फेरि लकडाउन गरिए अवज्ञा गर्ने कैलालीका व्यवसायीको घोषणा
2020/09/24, 8:44
 
cdo office

कैलालीका व्यवसायीले पुनः लकडाउन गरिए अवज्ञा गर्ने घोषणा गरेका छन्। बिहिबार जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै उद्योग बाणिज्य संघ कैलालीले पुनः लकडाउन गरिए अवज्ञा गर्ने घोषणा गरेका हुन। 

स्वास्थ्य मन्त्रालयले २५ हजार बढी सक्रिय कोरोना संक्रमित पुगे पुनः लकडाउन गर्न सिफारिस गरेको छ। यद्यपी उक्त सिफारिसमाथि मन्त्रीपरिषद्को बैठकमा छलफल हुन बाँकी छ। तर उद्योग वाणिज्य संघले उक्त निर्णय भएमा नमान्ने तर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार व्यापार व्यवसाय सञ्चालन गर्ने जनाएको छ। 

यस्तै भारतीय कामदारलाई सीमा प्रवेशको अनुमति दिनुपर्ने समेत माग गरिएको छ। उद्योग वाणिज्य संघले सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै भारतीय दक्ष कामदार लकडाउनपछि भातरत गएकाले उनीहरुले सीमा प्रवेशको अनुमति पाउनुपर्ने माग गरेको छ।   

यस्तै भारतबाट दैनिक मालसामान आयात गर्न बिहान १० देखि साझ ५ बजेसम्मका लागि मात्र सीमा खोलिएकाले त्यो झन्झटिलो भएको व्यापारीहरुको गुनासो छ। उनीहरुले बिहान ६ देखि राती ८ बजे सम्म सीमा नाकाबाट मालसमान ल्याउन पाउँनुपर्ने माग गरेका छन्। १० देखि ५ बजेसम्मका लागि मात्र नाका सञ्चालन गर्दा भिडभाड भएको र व्यापारीलाई भन्सारको प्रक्रिया पुरा गर्न तीन दिन लागेको उनीहरुको गुनासो छ। 

उद्योग वाणिज्य संघले कैलालीका विभिन्न ठाउँमा व्यापार व्यवसाय गर्दै आएकाहरुलाई समेत प्रवेश अनुमति दिन माग गरेको छ। यस्तै संघको साधारण सदस्य रहेका र प्यान नम्बर पनि भएका व्यापारीहरुलाई सीमा प्रदेशको अनुमतिका लागि आग्रह गरिएको हो। बुधबार सोही विषयमा सुदूरपश्चिमका  मुख्यमन्त्री त्रिलोचन भट्टलाई समेत ज्ञापन पत्र बुझाइएको थियो।