झन्डै ४० महिना यता नेपालको भलिबलको प्रगति हेर्ने हो भने लोभलाग्दो छ । राष्ट्रिय खेल घोषणा भएसँगै घरेलु भलिबलमा प्रतियोगिताको निरन्तरता सँगै अन्तर्राष्ट्रिय सहभागिता पनि बढ्दो छ । अन्तर्राष्ट्रिय स्तरमा त झन् नेपालले सफलता पनि हासिल गरेको छ । नेपालको पुरुष टोलीले २०७३ को चैतमा नेपालको पुरुष टोलीले पहिलो अन्तर्राष्ट्रिय पदक जितेको थियो । माल्दिभ्समा आयोजना भएको सेन्ट्रल जोनमा नेपालले कास्य पदक जितेको थियो । चार दशक लामो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पुरुष भलिबलमा जितेको त्यो पहिलो औपचारिक पदक थियो ।
३६ वर्षे दक्षिण एसियाली खेलकुद (साग) मा पुरुष टोलीले अहिलेसम्म कुनै पदक जित्न सकेको छैन । यस्तो उपाधि खडेरीमा सेन्ट्रल जोनमा तेस्रो स्थान प्राप्त गर्नु ठूलै उपलब्धि थियो । सफलताका हिसाबले त्यसपछि गत वर्ष (२०७६) नेपाली भलिबलका थप ऐतिहासिक बनेको थियो । यस पटकको सफलता भने महिला टोलीले दिलाएको थियो । एक महिनाको अन्तरमा महिला टोलीले स्वर्ण र रजत पदक जित्नु अहिलेसम्मकै ठूलो उपलब्धि थियो । बंगलादेशमा सेन्ट्रल जोनमा स्वर्ण पदक जितेर फर्केको महिला टोलीले महिला दिन नबित्दै घरेलु कोर्टमा १३ औं सागमा रजत पदक जितेको थियो । तीन दुवै नेपालले महिला भलिबलमा पहिलो पटक जितेका पदक थिए । सागमा त्यस अघि ३ वटा कास्य पदक जितेपनि फाइनल भने यसै पटक पुगेको थियो ।
त्यसमाथि पनि फाइनलमा नेपाली टोलीले दक्षिण एसियाकै बलियो टोलीलाई भारतलाई चुनौती दिएको थियो । यद्दपी नेपाल ३–२ ले पराजित हुँदै रजत पदकमा सिमित भएको थियो । तर, भविष्यमा भारतलाई जित्न सक्ने एउटा सम्भावना भने देखाएको छ । भलिबलले दिलाएका यी तीनै महत्वपूर्ण सफलताका महत्वपूर्ण हिस्सा हुन् प्रशिक्षक जगदिश भट्ट । पुरुषले कास्य पदक जित्दाका सहायक प्रशिक्षक भट्ट महिलाका दुवै सफलताका मुख्य प्रशिक्षक थिए । त्यस अर्थ उनी नेपाली भलिबलका सबैभन्दा सफल प्रशिक्षक हुन् । भन्डै डेढ दशक लामो प्रशिक्षणमा उनले भलिबलमा इतिहास लेखाउन सफल भएका छन् । यद्दपी महिला टोलीको जिम्मेवारी दिदा उनीमाथि प्रश्न नउठेको होइन ।
तत्कालिन कप्तान विनिता बुढाथोकी, उपकप्तान मन्जु गुरुङ, कोपिला उप्रेती जस्ता सिनियर खेलाडीलाई उनले छनोटको २५ भित्र पनि पारेनन् । भट्ट भलिबल संघका सचिव पनि हुन् । त्यसले उनको निर्णयमा संघको साथ रह्यो । अनुभवी र त्यस अघि सागमा पदक जित्दाका महत्वपूर्ण खेलाडीलाई छनोटमा समेत नराख्दा उनको आलोचन नभएको पनि होइन । साग र त्यसअघिको सेन्ट्रल जोनका लागि उनले नयाँ टोली बनाउनुपर्ने र त्यसको जोखिम आफु उठाउन तयार रहेको प्रष्ट पारेका थिए । उहाँहरुले जति योगदान दिनुभयो त्यसका लागि हामीले सम्मान गर्नुपर्छ त्यति बेला भनेका थिए, अब हामी नयाँ टोली बनाउन चाहन्छौं भने नयाँ खेलाडीलाई मौका दिनुपर्दछ । उनको योजनामा संघको ठूलो साथ रह्यो । आलोचनकै बीच उनले सेन्ट्रल जोन र सागको तयारी गरे ।
बंगलादेशमा भएको सेन्ट्रल जोनमा ५ देश सहभागिता रहेको च्याम्पियनसिपमा भट्टकै रणनीतिमा नेपाल एकै सेट नगुमाई च्याम्पियन बनेको थियो । भट्टले आफुमाथि तेर्सिएका सबै प्रश्नको जवाफ त्यही स्वर्णबाट दिए । सफलताले कमजोरीलाई छोप्छ । त्यो नेपालको अहिले सम्मकै ठूलो सफलता थियो । भट्टका लागि अर्को चुनौति थियो, सागमा सफलता । कास्य पदक जित्दा पनि उनले ठूलो जस पाउने अवस्था थिएन । सायद टोलीको मनोबल बढाउनका लागि हुन सक्छ उनले आफ्नो टोलीलाई स्वर्ण पदकको दाबेदार बताउँदै आएका थिए । धेरैलाई विश्वास थिएन, तर पनि सेन्ट्रल जोनको सफलताले उनको दाबीलाई हल्का लिने अवस्था पनि थिए । जब, टोलीलाई उनले सागको फाइनलमा पुर्याए धेरैलाई आशा लाग्यो, नेपालले भलिबलमा स्वर्ण पदक जित्न सक्छ । महिला टोलीले घरेलु दर्शकमा माझ खेल्यो पनि त्यस्तै ।
भारतसँग त्यस अघि एक सेट पनि जित्न नसकेको नेपाल च्याम्पियन बन्ने अवस्था सम्म पुगेको थियो । तेस्रो सेट सकिँदा नेपाल २–१ ले अगाडि थियो । चौथो सेट आफ्नै कमजोरीमा एक अंक नगुमाएको भए, सागमा नेपालको कथा अर्कै हुने थियो । अन्तमा नेपाल ३–२ ले पराजित भएको थियो । तथापी नेपालले रजत पदक जित्नु अहिले सम्मकै ठूलो सफलता थियो । ‘श्रीलंकालाई हराएर साग इतिहासमा सेकेन्ड मेडल हाम्रो हातमा थियौ,’ भट्ट फाइनल अघिको अवस्था स्मरण गर्दै भन्छन्,’ हामीले स्वर्ण जित्ने सोचेका थियौ । केही दबाबमा खेलेको कारण हामी हार्न पुग्यौं ।’
सागअघि थाइल्यान्डको प्रशिक्षण र सेन्ट्रल जोनको सफलताकै कारण टोलीको आत्मविश्वास बढेको भट्ट मान्छन् । ‘हाम्रा खेलाडीमा अनुभव र फिटनेसको कमी थियो । थाइल्यान्डमा हामीले झन्डै तीन महिना प्रशिक्षण र ७ वटा अभ्यास खेल थियौं । त्यहाँको अभ्यासले खलाडीको फिटनेस र अनुभव बढायो,’ पूर्व राष्ट्रिय खेलाडी समेत रहेका भट्टले भने, ‘त्यसपछि बंगलादेशमा भएको सेन्ट्रल म्याच एक्सिरियन्स भयो । त्यसको फाइदा लगत्तैको सागमा भएको हो ।’ घरेलु कोर्टमा हुने सागमा खेलाडी त्यसै उत्साहित थिए । त्यसमाथि प्रभावशाली व्यक्तित्वहरुबाट खेलाडीलाई मोटिभेट गर्ने प्रयास पनि खेलाडीको उत्साहित भएको भट्टको अनुभव छ । संघको योजनामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) साथ अन्य प्रशिक्षक भरोसामा सफलता मिलेको भट्ट बताउन्छन् । ‘महिला टोलीको मुख्य प्रशिक्षक बनाएपछि स्वर्ण ल्याउन पर्छ भनेर लागेका थियौं’, उनले भने, ‘खेलाडीलाई मोटिभेसन दिएर एक ढीक्का बनाएर अघि बढाउनु पर्ने अवस्था थियो । सबैसँग सल्लाह गरेर त्यही अनुरुप अघि बढेको हौ ।’
खेल जीवनमा आफ्नो सोच्न पनि नसकेको सफलता भट्टले देशका लागि दिए । सन् २००४ को नवौं सागपछि उनले सक्रिय खेल जीवनबाट सन्यास लिएका थिए । त्यस लगत्तै उनी प्रशिक्षणमा आबद्ध भएका थिए । खेल जीवनदेखि सफल प्रशिक्षणको यात्राबाट भट्ट एउटा निष्कर्षमा पुगेका छन् । ‘हरेक दश बर्ष नेपालमा एउटा खेलको चर्चा हुने गर्दछ । नेपालमा एक समय फुटबलको थियो । कुनै बेला भलिबलको पनि थियो । पछिल्लो समय क्रिकेटको थियो,’ उनले अनुमान लगाए, ‘अब महिला भलिबलले राम्रो गर्न सक्ने सम्भावना देखिएको छ । दक्षिण एसियाली इस्लामिक देशले पनि महिला भलिबलमा लगानी गरिरहेको र उनीहरुले पनि राम्रो सम्भावना देखाएको भट्टले देखेका छन् ।’ ‘हामीले महिला टोलीले आउने केहि वर्षमा राम्रो गर्न सकोस् भन्नका लागि केहि जोखिम पनि लिएका हौं । अहिले राम्रो खेलाडी लियौ भने ७, ८ वर्ष यिनिहरुले धान्छन्, ‘उनले भने,’ केहि समय सबैलाई मौका दिनुपर्दछ । हामीले नयाँ खेलाडी पनि तयार गर्दै जानुपर्छ ।’
खेलाडी हुनुभन्दा प्रशिक्षक हुन निकै कठिन रहेको भट्टको अनुभव छ । सफलता वा असफलताको दोष खेलाडीलाई नै आउने हो । अझ असफलतामा बढी आलोचन प्रशिक्षककै हुन्छ । ‘खेलाडी हुँदा आफ्नो खेलका बारेमा सोच्दा पुग्छ । प्रशिक्षकले म्यानेजमेन्ट पनि गर्नुपर्छ । खेलाडीको ३ पुस्ता जान्नपर्छ । खेलाडीले के गर्छ, के खान्छ, मानसिकता के छ सबै बुझ्नुपर्ने हुन्छ’, उनले सुनाए । विदेशी प्रशिक्षकले मात्र सफलता दिन सक्छन् भन्ने मानसिकता भने परिवर्तन गर्नुपर्नेमा भट्ट जोड दिन्छन् । ‘विदेशीलाई ठूलो रकम खर्च गरेर ल्याउँदा पनि नतिजा आउन सकिरहेको छैन । अहिलेको मानकिसतामा परिवर्तन ल्याउनुपर्दछ । आफ्नै प्रशिक्षणमा लगानी गर्न सकेको खण्डमा लामो समय उसको सेवा लिन सक्छि । राखेपले खेलाडी र प्रशिक्षकलाई तालिममा पठाउने, केही कुरामा मात्र ध्यान दिने हो भने अन्य देशले भन्दा २५ प्रतिशत मात्रै लगानी गरे पनि हामी राम्रो नतिजा ल्याउन सक्छौं,’ उनले प्रष्ट पारे ।
भलिबल स्पोर्टस डिप्लोमा लेभल २ गरेको भट्ट राखेपका स्थायी प्रशिक्षक हुन् । झन्डै ३ लाख रुपैयाँ खर्च गरेर थाइल्यान्डमा कोर्ष लिन जाँदा राखेपको तत्कालिन नेतृत्वले ५० हजार रुपैयाँ मात्र दिएको तितो अनुभव उनीसँग छ । देशको भलिबल विकास का लागि प्रशिक्षक तयार पार्ने हो भने राज्यले लगानी गर्नुपर्ने उनी देख्छन् । भट्टलाई पनि अन्य प्रशिक्षकलाई जस्तै लाग्छ कि कुनै पनि खेलको आधार भूमि ग्रासरुट र स्कुलनै हो । संघ, राखेप वा नेपाल ओलम्पिक कमिटीले तल्लो स्तर देखि खेलाडी खोज्नका लागि काम गर्नुपर्ने र प्रशिक्षक पनि तयार पार्दै लानुपर्ने भट्ट सल्लाह दिन्छन् । ‘ग्रासरुट, स्कुलमा खेललाई कसरी अगाडी बनाउने भन्ने बारेमा ध्यान दिनुपर्छ । एनओसीमा पनि कोचहरुको लागि अवसर आइरहेका हुन्छ । स्पोर्ट साइन्सको विज्ञ, प्रशिक्षहहरुलाई पनि तालिम दिलाउनुपर्दछ । विद्यार्थीलाई खेलमा लाग्न खेलकुद शिक्षक पनि तयार पार्नुपर्ने हुन्छ,’ उनले थपे ।
खेलको विकास र खेलाडी तयार पार्नका लागि लामो समय मेहनत गर्नुपर्ने उनको ठम्याई छ । ‘खेल गतिविधि नभएको बेलामा विद्यालय र त्यहाका विद्यार्थीलाई मोडिभेट गर्न आवश्यक छ । यसका लागि संघ, एनओसी पनि महत्वपूर्ण हुन्छन् । राखेप भनेको हाम्रो अभिभावक हो । वेथितीलाई हटाउँदै खेलमा नै ध्यान दिनपर्छ,’ भट्टले भने । भलिबल संघको सक्रियता, खेलको सफलता, कम खर्चमा खेल्न सकिने र भौगोलिक बनोटका आधारमा उत्कृष्ट रहेको भन्दै सरकारले २०७४ को जेठमा राष्ट्रिय खेल घोषणा गरेको थियो । तर, सरकारले अहिलेसम्म भलिबलका लागि भने कुनै लगानी गरेको छैन । विना लगानी खेलको विकास मात्र सम्भव छैन ।
यस पटक केहि रकम छुट्टाइएको युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले बताएपछि भलिबल परिवार केहि उत्साहित छन् । तर, त्यो भन्दा बढी संघका पदाधिकारी बढी मेहनत गर्नुपर्ने अवस्था छ । ‘कोभिड १९ को कारणले संघको नयाँ नेतत्व चयनका लागि केहि ढिलाई हुने देखिएको छ । समय सामन्य थियो भने संघमा नयाँ कार्यसमिति आइसक्ने थियो । भिजन भएको मान्छे संघको नेतृत्वमा आउन जरुरी छ । जसले प्रायोजकलाई आकर्षित गर्न सकोस् । विदेशी सँग सम्बन्ध स्थापित गर्न सक्ने पछि हुनुपर्दछ,’ संघको नेतृत्वका कस्तो हुनुपर्दछ भन्नेमा उनको भनाई छ,’ संघ नेतृत्व सहित नभए राम्रा प्रशिक्षकले मात्र पनि केही हुँदैन । नेतृत्व सुतेर बस्यो भने केही हुदैन ।
सरकारले भलिबलमा केहि लागनी गर्ने, संघले पनि त्यहि अनुरुप योजना बनाउने हो भने आउने केहि वर्षमा भलिबलले अझै प्रगती गर्न सक्ने दाबी भट्ट गर्छन् । ‘भलिबलमा युवा पुस्ताको आकर्षण छ । भलिबलकै माध्यमबाट विभागिय टोली (सेना, प्रहरी, शसस्त्र) मा आबद्ध हुन पाइन्छ भन्ने पनि युवा पुस्तामा विश्वास छ,’ उनले भने,’ यो भलिबलका लागि राम्रो हो । खेलाडी उत्पदान, खेलाडीलाई एक्सपोजर दिने हो भने भलिबल अझै माथि जान सक्छ ।‘
कम आशामा निरन्तर अघि बढेको भलिबल यात्रा (उनकै भनाईमा)
‘कर्म गर तर फलको आश नगर’ यहि आदर्श भनाईलाई मूल मन्त्र मान्दै, हरक्षण आफूलाई केन्द्रित गर्दै, राष्ट्र र पेशा प्रति समर्पित हुँदै अनवरत रुपमा लम्किएको यात्रा निरन्तर चलेकै छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) मा भलिबल सहायक प्रशिक्षकको रुपमा स्थायी जागिर सुरु गरेको १६ वर्ष पूरा भएको छ । त्यो भन्दा अघि पहिला करार सेवामा ८ वर्षको सेवा अवधि जोड्दा राखेपमा आबद्ध भएको २४ वर्ष पूरा भएछ । विगत तीन दशकयता अनवरत रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सुरुमा खेलाडी र त्यसपछि प्रशिक्षकको मुख्य भूमिकामा जीवनको महत्वपूर्ण समयहरु उर्जनशील र सृजनशिल दिनहरू व्यतित गर्दा पुराना दिनलाई स्मरण गराएको छ । अध्ययनका सिलसिलामा माध्यमिक शिक्षा उतिर्ण गरेपछि डाक्टर बन्नु पर्छ भन्ने मेरो उद्देश्य थियो । त्यसैले विज्ञान विषयमा अध्ययन सुरु गरे । भलिबलबाट अलग हुन सक्ने कुरा थिएन ।
पढाई र खेललाई एक साथ अघि बढाउन सजिलो थिएन । भलिबल प्रतिको आकर्षणले अन्य अवसरलाई खासै महत्व दिइएन । भलिबलमै आकर्षित भइयो । फर्केर हेर्दा यो तीन दशक कति छिटो बित्यो पत्तै पाइन । सुन्दर भविष्यको सपना पूरा गर्ने यो बीचमा धेरै अवसर आए, जुन अवसरलाई मैले पनि आत्मसात गर्ने कोसिस त गरें तर भलिबल, पटक्कै छोड्न सकिन । पढाइमा अब्बल, कान्छो छोरो, सकेसम्म डाक्टर नै बनाउनु पर्छ भन्ने परिवारको सपना थियो । त्यसकै लागि मैले उच्च शिक्षाको सुरुवात विज्ञान विषयबाट गरे । तर, परिवारको सपना अधुरै रह्यो । म डाक्टर हुन सकिन । अर्को पटक फेरि मसँग एउटा मौका थियो । नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्टमा उर्तिण हुने सम्भावना थियो । तर, अन्तरवार्ता छोडेर म सातौं दक्षिण एसियाली खेलकुद (साग) खेल्न निस्किए ।
नेपाल टेलिकम ,नेपाल विद्युत प्राधिकण र दुग्ध विकास संस्थानको जागिर खाने अवसर छाडेर मैले राखेपमा खेलकुदकै सेवा गर्ने अढोट गरे । सन् २००२ र २००३ मा भारतको पटियालमा स्पोर्ट्स डिप्लोमा गर्ने अवसर पाउँदा महेन्द्रनगरमा भएको राम्रो व्यापार छोडेर पढ्न गए । त्यहाँ आफ्नो समूहमा उत्कृष्ट नतिजा ल्याएर स्वदेश फर्के । त्यसपछि आफ्नै खर्चमा थाइल्यान्ड र सिगांपुर लगायत अन्य स्थानमा समेत एड्भान्स कोचिङ कोर्ष गर्न गए । कुनै न कुनै दिन नेपालको भलिबललाई लागि फलदायी हुन सक्छ भन्ने उद्देश्यबाट यी निर्णय प्रेरित थियो । पाकिस्तानमा २००४ मा भएको नवौं साग खेलाडीका रुपमा मेरो अन्तिम प्रतियोगिता थियो । खेलाडीका रुपमा सन्यास लिएपछि भलिबलबाट म अलग हुने कुरै थिएन । प्रशिक्षकका रुपमा काम गर्दै गएँ । महेन्द्रनगरमा आफ्नै पहलमा स्थानिय निकायको सहयोगमा मात्र ७० दिनमा चार कोठे भवन समेतको नेपालकै उत्कृष्ट भलिबल प्रशिक्षण केन्द्रको स्थापना गर्यौं ।
२०६२ सालमा उदघाटन भएको त्यो प्रशिक्षण केन्द्र सुदूरपश्चिमकै नमुना केन्द्र बन्न सफल भएको ठान्दछु । त्यो भलिबल प्रशिक्षण केन्द्रबाट हामीले सयौं खेलाडी उत्पादन गर्यौं ।
०६३ साल यता महेन्द्रनगर तथा देशका विभिन्न स्थानमा स्कुल कलेजसँग सहकार्य गरेर विपन्न र माध्यम परिवारका खेलाडी बन्न चाहनेलाई अध्ययन र खाने बस्ने व्यवस्था मिलायौं । अहिलेसम्म उत्पादन भएका १ हजार ४७ जना महिला तथा पुरुष खेलाडीमध्य बाट कति सेना, नेपाल प्रहरी र सशत्र प्रहरीमा आबद्ध भए । कति सरकारी तथा गैर सरकारी निकायमा आबद्ध गराउनका लागि पहल गर्यौं । भलिबलका कारण व्यक्तिगत विषय धेरै प्राथमिकतामा परेनन् । कतिपय अवस्थामा परिवारलाई समय दिन सकिएन । भलिबलकै विकास र विस्तारका लागि देशका विभिन्न ठाँउमा शिक्षकहरुलाई खेल शिक्षकका रुपमा अध्यापन गराउने, कहिले रेफ्री तालिम गराउने, कहिले खेलाडीलाई आधारभूत ज्ञान सिकाउनेमा लागियो । हाम्रो अभिभावक संस्था नेपाल भलिबल संघले लिएका उद्देश्य पुरा गर्नका लागि आफ्नो तर्फबाट हरसम्भव इमान्दारीताका साथ प्रयास गरिरहेको छु, गरिरहनेछु ।
आठ वर्षयता संघको सदस्य र पदाधिकारीका रुपमा जिम्मेवारी निर्वाह गरियो । तर, मुख्य भूमिका भने प्रशिक्षण नै रह्यो । खेलाडी, प्रशिक्षक र संघको पदाधिकारीका रुपमा नेपालको भलिबल विकासमा थोरै योगदान गर्न सकेकोमा पनि मलाई गर्व छ । खेलाडीका रुपमा नवौं साग अन्तिम थियो । दशौं सागमा मलाई पुरुष टोलीको प्रशिक्षकको जिम्मेवारी दिइएको थियो । खेल्न छोडेको दुई वर्षमै आफ्नै समकालिन खेलाडी सम्मिलित टोलीलाई प्रशिक्षण दिन पाउनु त्यो मेरो लागि ठूलो मौका थियो । प्रशिक्षकका रुपमा २००६ बाट सुरु भएको यात्रामा यहाँसम्म आइपुग्दा पछाडि फर्केर हेर्नुपरेको छैन भन्दा फरक पर्दैन । संघको उचित व्यवस्थापन, खेलाडी र प्रशिक्षण टोलीको मेहनतमा हामीले २०१७ मा मल्दिभ्समा भएको तेस्रो सेन्ट्रल जोन सिनियर एसियन पुरुष भलिबलमा कास्य पदक जितेका थियौं । पुरुष भलिबलको ४२ वर्षे इतिहासमा पहिलो पटक पदक जित्दा त्यो टोलीको प्रमुख प्रशिक्षकमा रहँदा गर्वको विषय थियो ।
खेलाडीका रुपमा हामीले प्राप्त गर्न नसकेको सफलता प्रशिक्षकका रुपमा प्राप्त गर्यौं । त्यो नेपाली पुरुष टोलीको ठूलो उपलब्धि थियो । त्यसको अर्को वर्ष इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा पुरुष टोलीले भाग लिने अवसर पायो । त्यो ३२ वर्ष पछि पहिलो पटक एसियाडमा भलिबल टोलीको सहभागिता थियो । त्यहँ पनि हामीले १५ औं स्थान प्राप्त गर्न सक्यौं । त्यो अर्को उपलब्धि थियो । तीन वर्षअघि पुरुष भलिबल टोलीले एउटा सुखद सुरुवात गरेको थियो । महिला टोलीले त्यसलाई अझै उचाई दिने काम गर्यो । बंगलादेशमा गत कार्तिकमा भएको एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगितामा नेपालले स्वर्ण पदक जितेको थियोे ।
त्यस्को मुख्य प्रशिक्षकका रुपमा भूमिका निर्वाह गर्न पाउनु मेरो लागि अर्को अवसर थियो । मंसिरमा स्वदेशमै आयोजना भएको १३ औं सागमा टोलीले रजत पदक जित्यो । भारतसँग पाँचौ सेटमा पुगेर पराजित भएपनी हामीले यसअघि भन्दा सागमा सफल नतिजाका रुपमा पहिलो पटक रजत पदक जितेका थियौं । स्वर्ण जित्न सकेको भए हामीले अर्को इतिहास रच्ने थियौं । त्यसमा केहि खिन्न त लागेको छ तर, जुन सफलता प्राप्त गर्यो प्रशिक्षकका रुपमा भन्नुपर्दा त्यो पनि सानो सफलता थिएन । पुरुष टोलीको सफलताको केहि समयपछि नै सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नु हामी जस्ता भलिबल कर्मीका लागि सुखद पक्ष थियो । भलिबल परिवारका लागि यो गर्व गर्ने विषय हो । समग्र भलिबलको विकासको एउटा साक्षी र सहयात्री भएकोमा गुनासो गर्ने ठाँउ छैन । तर, व्यक्तिगत रुपमा राखेपमा भने अहिलेसम्म जहाँको त्यहि रहँदा भने अलिक खल्लो लाग्ने रहेछ ।
२४ वर्षे सेवा अवधिमा एक तह पनि बढुवा नहुुन विडम्बना नै मान्नु पर्दछ । यो बीचमा १४ जना राखेप सदस्य सचिव हुनु भएछ । खेलकुद मन्त्री त्यो भन्दा बढी हुनु भयो होला । यो बीचमा बढुवाको आश्वासन नपाएको पनि होइन । तर परिणाम आएन । राखेपमा सबैको बढुवा हुँदैन भन्ने एउटा उदाहरण मै हुँ । परिवारको जिम्मेवारी, आफ्ना सन्तानको उज्ज्वल भविष्यका लागि खासै केहि गर्न सकिएको छैन । आफ्नो उर्जावान समय भलिबलमा समर्पण गरियो । भन्नका लागि राखेपमा जागिर खाएपछि गर्नै पर्छ भन्ने पनि होला । तर, हामी केहि त्यस्ता प्रशिक्षक छौं जसले प्रशिक्षण पेशालाई जागिरमा मात्र सिमित गरेनौं । आफ्नो क्षमताले भ्याउने सबै खेलमै दियौं ।
व्यक्तीगत रुपमा जहाँको त्यहि रहँदा भने कतै खेलमा लागेर गल्ति त गरिएन भन्ने सोच पनि नआउने होइन । तर, आफ्नो लगावका अगाडि सबै फिक्का लाग्छन् । २०६१ सालमा स्थायी गर्ने समयमा क्षमता र योग्यताका आधारमा नियुक्ति दिएको भए आज विशिष्ट श्रेणी को भइन्थ्यो होला । त्यसको चार वर्ष पछि स्वतः फाइल बढुवा त भयो । तर हाम्रो पालामा खुला प्रतिस्पर्धाबाट छनोट हुने बेलामा सरकार परिवर्तन भयो । त्यसपछि हाम्रो पालो आएन । पछिल्लो १४ वर्षमा कुनै पनि प्रक्रियालाई अघि बढेन । हामी पछिका पछि पर्यौं । अहिले पनि म जस्तै कयौं पीडित साथीहरुमा भरोसामा नभएपनि आशा चाहिँ जीवितै छ ।
खैर, हामीले गरेको काम राज्यले दिएको जिम्मेवारी भन्दा कयौं गुना माथि छ । हामी राज्य र पेशाका लागि अझै पनि आफ्नो हैसियत, मन(मस्तिष्क र दिमागले भ्याएसम्म स्वार्थ भन्दा माथि उठेर खेलको विकासमा निरन्तर लागिरहने छौं । म जस्ता पीडितका लागि पनि यो एउटा सकारात्मक र प्रेरणादायी सन्देश हुनसक्छ । हामीले गर्ने काममा कहीं कतै कुनै पनि मोडमा सम्झौता नगरौं । बाँकी राज्यको काम हाम्रो भाग्यको खेल ।