व्यास गाउँपालिका –५ की तारा कुँवर चैत ११ अघि दैनिक भारतमा मजदुरी गर्थे। बिहान मजदुरी गरेर बेलुकी खाद्यान्न तेल बोकेर घर फर्किनुपर्ने दैनिकी थियो। नेपाल भारत जस्तो लाग्दैन थियो त्यो तिगरमको झोलुंगे पूल। तिगरमको पारी पट्टि भारतीय गाउँ स्याकुरी छ। त्यहि गाउँबाट घाँस लिएर नेपाल आउजाउ हुन्थ्यो। ‘हाम्रो वारीपारी बिहेवारी धार्मिक सम्बन्ध छ’ कुवरले भनीन, ‘उनीहरु हाम्रोमा पूजापाठ गर्न आउँछन्, हामी पारी भारतमा घाँस काट्न जान्छौ।’
तर चैत ११ देखि नेपाल भारत जोड्ने तिगरमको झोलुंगे पुल बन्द भएपछि अहिले सीमा क्षेत्र बस्तीका नागरिकलाई दैनिकी चलाउन धौधौ भएको छ। ‘यो लकडाउनले हामीलाई नुन तेल ल्याउनै समस्या भएको छ’ कुवरले भनीन, ‘अहिले नेपालतिर एक दुई घण्टा उकालो चढेर घोरेटो बजार पुग्नुपर्छ। दार्चुला तिंकर सडक अवरुद्ध भएको हुँदा व्यापारीले महंगो मूल्यमा खाद्यान्न नुन तेल विक्री गर्छन्। हामी गरिबलाई निकै समस्या भएको छ।’
विगतमा भारतमा मजदुरी गरेर पनि परिवार चलाउने गरेको तर अहिले लकडाउनले काम गर्न नपाइएको उनले बताइन। ‘जेठ असारमा यार्सागुम्बा खोजिन्थ्यो, अहिले यार्सा पनि हेर्न पाइएन्। यार्साबाटै २ लाख रुपैयाँसम्म कमाई हुन्थ्यो, अहिले पनि दैनिक छाक कसरी टार्ने चिन्ता हुन थालेको छ’ उनले भनीन। नेपालतिर सडक नहुँदा खलंगा बजारबाट ढुवानी गर्न एक दिन पूरै लाग्ने गरेको कुँवरले बताइन।
स्थानीय नन्दा कुवर पनि विगतमा तिगर पारीको बजारबाट चामल तेल ल्याउथिइन। गाउँमा उत्पादन भएको भट्मास मकै त्यहाँ लिएर विक्री गर्थिन। तर अहिले त्यो अवस्था रहेन्। बन्दाबन्दीले महकाली किनार नजिक बस्तीका स्थानीयलाई खाद्यान्नको जोहो गर्न समस्या भएको अर्की धाना कुँवरले बताइन। ‘गाउँको बजार पनि टाढा छ। अहिले बाटो नहुँदा खाद्यान्नै महंगो पुग्ने गरेको छ। समयमै खाद्यान्न नहुने भएपछि यो क्षेत्रमा खाद्यान्न समस्या हुने अवस्था आउँछ’ उनले भनीन।
संकल्पद्वारा सञ्चालन भएको टोसा कार्यक्रमले पारी भारत स्याकुरी र व्यास ५ तिगरमका महिलाहरुबीचको हरेक तीन महिनामा इन्डो नेपाल संयुक्त बैठक गराएर सम्बन्ध नजिक बनाएको थियो। स्थानीय कलावती कुवरले भनीन, ‘अहिले बन्दाबन्दीदेखि वारीपारी बैठक बस्न पाएका छैनौं। पारी भारतका स्थानीयसँग अहिलेपनि फोनमार्फत सम्पर्क भने नियमित हुने गरेको छ।’
आफुहरुमाथि भारतीय सुरक्षाकर्मीद्वारा पनि राम्रै व्यवहार हुने गरेको कलावतीले बताइन। ‘वारीपारीको भावना थिएन्, कामको शिलशिलामा अहिले पनि हाम्रा छोराहरु उतै छन्। पुल बन्द भएको कारण आउन पनि पाएका छैनन्। पुल खुला भएको भए वारीपारी सधै चलिरहने ठाउँ हो।’