कोरोना परिक्षणः दबाब बढाईएपछि नेता प्राथमिकतामा जनताका नमूना थन्काईयो
2020/05/24, 3:07
 
korona

धनगढी प्रयोगशालामा पहिले नै आएका कोरोना परिक्षणका नमुनाहरु थन्काएर नेताहरुको नमुना परिक्षणलाई प्राथमिकतामा राखिएको छ । सुदूरपश्चिमका मन्त्री, सांसद तथा कर्मचारीहरुको नमूना जाँचलाई पहिलो प्राथमिकता दिईएको हो ।

आउँदो जेठ १३ गते बस्ने सुदूरपश्चिम प्रदेश सभाको बैठकका लागि दुई दिन लगाएर मन्त्री, सांसद र कर्मचारीहरुको पीसीआर विधिबाट कोरोना भाईरस परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिएको थियो । उनीहरुले प्रयोगशालामाथि दबाब बढाएपछि सर्वसाधारण र भारतको कोरोना प्रभावित क्षेत्रबाट फर्किएका सर्वधारणको नमूना ल्याबमा थन्किएको हो । धनगढी प्रयोगशालामा पीसीआर विधिबाट परिक्षणका लागि संकलित पाँच सय १९ जनाको नमूना मध्ये दुई सय ६० भन्दा बढि नमूना प्रदेशका मन्त्री, सांसद, कर्मचारी, पत्रकार एवंम् सुरक्षाकर्मीको रहेका छन् । 

उनीहरु मध्ये आईतबारसम्म एक सय ८  जनाको परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको छ । एक सय ८ जनाको रिर्पोट नेगेटिभ आएपनि अन्यको परीक्षणकै क्रममा रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । प्रयोगशालामा मन्त्री र सांसदबाट आएको दबाबका कारण सर्वसाधारणको नमूना थन्किएको छ । प्रदेशमा कोरोना भाईरस रोकथाम, जोखिम न्यूनीकरण र नियन्त्रणमा भूमिका नखेलेको भन्दै प्रदेश सरकारको आलोचना भईरहेका बेला संघीय सरकारले पठाएका किटबाट मुख्यमन्त्री, मन्त्री र सांसदहरुको कोरोना परीक्षण गरिएको छ । 

प्रदेश सरकारले भने खरिद गर्ने अधिकार भएपनि अहिलेसम्म कोरोना परीक्षणका लागि आवश्यक पर्ने किट किन्न ध्यान दिएको छैन् । भारतबाट फर्किरहेका हजारौँ प्रदेशवासीलाई किट अभावको कारण देखाउँदै परिक्षण विना सम्बन्धित स्थानीय तह पठाईरहेको छ ।