको छ । ‘खाउँ भने अन्न छैन । बसौँ भने गतिलो बास छैन’, आँखाका डिलबाट बरर्र आँशु झादै डिक्राले भनिन्, ‘यै देशको नागरिक हौँ भने केही न केही व्यवस्था गरिदेउ । सबैभन्दा पहिला यो तल्लो जात माथिल्लो जात भन्ने हेपाइ बन्द गरिदेउ ।’

२०६४ सालमा बादी समुदायका महिलाले काठमाण्डौ आएर सिंहदरबार घेराउ गर्दा डिक्राले साथ दिएकी थिइन् । उमादेवीले सिंहदरबारको गेट चढेर राज्यलाई चुनौती दिँदा डिक्रा पनि अर्धनग्न भएर नारा लगाइरहेकी थिइन् । माग पूरा गर्छौ भनेर सहमति गरेको सरकारले आफूलाई सधैँ ढाँट्दै आएको उनको गुनासो छ । ‘सरकारले घर बनाउँछु, लालपूर्जा भएको जमिन दिन्छु भनेको थियो । तर अहिलेसम्म सोधखोज पनि गरेको छैन’, बादी समुदायका व्यथा सुनाउँदै डिक्राले भनिन्, ‘हामीलाई सबैले ढाँटे । कसैले बोलेको बचन पूरा गरिदिएनन् । सबैले हेपेरै त होला ।’ तर पनि सबैको साथ, सहयोग र हौसलाले डिक्रा दम्पत्ती अहिले थोरै भए पनि आशावादी छ । विगतमा जे जति दुःख पीडा पाए पनि अब सुख सन्तोषले जीवन बिताउने र आत्मसम्मान पाइनेमा आशावादी छन् । दुई छोरी आफ्ना घर गएर छोराले बुहारी ल्याउँदा समेत आराम नपाएको यो जोडी दर्शक र श्रोताको मायाले भने सारङ्गी रेटेरै फेरि गीत गाउन उत्साहित देखिन्छ ।