धनगढीमा थुनामा युवकको मृत्यु प्रकरणः छानविन समितिले प्रतिवेदन बुझायो
2020/10/12, 2:48
 
death

जिल्ला प्रहरी कार्यालयको थुनामा धनगढीका युवकको मृत्यु प्रकरणको छानविनका लागि गठित समितिले प्रतिवेदन बुझाएको छ । भदौँ २६ गते जिल्ला प्रहरी कार्यालयको थुनामा धनगढीका १९ वर्षीय युवक रोशन विकको मृत्यु भएको घटनाको छानविनका लागि सशस्त्र प्रहरी गण धनगढीका प्रहरी उपरीक्षक राजिव बस्नेतको नेतृत्वमा छानविन समितिले प्रतिवेदन बुझाएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले छानविन समितिले प्रतिवेदन बुझाईसकेको बताए । छानविन समितिले बुझाएको प्रतिवेदन अध्ययन भईरहेकाले अहिले कुनै कुरा खुलाउन नमिल्ने प्रहरी वरिष्ठ उपरिक्षक सिहले जानकारी दिए । प्रतिवेदन अध्ययनका साथ साथै घटनाको अन्य कोणबाट समेत अनुसन्धान जारी राखिएकाले प्रहरी कर्मचारी दोषी देखिए कारवाहीको दायरामा ल्याउने प्रहरी वरिष्ठ उपरिक्षक सिहले बताए ।

भदौँ २२ गते चोरीको मुद्धामा पक्राउ परेका विकको भदौँ २६ गते जिल्ला प्रहरी कार्यालयकै थुनामा मृत्यु भएको थियो । प्रहरीले उनले शौचालयमा झुण्डिएर आत्माहत्या गरेको दावी गर्दै आएको छ भने पीडित पक्षले विकको हत्या भएको भन्दै निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।