बझाङकी बालिकाको बलात्कारपछि हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन
2020/09/26, 3:45
 
fasi sajaye maag

 बझाङकी एक बालिकाको बलात्कारपछि हत्या भएको भन्दै बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग सहित शनिबार काठमाडौंमा प्रदर्शन गरिएको छ ।

काठमाडौंको माइतिघरमा दुई विद्यार्थी पूजा गडेल, दीपा जैसीले अपराधीहरुलाई हदैसम्मको कारवाही गर्नुपर्ने भन्दै विरोध प्रदर्शन गरेका  हुन्  । मलाई माया गर बलात्कार होइन, बलात्कारीलाई फाँसी दे नारा लेखिएको ब्यानरसहित दुबै जना सडकमा धर्नामा बसेका थिए ।

यसैबीच सम्झना हत्याको दोषीलाई कडा कारवाही गर्नुपर्ने , कानूनी राज्यको प्रत्याभूति गर्नुपर्ने, श्रृखलाबद्ध घटनाको अन्त्य हुनुपर्ने लगाएतका माग राख्दै संयुक्त दलित युवा संघर्ष समितिले पनि शनिबार माइतिघरमा प्रदर्शन गरेको छ ।

पटक पटक दण्डहिनताका घटना बढ्दै गएपछि सरकार भने मौन देखिएको भन्दै विरोध गर्नुपरेको समितिले जनाएको छ । समितिको प्रदर्शनमा ऐकवद्धता जनाउन पुगेका नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले पछिल्लो समय हत्या, बलात्कार लगाएतका घटना बढ्दै गएको तर यसलाई रोक्न सरकारले कुनै कदम चाल्न नसकेको भन्दै विरोध गरिएको बताए ।

निर्मला पन्तको घटनादेखि सम्झना बिकसम्मको घटनामा राज्य शान्ति सुरक्षाको सवालमा चूकेको आरोप पनि उनले लगाए । गएको बुधबार बझाङमा हजुरबुवाको संरक्षणमा बस्दै आएकी १२ बर्षिया बालिका सम्झनाको विभत्स हत्या गरिएको अवस्थामा घर नजिकैको मन्दिरमा शव फेला परेको थियो । प्रहरीले सम्झनाको बलात्कारपछि हत्या भएको अनुमान गरेको छ ।