बझाङमा बलात्कारको घटना गाउँमै मिलाउने ‘बाबाजी’ पक्राउ
 
rape

बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका राजेन्द्र बोहराले गरेको अर्को बलात्कारको घटना गाउँमै मिलाउनका लागि कागज बनाउने मुख्य व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ।

प्रहरीले मिलापत्र गराउन कागज तयार गर्ने मष्टा गाँउपालिका–२ खिकालाका बाबाजी भनिने बालम दमाईलाई बुधबार घरबाटै पक्राउ गरेको हो।

उनले गत २९ साउनमा १४ वर्षीया एक किशोरीमाथि बलात्कार भएको घटनालाई मिलापत्र गराउनका लागि कागज तयार पारेका थिए । घटना बाहिर आउन नदिन उनीसहित अन्य ६ जनाले पीडित र राजेन्द्र बोहरा पक्षबीच ३१ साउनमा मिलापत्र गराएका थिए।

यसअघि १९ असोजमा मिलापत्र गराउन पञ्च बसेको भन्दै प्रहरीले २४ वर्षीय झलक दमाई, ४५ वर्षीय लालबहादुर बोहरा, ५७ वर्षीय धनचढी बोहरा, ४५ वर्षीया थमकला दमाई, ५७ वर्षीय पिरु दमाई र ५५ वर्षीय गल्फे बोहरालाई पक्राउ गरेको थियो।

मिलापत्रमा दुई पक्षका तीन जनाले हस्ताक्षर गरेका थिए भने राजेन्द्रले बालिकाको खुट्टामा पाँच सय रुपैयाँ राखेर ढोगेको समेत खुलेको थियो। त्यस्तै, मिलापत्र गराएको एक महिनापछि बोहराले ७ असोजमा सोही ठाँउकी १२ वर्षीया सिता कामीको बलात्कारपछि हत्या गरेका थिए।

अहिले उनी प्रहरी हिरासतमा छन्। सिता कामीमाथि बलात्कारपछि हत्या गरेको घटनामा पक्राउ परेका बोहरामाथि अनुसन्धान गर्दा २९ साउनमा घटना बाहिरिएको हो। मिलापत्र गर्नेहरूमाथि पनि अहिले अनुसन्धान भइरहेको बझाङका डीएसपी रूपक खड्काले बताए।