सशस्त्र र प्रहरीद्धारा ३ लाखको अवैध सामान बरामद
2020/10/16, 7:56
 
saman

कञ्चनपुरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले तीन लाखको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरीको टोलीले छुट्टाछुट्टै स्थानबाट भन्सार छली गरी भित्र्याइएको तीन लाख सात हजार पाँच सय मूल्य बराबरका सामान बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नम्बर ३५ गणबाट सशस्त्र प्रहरी निरिक्षक इश्वरीदत्त भट्टको कमाण्डमा खटिएको मोबायल गस्ती टोलीले बेल्डाडी गाउँपालिका र सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट दोधाबाट सशस्त्र प्रहरी निरिक्षक सुरेश महर्जनको टोलीले दुई लाख १९ हजार ६ सय बराबरको सामान बरामद गरेको छ।

भन्सार छली भित्र्याउदै गरेका मिठाइ बनाउन प्रयोग हुने कच्चा पदार्थ(सेतो दाना), प्याज, डिएपी मल, युरिया र मोबायल पार्टस बरामद गरी आवश्यक कारवाहीका लागि कञ्चनपुर र कैलाली भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरीले जनाएको छ।

यस्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भीमदत्त नगरपालिका वडा नम्बर ४ बसपार्कबाट चैनी तम्बाखु लेखिएका वेवारिसे सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापाले ८७ हजार नौँ  सय मूल्य पर्ने ८ सय ७८ प्याकेज चैनी तम्बाखु बरामद गरिएको जानकारी दिए।

बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कञ्चनपुरलाई बुझाइएको छ।