
बझाङमा बलात्कारपछि हत्या गरिएकी १२ वर्षकी बालिका सम्झना कामीको शव आफन्तले बुझ्ने भएका छन् ।

मंगलबार पीडित पक्ष र प्रशासनबीच क्षतिपूर्तिका लागि नेपाल सरकारसँग अनुरोध गर्ने र घटनाका बारेमा थप अनुसन्धान जारी राख्ने सहमति भएपछि परिवारले आज शव बुझ्ने निर्णय गरेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए।
सहमतिपछि पीडित पक्षले बालिकाको हत्या भएको एक हप्तापछि शव बुझ्न राजी भएका हुन् । बालिकाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–२ का १८ वर्षका राजेन्द्र बोहरालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । बालिकाको शव जिल्ला अस्पताल बझाङको शव गृहमा राखिएको छ ।
