कोरोना भाइरस सङ्क्रमित भई जटिल अवस्थाका बिरामी बढ्दै जाँदा सेती प्रादेशिक अस्पताल धनगढीमा जनशक्तिको अभाव हुन थालेको छ । अस्पतालको कोभिड–१९ उपचार विभागका प्रमुख डा.शेरबहादुर कमरले बिरामीलाई अक्सिजन दिने, भेन्टिलेर मेसिन सञ्चालन गर्ने, बेहोस गर्ने लगायतको उपचार व्यवस्थापनमा खटिनु पर्ने एनेस्थेसिया चिकित्सकको अभाव भएको बताए ।
अस्पतालमा बेहोस गराउने एक जना मात्र चिकित्सक कार्यरत रहनु भएकोमा केही दिन यता थप एक जना एनेस्थेसिया चिकित्सक आउनुभएको छु, उनले भने, जटिल अवस्थाका बिरामी थप बढ्दै जाँदा उपचार व्यवस्थापनमा समस्या भइरहेको छ । अस्पतालमा दश आइसियु (सघन उपचार कक्ष) र दश भेन्टिलेटरको व्यवस्थापन गरिएको छ । जटिल अवस्थाका बिरामी बढ्दा आइसियु भेन्टिलेटरको पनि अभाव हुने अस्पतालले जनाएको छ ।
अस्पतालको कोरोना अस्थायी अस्पतालमा हाल आइसियुमा पाँच जना र भेन्टिलेटरमा तीन जना कोरोना सङ्क्रमितको उपचार व्यवस्थापन भइरहेको छ । आइसोलेसनमा ३६ जनाको उपचार व्यवस्थापन भइरहेको छ ।
डा.कमरले पछिल्ला दिनमा समुदायमा कोरोना सङ्क्रमण फैलिँदा पनि सर्वसाधारणबाट तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न भइरहेको कमी कमजोरीको कारण सङ्क्रमण दर बढ्दै गएको बताए । कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि कैलाली जिल्लाका कतिपय कार्यालयका काम समेत प्रभावित भइरहेको छ । रासस