सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. गुणराज अवस्थीलाई जिम्मेवारीबाट हटाइएको छ । सामाजिक विकास मन्त्रालयका सचिव रघुराम विष्टले सेती प्रादेशिक अस्पतालका रेडियोलोजिष्ट डा. निरज अर्याललाई स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निमित्त प्रमुखको जिम्मेवारी दिइएको जानकारी दिए ।
मंगलबार सामाजिक विकास मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट डा. अवस्थीलाई आपूर्ति व्यवस्थापन केन्द्रको जिम्मेवारी हटाउँदै डा. अर्याललाई नियुक्त गरिएको हो । डा. अवस्थी सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख हुन् । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ११ औँ तहको दरबन्दी भएपनि सामाजिक विकास मन्त्रालयले भने दोहोरो जिम्मेवारीको कारण देखाउँदै डा. अवस्थीलाई हटाएको हो । उनको ठाउँमा १० औँ तहका डा. अर्याललाई निमित्त प्रमुखमा नियुक्त गरिएको छ।
मिलेमतोमा महंगो मूल्यमा अल्ट्रासाउण्ड उपकरण खरिद गरेको भन्दै डा. अवस्थी विवादमा तानिएका थिए । उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन गरिरहेको जनाएको छ । महालेखा परिक्षकको प्रतिवेदनले ऐन कानुन विपरीत कर्मचारीहरुलाई न्यूनतम २० हजारदेखि एक करोड ७६ लाखसम्म पेश्की दिएर कार्यक्रम सञ्चालन गरेको पाइएको उल्लेख गरिएको थियो । ‘न्यूनतम २० हजारदेखि एक करोड ७६ लाखसम्म एकै व्यक्तिलाई पेस्की दिएर कार्यक्रम सञ्चालन गराएको अवस्था छ,’ वार्षिक प्रतिवेदनमा भनिएको छ, ‘कार्यालयले उपलब्ध गराएको विवरणअनुसार १७ व्यक्तिलाई ८ करोड ९१ लाख ५१ हजार पेस्की दिएकोमा पूरै रकम खर्च हुन नसकी ४९ लाख ८२ हजार रकम फिर्ता भएको छ ।
पेस्कीमाथि पेस्की दिई वर्षको अन्तमा फाँटवारी पेश गरी पेस्की फछ्र्यौट गरेको छ ।’ पेस्की लिएर लामो समयसम्म कार्यक्रम नगरी व्यक्तिको खातामा रकम रहने र पछि कार्यक्रम सञ्चालन गर्ने तथा आर्थिक वर्षको अन्त्यमा रकम फिर्ता गर्ने प्रवृतिले सरकारी रकमबाट कर्मचारीले लाभ लिने प्रवृत्तिमा नियन्त्रण गर्नुपर्ने महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ । डा. अवस्थी कोरोना भाइरसको महामारीका नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री खरिदमा समेत मिलोमतोमा टेण्डर पारेको भन्दै विवादमा तानिएका थिए । यद्यपी, डा. अवस्थीले ती आरोपहरुमा सत्यता नभएको दावी गर्दै आएका छन् ।