खर काट्ने क्रममा दुई महिनामा छ जनाको ज्यान गयो
2020/10/14, 11:41
 
corona

दार्चुलामा घर काट्ने क्रममा पछिल्लो दुई महिनाको अवधिमा छ जनाले ज्यान गुमाएका छन् । अग्लो भीरमा खर काट्दा लडेर उनीहरुले ज्यान गुमाएका हुन । पहाडमा यति बेला खर काट्ने सिजन चलेको छ । खर काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएकी शैल्यशिखर नगरपालिका–४ काडापारीका ६४ वर्षीया झुम्तीदेवी धामीको सोमबार गोकुलेश्वर अस्पतालमा मृत्यु भएको छ ।

आइतबार बिहान यातायातको पहुँच भन्दा चार घण्टा टाढाको भीरबाट लडेर टाउको, शरीर र खुट्टामा चोट लागेका धामीलाई अस्पताल पु¥याउन गाउँमा स्टेचर नपाएपछि आफन्तले पिठ्युमा बोकेर दिउँसो रानिशिखर स्वास्थ्य चौकीमा पु¥याएका थिए । 

स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि गोकुलेश्वर अस्पताल लगिएका घाइते धामीको उपचारकै क्रममा मृत्यु भएको हो । समयमै अस्पताल पु¥याउन नसक्दा उनको शरीरबाट रगत बगिसकेको थियो । गाउँको रानिशिखर स्वास्थ्यचौकीमा बिरामी बोक्ने स्टेचर समेत नपाउदा अस्पताल पु¥याउन झनै ढिलाई भएको मृतकका श्रीमान तारासिह धामीले बताए । 

यतिबेला सुदूरपहाडका महिलाहरु खर काट्ने काममा व्यस्त छन् । चिसोयाममा गाईभैँसीलाई खुवाउन घाँस तथा स्याउला कम पाइने भएकोले भदौँ देखि कार्तिक महिनासम्म दिनभरी भीर पाखामा चढेर खर (गाज्यो) काट्दै थुप्रो बनाएर राख्ने गरिएको लेकम गाउँपालिका–५ का गीता जोशीले बताइन् ।

अधिकाशं ठाउँमा पुरुषहरु खेत जोत्ने र महिलाहरु खर काट्ने काम गर्छन् । कुनै कुनै परिवारमा भने महिला र पुरुष मिलेर खर काट्ने गर्छन् । छिटो र बढी काट्ने प्रतिस्पर्धा चल्ने भएकोले भीरबाट खस्ने जोखिम बढी हुन्छ ।

ज्यान जोखिममा राखेर भीर पाखाबाट खर काट्ने क्रममा बर्सेनि पहाडी जिल्लाका धेरै मानिसले अल्पायुमै ज्यान गुमाउने गरेका छन् । दार्चुलामा मात्रै पछिल्लो दुई महिनामा खर काट्ने क्रममा छ जनाले ज्यान गुमाएका छन् । जसमा चार जना महिला र दुई जना पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङक अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा ११ जनाले भीरबाट लडेर ज्यान गुमाएका थिए । 

भीरबाट लडेर मृत्यु भएका अधिकांशको जानकारी प्रहरीसम्म पुग्ने गरेको छैन् । भीरबाट लडेर मृत्यु भएका सबैको जानकारी प्रहरीसम्म नपुग्ने भएकोले मृतकको संख्या अझै बढी हुनसक्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी भाष्कर चन्दले बताए । भौगौलिक विकटता र यातायातको असुविधाका कारण भिरबाट लडेर घाइते भएका मानिसले समेत समयमै उपचार नपाएर ज्यान गुमाउने गरेका छन् । 

घाँस खेती नगर्दा गाईभैँसीको लागि आहार खोज्न मानिसहरु कठिन भीर चढ्ने गरेका छन् । कतिपय मानिसले खर बिक्री गर्नका लागिसमेत यो समयमा घाँस संकलन गरेर राख्ने गरेका छन् । भीरमा सुकेको खरभन्दा खेतमा उत्पादन गरेको घाँस बढी पोसिलो हुने भएकोले कृषकहरुलाई घाँस खेती लगाउन प्रोत्साहन गर्नुपर्ने कृषि प्राविधिक राजेशसिह बिष्टको भनाई छ । जिल्लाभर बर्सेनि खर काट्दा २० जनाभन्दा बढी महिलाको भीरबाट खसेर ज्यान जाने गरेको प्रहरीको अनुमान छ ।