सुदुरपश्चिममा तीन दिनमा १० जना संक्रमित र तीन जिल्ला थपिए
2020/05/24, 4:53
 
sima

सुदुरपश्चिम प्रदेशमा तीन दिनमा १० जना कोरोना संक्रमित पाईएका छन् । आईतबार, शनिबार र शुक्रबार गरी १० जना संक्रमित पुगेका हुन् । आईतबार थप एक जनामा संक्रमित पुष्टि भएको छ । उनी अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ४ का ३२ बर्षीय पुरुष हुन् । 

सुदूरपश्चिम प्रदेशमा थप एक जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो । धनगढी स्थित पशुपन्छी अन्वेषण प्रयोगशालाको आरटी पिसीआर मेसिनबाट परीक्षण गर्दा थप एकजनामा कोरोनाको संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । उनी जेठ ८ गते गौरीफन्टा नाकाबाट फर्किएका थिए। सीमामा आरडिटी परीक्षणका क्रममा पोजेटिभ देखाएपछि सेती अस्पतालको आईसोलेसनमा राखिएको थियो । उनको स्वास्थ्य अवस्था समान्य रहेको छ । यो सँगै प्रदेशभरी संक्रमितको संख्या १५ पुगेको छ ।

यसअघि धनगढी प्रयोगशालामै परीक्षणका क्रममा शुक्रबार ५ र शनिबार ४ जनामा कोरोना पुष्टि भएको थियो । शनिबार कोरोना पुष्टि भएका बैतडीको शिवनाथ गाउँपालिकाका वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषको पनि सेतीमै उपचार भईरहेको छ । शुक्रवार मात्रै कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ बर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका वडा नम्वर १० का २८ बर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो । उनीहरुको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भईरहेको छ ।

सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, कैलाली लम्कीका २१ बर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो । बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो । त्यसयता सुदूरपश्चिममा नयाँ संक्रमित भेटिएका थिएनन् । सुदूरपश्चिमका ५ जना संक्रमितले कोरोनालाई जितिसकेका छन् । 

यसैगरी तीन दिनमा थप तीन जिल्लामा कोरोना संक्रमित थपिएका छन् । आईतबार अछाम थपिएको हो । शनिबार बैतडी तथा शुक्रबार डडेल्धुरा र बैतडीका संक्रमित देखिएका थिए । सुरुमा कैलाली र कञ्चनपुरमा कोरोनाका संक्रमित भेटिएका थिए ।